निर्वाचित प्रमुखहरुले पदभार सम्हाल्न थाले
मधेस प्रदेशका स्थानीय तहहरुमा निर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारबाट पदभार सम्हाल्न थाल्नुभएको छ । स्थानीय तहमा दोस्रो कार्यकालका लागि भर्खरै निर्वाचित प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षहरुले पदभार सम्हाल्न थाल्नुभएको छ ।
नरैनापुरमा जसपाका शाह बिजयी
बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि मोहम्मद इस्तियाक अहमद शाह बिजयी हुनुभएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा काँग्रेस विजयी
ढल्केवर, जेठ ७ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । शुक्रबार राति भएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रमुखमा जितनारायण यादव र उपप्रमुखमा तुलसाकुमारी पाण्डे निर्वाचित हुनुभएको छ । गणेशमान चारनाथ नगरपालिकाको नगर प्रमुखमा निर्वाचित यादवले तीन हजार १०८ मत पाउनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धि जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा नेपाली काँग्रे्रेसकी उम्मेदवार पाण्डेले तीन हजार २८३ मत सहित विजयी हुनभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार गणिताकुमारी महतोले दुई हजार ४२९ मत ल्याउनु भएको छ ।
प्राप्त मत बराबर वृक्षरोपण
रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । रुपन्देहीको सिद्धार्थनगर, देवदह नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, मायादेवी, ओमसतियालगायत पालिकाका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले शपथ लिनुभयो ।
धनुषा हँसपुरको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी
धनुषाको हँसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा प्रदिपकुमार यादव र उपप्रमुखमा दुर्गा देवी निर्वाचित हुनुभएको हो ।
मधेसमा धमाधम मत परिणाम
मधेस प्रदेशका जिल्लाहरूको निर्वाचन परिणाम आउने क्रम जारी छ ।धनुषाको नगराइन नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । जनकपुरधाम समाचारदाताका अनुसार नगराइन नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका विनयकुमार यादव ४२ मतान्तरले निर्वाचित हुनुभएको छ । उपप्रमुखमा नेकपा (एमाले)की राधादेवी यादव निर्वाचित हुनुभएको छ । प्रमुख यादवले पाँच हजार ५५६ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामबाबु पजियारले पाँच हजार ५१४ मत प्राप्त गर्नुभएको छ ।
काँग्रेस, एमालेबीच प्रतिस्पर्धा
लुम्बिनी प्रदेशमा सार्वजनिक नतिजाअनुसार स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
लम्कीचुहाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी
लम्कीचुहा नगरपालिको प्रमुखमा सुशीला शाही र उपप्रमुखमा जुना चौधरी विजयी हुनुभएको छ ।
तीन पालिका प्रमुखमा महिला निर्वाचित
गण्डकी प्रदेशमा रहेका ८५ पालिकामध्ये १५ वटामा प्रमुखमा महिलाको उम्मेदवारी परेकोमा तीनवटा पालिकामा मात्र महिला प्रमुख निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार मोदी गाउँपालिका पर्वतमा नेकपा एमालेकी उम्मेदवार हीरादेवी शर्मा छ हजार १९ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
सुर्खेतमा एमाले र काँग्रेस बराबर
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतका सबै पालिकाको मतगणना परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेतका नौवटै स्थानीय तहको परिणाम सार्वजनिक भएको हो । यस पटकको निर्वाचनमा सुर्खेतमा नेकपा एमालेले केही सुधार गरेर एमाले र काँग्रेस बराबर रहेका छन् ।
एघार स्थानीय तहमा दलित नेतृत्व
७५३ स्थानीय तहमध्ये ११ वटामा दलित समुदायले नेतृत्व गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा विभिन्न दलबाट चुनावी मैदानमा उत्रिएका मध्ये हालसम्म ११ स्थानीय तहमा दलित समुदाय निर्वाचित भएका हुन् ।
धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ११ हजार मतले अगाडि
कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्ना निकटतम् प्रतिद्वन्द्वी भन्दा ११ हजार मतान्तरले अगाडि रहनु भएको छ ।
हेटौँडामा गठबन्धनका उम्मेदवार लामा विजयी
स्थानीय तह सदस्य निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार मीना लामा विजयी बन्नुभएको छ ।
सुदूरपश्चिममा नेपाली काँग्रेस अगाडि
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये शुक्रबार साँझसम्म ७८ पालिकाको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार नेपाली काँग्रेसले ३५, नेकपा (एमाले) ले २३, नेकपा (माओवादी केन्द्र)ले १४, नागरिक उन्मुक्ति पार्टीले तीन, एकीकृत समाजवादी दुई र बैतडीको डिलासैनीमा एमालेबाट विद्रोह गरेका एक स्वतन्त्रले पालिका प्रमुख जितेका छन् ।अब कैलालीका चार, अछामको एक, बाजुराका दुई र कञ्चनपुरका चारवटा पालिका गरेर १० वटा पालिकाको नतिजा आउन बाँकी छ ।
तीन सय स्थानमा विजयी भई कांग्रेस सबैभन्दा अगाडि
यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट प्रमुख-अध्यक्ष निर्वाचित हुने स्थानीय तहको सङ्ख्या तीन सय पुगेको छ । शुक्रबार राति अबेरसम्म आएको मत परिणामअनुसार काँग्रेसका उम्मेदवारहरूले तीन सय स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदमा विजय हासिल गरेका छन् ।
बागमतीमा गठबन्धन अगाडि
स्थानीय तह सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका अधिकांश स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार पाँचदलीय गठबन्धन अगाडि रहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो स्थानमा छ । मत परिणाम सार्वजनिक भएका स्थानीय तहहरूमा धमाधम पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण सुरु भएको छ ।
११ उपमहानगरपालिका : कहाँ कसको अग्रता ?
देशैभरमा ११ उपमहानगरपालिकामध्ये प्रमुखमा गठबन्धनका तर्फबाट मधेस प्रदेशको जीतपुर सिमरा र लुम्बिनी प्रदेशको नेपालगञ्ज गरी दुई उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भइसकेको छ।
धनुषामा १२ पालिकाको मत सार्वजनिक, ६ पालिका बाँकी
लक्ष्मी चौधरीजनकपुरधाम, जेठ ६ गते । स्थानीय तह निर्वाचन अन्तर्गत धनुषाको १८ मध्ये १२ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । अहिलोसम्म जिल्लाको विदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, धनुषाधाम नगरपालिकाका, नगराईन नगरपालिका, मितिला नगरपालिका, लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र बटेश्वर गाउँपालिका परिणाम सार्वजनिक भएको हो ।धनुषाको १८ पालिकामध्ये पाँचवटा पालिकामा नेपाली काँग्रेस, तीनवटा पालिकामा जसपा दुईवटामा नेकपा एमालेका उम्मेदवार निर्वार्चित हुनुभएको छ । विदेह नगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि बेचन दास तत्मा निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार दासले ४ हजार ४१२ मत प्राप्त गरी पालिका प्रमुखमा निर्वाचित हुनुभयो । प्रमुख दास यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रमुख पदमा निर्वाचित हुनुभएको थियो । शहिदनगर नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।प्रमुखमा जसपाका दिनेशप्रसाद यादव निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ७४३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित हुनुभएको छ । उहाँले ४ हजार ९३१ मत प्राप्त गर्नुभएको छ । यस्तै कमला नगरपालिका प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित हुनुभयो । उपप्रमुखमा काँग्रेसकै शिलादेवी मण्डल पुनः निर्वाचित हुनुभयो । उहाँले ३ हजार ८८७ मत हाँसिल गर्नुभयो । ययअघि पनि कमलामा काँग्रेसकै जनप्रतिधि निर्वाचित हुनुभएको थियो । यस्तै, धनुषाधाम नगरपालिका प्रमुखमा भने निवर्तमान प्रमुख र उपप्रमुख निर्वाचित हुनुभएको छ । प्रमुखमा बालेश्वर मण्डल पुनः निर्वाचित हुनुभयो । उहाँले ४ हजार ७१८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा काँग्रेसकै विद्यादेवी भुजेल ४ हजार १२५ मत प्राप्त गरी निर्वाचित हुनुभयो । यस्तैै, काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहपालिकामा पालिका प्रमुखमा काँग्रसेका उम्मेदवार विनयकुमार यादव निर्वाचिन हुनुभएको छ । उपप्रमुखमा एमालेकी राधादेवी यादव निर्वाचित हुनुभएको छ । प्रमुखमा निर्वाचित यादवले ५ हजार ५५६ मत पाउनुभएको छ भने उपप्रमुखमा निर्वाचित राधादेवीले ५ हजार ७३० मत प्राप्त गर्नुभएको छ । यस्तै, मिथिला बिहारी नगरपालिका प्रमुखमा काँग्रेसका महेन्द्र महतो जिवर्नचित हुनुभएको छ । उहाँले ७ हजार ३१ मत पाउनु भएको छ भने उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ४१४ मत प्राप्त गर्नुभयो । यस्तै, लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा काँग्रेसकी फूलकुमारी यादवनी निर्वाचित हुनुभयो । प्रमुख मिश्रले ३ हजार ७६५ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुख यादवनीले ३ हजार ६२८ मत प्राप्त गर्नुभएको हो । त्यस्तै, औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्षमा उमाशंकरप्रसाद साह निर्वाचित हुनुभएको छ । उहाँ ३ हजार ३२६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा पुनम साह २ हजार ९४९ मत ल्याएर निर्वाचित हुनुभयो । जिल्लाको पालिकामध्ये १२ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको र ७ नगरपालिका र एक उपमहानरपालिकाको परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी रहेका पालिकाहरु जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, क्षिरेश्वारनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, हंसपुर नगरपालिका र मिथिला बिहारी नगरपालिका हुन् ।
६६१ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेसले जित्यो २९६ पालिका
स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ६६१ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले २९६ पालिका जितेको छ भने नेकपा (एमालेले) १८२ पालिका जितेको छ।
नवलपुरका प्रमुख तथा अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
मीना कंडेलकावासोती, जेठ ६ गते । पूर्वी नवलपरासी जिल्लाको आठ वटा स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा जिल्ला न्यायाधीश अर्जुन अधिकारीले नवनिर्वाचित पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९ अनुसूची २ अनुसार पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई शपथ गराउनुभएको हो । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको जिल्लाको चार वटा नगरपालिका र चार वटा गाउँपालिका प्रमुख तथा अध्यक्षहरुले शपथ लिनुभयो । सवै पालिकाका प्रमुख तथा अध्यक्षले शपथ लिएपछि शुक्रबार नै आफ्ना स्थानीय तहमा वडा अध्यक्ष तथा सदस्यहरुलाई शपथ खुवाउनुभयो । शुक्रवारदेखि नवनिर्वाचित स्थानीय तहका पदाधिकारीको कार्य सुरु भएको छ । जिल्लाको आठ वटा पालिकामध्ये दुई वटा पालिकामा नेपाली कांग्रेस र छ वटा पालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ । जिल्लामा पाँच दलीय गठबन्धन गरी निर्वाचनमा होमिएका भएपनि कावासोती र देवचुली नगरपालिकामा एमालेले जितेको छ । गठबन्धन गरी निर्वाचनमा होमिएको भएपनि मतदाता शिक्षामा कमी भएका कारण दुई नगरपालिकामा एमालेले विजयी हासिल गरेको छ । शपथ ग्रहण गरेपपछि नगरपालिकाको प्रतिनिधित्व गर्दै कावासोती नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विष्णु भुषालले जनताले दिएको मतको कदर गर्दै उहाँहरुको अपेक्षाअनुसार कार्य गर्नुपर्ने बताउनुभयो । नगरको समग्र विकासका लागि चुनिएका प्रतिनिधि मात्र नभई सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
एक जनालाई एमबीबीएस पढाउने गाउँपालिका अध्यक्षको घोषणा
सन्तोष राउतसोलुखुम्बु, जेठ ६ गते । दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले आफूले पालिका अध्यक्षको हैसियतले प्राप्त गर्ने सेवा सुविधालाई चिकित्सक उत्पादनका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ ।अघिल्लो कार्यकालमा लोकप्रिय काम गरेका कारण जनताले अर्को कार्यकालका लागि विजय गराएपछि अध्यक्ष राईले पालिकाभित्रका जेहेन्दार गरिब परिवारका विद्यार्थीमध्येबाट एमबीबीएस अध्ययनका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो । स्थानीयस्तरकै जनशक्तिबाट चिकित्सक उत्पादन गर्ने यस्तो निर्णयले पालिकामा अघिल्लो कार्यकालमा राईले निर्माण थालेर अन्तिमचरणमा पुगेको सुविधा सम्पन्न अस्पतालमा दक्ष चिकित्सकको व्यवस्थाका लागि सहज हुने स्थानीयको बुझाई छ ।त्यस्तै, उहाँले पालिकाबासीको सहजताका लागि वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसकालागि ठाउँ ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने अर्को महत्वकांक्षी निर्णय समेत गर्नुभएको छ । पछिल्लो समय अत्यधिक बढिरहेको पेट्रोलियम पदार्थको मूल्य र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो ।गाउँपालिकाको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेको र केही सडकलाई आवश्यकताअनुसार स्तरोन्नति गर्दै विद्युतीय बस सञ्चालनका लागि पालिका तयार रहेको उहाँले दाबी गर्नुभयो ।
काभ्रेको धुलिखेलमा पुनः एमालेबाट ब्याञ्जु निर्वाचित
केदार तिमल्सिना बनेपा, जेठ ६ गते । काभ्रेको धुलिखेल नगरपालिकाको नगर प्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार अशोककुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ धुलिखेल नगरपालिकाको नगर प्रमुख पदमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै नगर प्रमुखमा निर्वाचित बन्नुभयो । यसैगरी धुलिखेल नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार निराजन जङ्गम विजयी हुनुभएको छ । उहाँले एमालेकी लालतारा अधिकारीलाई १४७ मतले पराजित गर्नुभयो । । यसैगरी धुलिखेल नगरपालिकाको वडा अध्यक्षमा काग्रेसका सन्तबहादुर लामा, वडा नम्बर २ मा एमालेका अर्जुन घोरासाईने, वडा नम्बर ३ मा एमालेका गणेश आचार्य, वडा नम्बर ४ मा काँग्रेसका उत्तमप्रसाद तिमल्सिना, वडा नम्बर ५ मा एमालेका प्रमोदसुन्दर श्रेष्ठ, वडा नम्बर ६ मा काँग्रेसका सञ्जय कोँजु निवार्चित हुनुभयो । यसैगरी वडा नम्बर ७ मा राप्रपाका रोमीप्रसाद ब्याञ्जु, वडा नम्बर ८ मा बिनोद गौतम, वडा नम्बर ९ मा काँग्रेसका बद्रीप्रसाद हुमागाँई, वडा नम्बर १० मा काँग्रेसका गोविन्दप्रसाद उपाध्याय, वडा नम्बर ११ मा एमालेका नारायणप्रसाद बडाल र वडा नम्बर १२ मा एमालेका मोहनप्रसाद लामिछाने विजयी हुनुभयो ।
गुल्मीका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ
गुल्मीमा नवनिर्वाचित जनप्रतिधिहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार रेसुंगा नगरपालिकाको सभाहलमा नव निर्वाचित पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
सप्तरीमा चार पालिकाको परिणाम आउन अझै बाँकी
स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरीको चार पालिकाको परिणाम आउन बाँकी रहेको छ । जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ पालिकामध्ये १४ पालिकाको परिणाम सार्वजनिक भइसकेको छ ।