• १५ असार २०८१, शनिबार

नवलपुरका प्रमुख तथा अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

blog

मीना कंडेल

कावासोती, जेठ ६ गते ।  पूर्वी नवलपरासी जिल्लाको आठ वटा स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा जिल्ला न्यायाधीश अर्जुन अधिकारीले नवनिर्वाचित पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९ अनुसूची २ अनुसार पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई शपथ गराउनुभएको हो । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको जिल्लाको चार वटा नगरपालिका र चार वटा गाउँपालिका प्रमुख तथा अध्यक्षहरुले शपथ लिनुभयो । 

सवै पालिकाका प्रमुख तथा अध्यक्षले शपथ लिएपछि शुक्रबार  नै  आफ्ना स्थानीय तहमा वडा अध्यक्ष तथा सदस्यहरुलाई शपथ खुवाउनुभयो । शुक्रवारदेखि नवनिर्वाचित स्थानीय तहका पदाधिकारीको कार्य सुरु भएको छ ।

 जिल्लाको आठ वटा पालिकामध्ये दुई वटा पालिकामा नेपाली कांग्रेस र छ वटा पालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ । जिल्लामा पाँच दलीय गठबन्धन गरी निर्वाचनमा होमिएका भएपनि कावासोती र देवचुली नगरपालिकामा एमालेले जितेको छ । गठबन्धन गरी निर्वाचनमा होमिएको भएपनि मतदाता शिक्षामा कमी भएका कारण दुई नगरपालिकामा  एमालेले विजयी हासिल गरेको छ । 

शपथ ग्रहण गरेपपछि नगरपालिकाको प्रतिनिधित्व गर्दै कावासोती नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख विष्णु भुषालले जनताले दिएको मतको कदर गर्दै उहाँहरुको अपेक्षाअनुसार कार्य गर्नुपर्ने बताउनुभयो । नगरको समग्र विकासका लागि चुनिएका प्रतिनिधि मात्र नभई सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।