• १३ साउन २०८१, आइतबार

हेटौँडामा गठबन्धनका उम्मेदवार लामा विजयी

blog

हेटौँडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित मीना लामा र राजेश बानियाँ । तस्विरः गोरखापत्र

हेटौँडा, जेठ ७ गते । स्थानीय तह सदस्य निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार मीना लामा विजयी बन्नुभएको छ । शुक्रबार राति सार्वजनिक मत परिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लामाले दुई हजार १६७ मत अन्तरसहित नगर प्रमुखमा निर्वाचित हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामाले २३ हजार ७५ मत प्राप्त गर्दै उहाँका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभएको थियो । बागमती प्रदेशको एक मात्र उपहानगरपालिकाको पहिलो महिला नगर प्रमुख लामाले आफ्नै नेतालाई पराजित गर्दै आगामी पाँच वर्षका लागि प्रमुखमा निर्वाचित हुनुभएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपप्रमुखमा निर्वाचित लामाले एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेसँगै एकीकृत समाजवादी पार्टी रोज्नुभएको थियो । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धि एमालेका सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । बानियाँ २०७४ को स्थानीय तह निर्वाचनमा हेटौँडा वडा नं. ५ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

हेटौँडा उपमहानगरपालिकामा एक लाख चार हजार ४७३ मतदाता रहेकोमा ७३ हजार ४१४ मत खसेको थियो ।


सत्ता गठबन्धनबाट हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा विजयी विजयी मीना कुमारी लामा र उप्रमुखमा विजयी राजेश बानियाँ । तस्विरः राममणि दाहाल


Author

राममणि दाहाल