• १२ पुस २०८१, शुक्रबार

काँग्रेस, एमालेबीच प्रतिस्पर्धा

blog

लुम्बिनी, जेठ ७  गते । लुम्बिनी प्रदेशमा सार्वजनिक नतिजाअनुसार स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

काँग्रेस र एमालेलाई तीन–तीन स्थान

परासी समाचारदाताका अनुसार पश्चिम नवलपरासीका सातवटा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले तीन स्थान र नेकपा (एमाले) तीन स्थान जितेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)ले एक स्थानमा जितेको छ । जिल्लाको मतगणनाको परिणामले नवलपरासीको सुनवल, रामग्राम नगरपालिका र सरावल गाउँपालिकामा क्रमशः नेकपा (एमाले)का विमला अर्याल, धनपद यादव एवं सुखाडीप्रसाद चौधरीले प्रमुख पदमा विजय हासिल गर्नुभएको छ । 

नेपाली काँग्रेसले बर्दघाट नगरपालिका, सुस्ता एवं प्रतापुर गाउँपालिका जितेको छ । बर्दघाटमा शम्भुलाल श्रेष्ठ, सुस्तामा टेकनारायण उपाध्याय एवं प्रतापुरमा उमेशचन्द्र यादव निर्वाचित हुनुभएको छ । यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षका रूपमा बैजुकुमार गुप्ता (दीपक) निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ । उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेको सुनवल नगरपालिकामा अहिले नेकपा (एमाले)की नेत्री विमला अर्याल निर्वाचित हुनुभएको छ । उपप्रमुखको पदमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सूर्य दुबे निर्वाचित हुनुभएको छ । यसैगरी नेकपा एमाले पार्टी अत्यन्तै कमजोर मानिएको रामग्राम नगरपालिकामा नेकपा (एमाले)का उमेदवार धनपद यादव प्रमुख पदमा निर्वाचित हुनुभएको छ । यसैगरी फोरम आन्दोलनको केन्द्रका रूपमा रहेको र मधेसवादी पार्टीहरूको प्रभाव रहेको भनिएको सरावल गाउँपालिकाबाट पनि नेकपा (एमाले)का सुखाडीप्रसाद चौधरी र उपप्रमुखमा नेकपा (एमाले)कै बासमती चमार निर्वाचित हुनुभएको छ । 

यसैगरी नेपाली काँग्रेसबाट बर्दघाट नगरपालिकाको प्रमुखमा शम्भुलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । सुस्ता गाउँपालिकाको अध्यक्ष एवं उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसका टेकनारायण उपाध्याय र गीता चौधरी निर्वाचित हुनुभएको छ । यसैगरी प्रतापपुर गाउँपालिकामा उखु उत्पादक किसानको नेताका रूपमा परिचय बनाएका नेपाली काँग्रेसका उमेशचन्द्र यादव र उपाध्यक्षमा नेपाली काँग्रेसकै मनकुमारी चौधरी निर्वाचित हुनुभएको छ । आम रूपमा अनुमान गरिएभन्दा फरक तरिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकामा उपप्रमुखको पद हात पारेको छ । राप्रपाकी नेत्री सम्झना चौधरी उपप्रमुखमा निर्वाचित हुनुभएको छ । 

अर्घाखाँची समाचारदाताका अनुसार तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँचीमा नेकपा (एमाले)ले तीन पालिका जितेको छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले दुई र राष्ट्रिय जनमोर्चाले एक पालिका प्रमुख जितेको छ । नेकपा (एमाले)ले सन्धिखर्क, मालारानी र पाणिनीमा प्रमुख पदमा विजय हासिल गरेको छ ।

नेपाली काँग्रेसले शीतगङ्गा र छत्रदेव तथा जनमोर्चाले भूमिकास्थानमा प्रमुखमा विजय हासिल गरेको छ । यसैगरी नेकपा (एमाले)ले सन्धिखर्क, शीतगङ्गामा उपप्रमुख र मालारानी, छत्रदेव गाउँपालिकामा उपाध्यक्ष र पाणिनीमा उपाध्यक्षमा विजय प्राप्त गरेको छ । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)ले भूमिकास्थानमा उपप्रमुखमा विजय हासिल गरेको हो । अर्घाखाँचीका ६१ वटा वडामध्ये नेकपा (एमाले)ले ३०, नेपाली काँग्रेसले २४, नेकपा (माओवादी केन्द्र)ले चार, राष्ट्रिय जनमोर्चाले तीन वडामा विजय प्राप्त गरेका छन् ।

अघिल्लो पटक विजय प्राप्त गरेका पालिकालाई नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले यस पटक जोगाउन सकेनन् । पाणिनी गाउँपालिका नेपाली काँग्रेसले गत निर्वाचनमा जित हासिल गरेको थियो । सो पालिकामा यो पटक नेकपा (एमाले)ले जित निकालेको छ । सन्धिखर्क नगरपालिका नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेको थियो । सो पालिकामा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले प्रमुख र नेकपा (माओवादी केन्द्र)ले उपप्रमुखमा विजय प्राप्त गरेको थियो । अहिले नेकपा (एमाले) दुवै पदमा विजयी भएको छ । 

बाँके समाचारदाताका अनुसार जानकी गाउँपालिकामा २०७४ सालको निर्वाचनमा झिनो मतान्तरले पराजत नेपाली काँग्रेसका छब्बन खाँ यस पटक फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार खाँ छ हजार ६५३ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । खाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हिमांशु यादवले चार हजार ७९७ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टीका राजिवकुमार कुर्मीले दुई हजार ९३८ मत प्राप्त गर्नुभएको छ । 

खाँ २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का राम निवास यादवसँग ७४ मतले पराजित हुनुभएको थियो । यादव तीन हजार ८३ मतले विजयी हुँदा खाँले तीन हजार नौ मत पाउनुभएको थियो । अध्यक्ष यादवको निधनपछि नेकपा (एमाले)ले उहाँका ३१ वर्षीय छोरा हिमांशुलाई उम्मेदवार बनाएको थियो ।

Author

लुम्बिनी ब्युरो