• ४ वैशाख २०८३, शुक्रबार

मातातीर्थमा मातृभक्तको भीड (फोटो फिचर)

blog

दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड । तस्बिर : सुनज गुरुङ

काठमाडौँ,  वैशाख ४ गते ।  दिवङ्गत आमाको सम्झनामा  चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ ।

मातातीर्थमा बिहान ३ बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो बढेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले राससलाई जानकारी दिनुभयो । 

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमालाई शान्ति मिल्ने जनविश्वास छ । 


सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ ।हरेक वर्ष आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउने प्रचलन छ ।

जात्रा व्यवस्थापनका लागि मातातीर्थ मेला व्यवस्थापन समितिलगायत स्थानीय सामाजिक सङ्घसंस्था परिचालन भएका छन् ।