काठमाडौँ, जेठ ७ गते । ७५३ स्थानीय तहमध्ये ११ वटामा दलित समुदायले नेतृत्व गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनमा विभिन्न दलबाट चुनावी मैदानमा उत्रिएका मध्ये हालसम्म ११ स्थानीय तहमा दलित समुदाय निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार दलित समुदायबाट हालसम्म तीन जना नगरप्रमुखमा विजयी भएका छन् । नेकपा (एमाले) बाट बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा देवकुमार नेपाली विजयी हुनुभएको छ । धनुषाको विदेह नगरपालिका प्रमुखमा एमालेका बेचेन दास तत्मा र रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट पुष्प बादी निर्वाचित हुनुभएको छ ।
दलित समुदायबाट हालसम्म २५ जना उपप्रमुख तथा उपाध्यक्ष निर्वाचित भएका छन् । आठवटा गाउँपालिका अध्यक्षमा विभिन्न पार्टीबाट दलित समुदाय निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट धनबहादुर विक बागलुङ ताराखोला गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको छ ।
डडेल्धुराको अनिताल गाउँपालिकामा माओवादीका शेरसिङ पार्की, प्युठानको सरुमारानी गाउँपालिकामा एमालेका झगबहादुर विश्वकर्मा, उदयपुरको ताप्ली गाउँपालिमा माओवादीका ढुङ्गराज विश्वकर्मा, जुम्लाको तिला गाउँपालिकामा एमालेका भद्रवीर सार्की निर्वाचत हुनुभएको छ । त्यस्तै बाँके खजुरा गाउँपालिकामा माओवादीका डम्बर विक, सुर्खेत चौकुने गाउँपालिकामा खड्क विक निर्वाचित हुनुभएको छ ।त्यसैगरी दलित समुदायबाट ८२ जना वडा अध्यक्ष निर्वाचित हुनुभएको छ । हालसम्म पाँच हजार १६३ दलित महिला वडा सदस्य निर्वाचित हुनुभएको छ ।
अधिवक्ता एवं दलित अधिकारकर्मी भक्त विश्वकर्मा भन्नुहुन्छ, “दलित प्रतिनिधित्व उत्साहजनक छैन, उम्मेदवारी नै कम दिए, २०७४ मा छ जना नगरप्रमुख थिए अहिले घट्ने देखियो, उपाध्यक्ष र उपप्रमुखमा भने केही बढ्छ कि जस्तो छ, वडा सदस्यहरूको सङ्ख्या भने यसपालि बढ्ने देखिएको छ ।