• २२ फागुन २०८२, शुक्रबार

मकवानपुरमा मतगणना सुरु

blog

भुटनदेवी माविमा सुरु भएको मतगणना । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको मतगणना सुरु भएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको हो ।

बिहान सर्वदलीय बैठकपश्चात् निर्धारण गरिएको समयमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं. १ को मतगणना विद्यालयको ‘ए’ ब्लक भवनमा र क्षेत्र नं. २ को मतगणना ‘बी’ ब्लक भवनमा सुरु गरिएको छ ।

बिहीबार भएको मतदानमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको थियो । मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेकामा १ लाख ८६ हजार ५५१ अर्थात् ५९ प्रतिशत मत खसेको हो । जसमा ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र ५ जना तेस्रो लिङ्गीले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मकवानपुरमा ४४ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन क्षेत्र नं. १ मा दलका १३ र स्वतन्त्र १० सहित २३ जना तथा निर्वाचन क्षेत्र नं. २ मा दलका १६ र स्वतन्त्र पाँच जनासहित २१ जना उम्मेदवार हुनुहुन्छ ।