काठमाडौं, भदौ १६ गते । विगत ३२ वर्षदेखि निरन्तर नेपाली चलचित्रमा लागेर डेढ दर्जन जति चलचित्र निर्देशन गर्नुभएका ज्ञानेन्द्र देउजाको चलचित्र हो ‘झिँगेदाउ’ । 'झिँगेदाउ' साहित्यकार भीमनिधि तिवारीले ३० को दशकको नेपाली समाजलाई चित्रण गरी लेख्नुभएको कृति हो । नेपाली साहित्य जगतका महान् साहित्यकार स्व. भीमनिधि तिवारीले यही 'झिँगेदाउ' खेललाई आधार बनाएर नेपाली समाजको चित्रण हुने गरी 'झिँगेदाउ' शीर्षकमा रोचक रूपमा प्रस्तुत गर्नुभएको छ । फिल्ममा देखाइएको ‘झिँगेदाउ’ एक जुवा प्रकृतिको खेल हो । यस खेलमा खेलाडीहरूले आफ्नो हार र जित निश्चित गर्नका लागि झिङ्गालाई पर्खेर बस्नुपर्ने हुन्छ । भिँगा कहाँ र कसरी उड्छ त्यही अनुसार खेलमा जित र हारको निर्णय हुन्छ । तर समयसँगै यो खेल समाजमा बिस्तारै लोप हुँदै गयो । आम नेपालीलाई यो खेलको बारेमा जानकारी नै छैन । फिल्ममा यसरी जेठानी र देवरानीबिच खेलैखेलबीच जन्मिएको झगडालाई देखाउन खोजिएको छ । चाहे त्यो जुवा तास होस् वा झिँगेदाउ नै । यस्तै, फिल्ममा घरपरिवार र समाजमा हुने गरेको घटनालाई प्रस्तुत गरिएको छ । एकल आमाले आफ्नो बच्चाहरूको बालापन र भविष्यका लागि गरेको त्याग र बलिदानलाई निर्देशक देउजाले फिल्ममा प्रस्तुत गर्नुभएको छ । एकल आमाले दुई छोरालाई हुर्काउन गरेको दुःख र घरमा बुहारी भित्रिएपछि हुने झगडालाई फिल्ममा देख्न सकिन्छ । निर्देशक देउजाले स्व. तिवारीको यस कृतिलाई एकदमै राम्रो र सरल ढङ्गमा प्रस्तुत गर्दै हरेक घरमा देखिने समस्यालाई देखाउन खोज्नुभएको छ । यसबाहेक फिल्ममा आमा छोराको माया, दाजुभाइबीचको माया र श्रीमान् श्रीमतीको मायालाई देखाइएको छ । परिवार अर्थात् दाजुभाइमा जतिसुकै गहिरो प्रेम भए पनि विवाहपछिको अर्को रूप झगडा नै हुने नेपाली समाजलाई फिल्ममा दर्साउन खोजिएको छ । जीवनमा नयाँ व्यक्तिको आगमनसँगै पुराना सम्बन्धमा आएको परिवर्तनलाई फिल्ममा प्रस्तुत गरिएको छ । नेपाली समाजमा घटेका हरेक परिवार र आमाले भोगेका कथालाई निर्देशक देउजाले दृश्यमा रूपान्तरण गर्नुभएको हो । नेपाली समाजमा दाजुभाइ र जेठानी देवरानीको झगडापछि अंशबण्डाबीच हराएकी आमाको अन्तिम घर नै वृद्धा आश्रम रहेको देखाइएको छ । छोरा सानो हुन्जेल मात्र आमाबुबाको, ठूलो भएपछि बूढीको भन्ने नेपाली परिवारमा हुने कथाको रूपमा झिँगेदाउ प्रस्तुत गरिएको छ । त्यसैले, नेपालमा बर्सेनि तीन हजार आमाहरू वृद्धा आश्रम पस्न बाध्य छन् । शुक्रबारबाट देशभर प्रदर्शनमा हुने यस फिल्ममा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टसँगै हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय रहेको छ । यस्तै, फिल्ममा प्रदीप भारद्वाजको कथा र पटकथा, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायाङ्कन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गर्नुभएको हो ।
तीज पर्व भाद्र शुक्ल, द्वितीयादेखि सुरु भई पञ्चमीसम्म मनाइने हिन्दु महिलाको विशेष पर्व मानिन्छ । नेपाली हिन्दू महिलाको महान पर्व तीजको रौनक धेरै दिन पहिलेदेखि नै हुन्छ । हिन्दु धर्मावलम्बीहरुको महान तथा विशेष चाडको रुपमा परिचित यस पर्वमा महिलाले आफ्नो श्रीमान्को लामो आयु र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ ।
नेपाली महिलामा धेरै दिनअघिदेखि नै तीजको रौनक छुट्टै छाएको छ । हिन्दु धर्मालम्बी नारीहरुको महान् तथा विशेष चाडको रुपमा लिइने यस पर्वमा महिलाले आफ्नो श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन पुरानो हो ।
कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गछ्र्रन् ।
हिन्दु नेपाली नारीको महान् पर्व हरितालिका तीजको शुभकामनासहित लोकप्रिय गायक गायिकाले हरेक वर्ष विभिन्न तीज गीत कोसेली ल्याउने गरेका छन्। तीजमा लोक भाका र गीतले थप रमाइलो र उत्साह थप्ने गरेको पाइन्छ। हरेक वर्ष सयौं तीजका नयाँ भाका बजारमा आउने गर्छन्।
काठमाडौंको असनको एक घरमा केही युवा वर्ग तल्लीन थिए, कोही ड्रम त कोही भुस्या बजाउँदै अभ्यास गर्दै थिए। नेवार समुदायमा नायः खिं बाजाको पनि छुट्टै महत्त्व हुन्छ र त्यही बाजाका गुरु विष्णुबहादुर खड्गीको घरबाट नै उक्त लाखे निकाल्न लागेको थियो।
आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । यसै अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
विसं २०३४ मा रेडियो नेपालमा गीत गाउन प्रवेश गर्नुभएका नन्दकृष्ण जोशी अहिले ‘देउडाका राजा’ नामले चिनिनु हुन्छ ।
काठमाडौं महानगरपालिका –३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको करिब एक वर्ष भएको छ । २०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ लाख रुपियाँ अनुदान सहयोगमा प्रवलीकरण भइरहेको हो ।
जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा यो पर्व नेवाः समुदायले विशेष रुपमा मनाउने गर्छन् ।
काठमाडौं, साउन २८ गते । गाईजात्रा अर्थात् नेवार समुदायमा 'सापारु' । सापारु काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइन्छ । सापारु नेपाल संवत् अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।यस्तै, नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन भजन कीर्तन पनि गरिन्छ ।संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ वर्षभरिमा कति मानिस मरे भन्ने थाहा हुने कारण यसलाई मृत्य गणनाको उत्सव पनि भन्न मिल्ने बताउनु हुन्छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विव्हल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउनु आज्ञा दिएको उल्लेख छ । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेशसँगै यस प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि सापारु पर्व मनाइन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा अर्को पनि जन विश्वास रहेको पाइन्छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने भन्ने मानिन्छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाइने चलन छ । सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने गरिन्छ ।संस्कृतिविद् श्रेष्ठका अनुसार, अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिएको पाइन्छ । सा अर्थात् गाई पारु भन्नाले प्रतिपदा । प्रतिपदाको दिन मनाउने कारण सापारु भनिएको हो । मानिसलाई सभ्याताको संसारमा पाइला टेकाउन गाईको ठूलो योगदान रहेको छ ।उहाँ भन्नुहुन्छ, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ । मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो ।आजको दिनलाई वर्षभरिमा मरेका आफ्नाहरुको मुक्तिका लागि मनाइने जात्रा पनि भनिन्छ । मरेकाहरुको लागि यस दिन गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास पनि छ । संस्कृतिविद् श्रेष्ठले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ’सा’को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा भएको उल्लेख गर्नुभयो । त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उहाँको भनाइ छ ।भक्तपुरमा पनि सापारुका छुट्टै रौनक र आकर्षण छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ ।उहाँ भन्नुहुन्छ, “एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता छ, भक्तपुरमा केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउने चलन छ ।’’ भक्तपुरमा सापारुको दिन र त्यसपछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङ्गात्मक नाटक साँस्कृतिक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुने संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । तस्बिरहरु : उपेश महर्जन
काठमाडौं, साउन २७ गते । जनैपूर्णिमाको दिन नेवार समुदायमा ’गुन्पुन्ही’ मनाइन्छ । यस दिन तराई क्षेत्रमा राखी बान्ने चलन छ । गुन्पुन्ही नेवार समुदायमा मनाउने ठूलो पर्वमध्ये एक हो । साउन शुक्लपक्षका दिन यो पर्व मनाइने गरिन्छ । यस दिन टुसा पलाएका सिमी, केराउ, बोडी, मुगी लगायत ९ प्रकारका गेडागुडी भिजाएर त्यसलाई क्वाँटी बनाएर खाने गरिन्छ । यस्ता गेडागुडीको मिश्रण केहीदिन अघि टुसा उम्रिने गरी भिजाउने चलन छ । क्वाँटी शब्द नेपाल भाषाको ’क्वाति’ शब्दबाट बनेको हो । जसअनुसार ’क्वा’ को अर्थ तातो र ’ति ’को अर्थ झोल वा सुप भएकाले ’क्वाति’ वा ’क्वाँटी’ को अर्थ तातो सुप भन्ने बुझिन्छ । काठमाडौं उपत्यकाका नेवार समुदायले भने ’ब्याञ्चायात जा नकेगु’अर्थात् भ्यागुतालाई भात खुवाएर पनि मनाउने गर्छन् । सिमीको पातमा भातसँगै नौ थरी गेडागुडीको क्वाँटी पनि हुन्छन् । पातमा भात र क्वाँटी पस्किदिएर भ्यागुताका लागि खेतमा लगेर छोड्ने चलन छ । परिवारका कम्तिमा एकजना सदस्य खेतमा पुगेर किसानले भ्यागुतालाई खाना र क्वाँटी दिने गर्छन् । धेरै ठाउँमा खेत हुनेहरू आफूहरू बाँडिएर एक–एक ठाउँमा जाने गर्दछन्। संस्कृतिविद् हरिराम जोशीका अनुसार यो दिनको जात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व हो । रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ । खेतमा काम गर्दा जति पनि किराफट्याङ्ग्राहरू उनीहरूले मार्छन् त्यसको लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन चलेको संस्कृतिविद् जोशी बताउनुहुन्छ । यस्तै, संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार समुदायमा यस दिनको महत्व धेरै रहेको छ । नेवार समुदायमा यस दिन नौं थरिको गेडागुडी खाएर, नौ जोर कपडा लगाएर तीर्थ स्नान गरेमा यमलोकमा सुख, शान्ति, समृद्धि प्राप्त हुने, निरोगी हुने, आनन्दले जीवन कट्छ र मोक्ष प्राप्त हुनेसमेत मान्यता रहेको छ । नेपाली संस्कृतिमा नौं सङ्ख्याको विशेष महत्व छ । संस्कृतिविद् श्रेष्ठका अनुसार खेतमा किराफटयाङ्ग्रा खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ । रोपाइँको समयमा खेतमा जीव खाएर भ्याग्ताले बाली जोगाउने गरेको कारण पनि भ्यागुतालाई असल साथीको रुपमा लिने गरेको उहाँको भनाइ छ । “भ्यागुता हाम्रो समाजमा वैद्धिक कालमा भएको गुरुचेला परम्परा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ”, उहाँ भन्नुहुन्छ, “यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान गुरु भ्यागुतो हो ।” भ्यागुताबाटै नै पूर्वजहरुले शैक्षिक विद्याको सुरुवात गरेको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ । यसको प्रमाण रिकवेदमा ‘मन्धुक रिचा’मा उल्लेख गरिएको छ । त्यसैले भ्यागुताबाट नै पठनपाठन परम्परमा सुरु भएको मान्न सकिने श्रेष्ठको भनाइ छ । यसरी नेवार जातिले वैद्धिक काल अगाडिदेखि नै विभिन्न जात्रा र पर्व मनाउँदै आएको पाइन्छ । जनै पूर्णिमा नेवार क्यालेन्डर अनुसार नवौं महिनामा पर्छ । त्यस कारण यसलाई गुन्पुन्ही भनिन्छ । यसबाहेक क्वाँटी स्वास्थ्यको लागि पनि राम्रो भएको कारण चिसो बढेसँगै क्वाँटी खाने चलन सुरु भएको मानिन्छ । यीनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ । अहिले क्वाँटी खाने चलन नेवार समुदायमा मात्रै सीमित छैन । यो गैर नेवार समुदायमा पनि उत्तिकै प्रख्यात भएको छ । यसलाई पौष्टिक आहारका रुपमा समेत लिइन्छ । यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ । जुन शरीरका लागि आवश्यक तत्व हुन् ।
आफ्नो वास्तविक नामले कमै चिनिने हास्य कलाकार हुनुहुन्छ पल्पसा डङ्गोल अर्थात् चम्सुरी ।
हास्य कलाकारको रुपमा दुई दशक रङ्गमञ्च क्षेत्रमा बिताउनुभएका जोगिन्दर अर्थात् शिवशंकर रिजाल सानैदेखि मैथिली, अवधी, बज्जिका, भोजपुरी भाषासँगै लगाव भएका हाँस्य कलाकार हुन् ।
‘गाईजात्रा’लाई हास्य र व्यङ्ग्यको पर्वको रुपमा पनि लिने गरिन्छ । यस दिनलाई लक्षित गर्दै हाँस्य कलाकारले विभिन्न हास्य व्यङ्ग्य सामाग्री बजारमा ल्याउने गर्नुहुन्छ ।