• ११ वैशाख २०८१, मङ्गलबार

‘पौभा’ चित्र : भिडियो कुराकानी

नेवार जातिको मौलिक चित्रकला ‘पौभा’

blog

काठमाडौं, साउन ५ गते। ‘पौभा’ नेपालका नेवार जातिको मौलिक परम्परागत चित्रकला हो। जुन तामाङ, शेर्पा तथा गुरुङ जाति तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ। ‘पौभा’ चित्रकलामा कपडामा देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्र बनाउने गरिन्छ। धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाको अध्ययन गरेर तिनलाई प्रतिकको रूपमा विभिन्न मुद्रा, आशन तथा प्रतिमा लक्षण मिलाई पौभाःमा उतारिन्छ।  सानैदेखि विभिन्न नेवारी संस्कृति र परम्परा अंगाल्दै हुर्किनुभएका कलाकार राजप्रकाश तुलाधरका अनुसार पौभा चित्र धर्म संस्कृतिसँग जोडिएको कला हो। “पौभा चित्र बनाउन गहन अध्ययन र विचार र धार्मिक नियम हुन्छ। सबै बुझेर जानेर धैर्यतापूर्वक कोर्नु पर्ने हुँदा यो कला बनाउन धेरै समय लाग्छ,” कलाकार तुलाधरले भन्नुभयो। 

कलाकार तुलाधरका अनुसार धेरै वर्ष पहिले धार्मिक प्रयोजनका लागि कोरिएका चित्र प्राकृतिक रंगबाट बनेका हुन्छन्। तर, अहिले विभिन्न रंगको प्रयोग गर्न पाइन्छ जस कारण पौभा कोर्न सजिलो भएको उहाँको अनुभव छ। “व्यापारिक रुपमा लगानीको अर्थ हुँदैन, कलाकारका कलाको भाउ हुँदैन”, उहाँ भन्नुहुन्छ, “कलालाई बुझ्ने र मनपराउने व्यक्तिले कलाको महत्त्व बुझेको हुन्छ।” 

'पौभा’ चित्रकलाका विषय धेरै हुन्छन्। तुलाधरका अनुसार धार्मिक आस्थाबाट आरम्भ भएको ‘पौभा’ अहिले आधुनिक र उत्तरआधुनिक चित्रकलाको दाँजोमा चर्चामा नआए पनि यसको महत्त्व घटेको छैन। तर, खर्चिलो र बढी समय लाग्ने भएकाले यसमा लाग्नेहरू कम भएको उहाँको अनुभव छ।  

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ