गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ४ गते । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा स्थानीय समुदायलाई प्रदान गरेको आधारभूत प्राथमिक उपचार तालिम प्रभावकारी भएको जानकारी दिइएको छ ।
शाखाद्वारा बिहीबार राजधानीमा आयोजित समीक्षा कार्यक्रममा सहभागी प्रशिक्षकलगायत तालिममा सहभागीले विपत् तथा अन्य समयमा स्वास्थ्य समस्या हुँदा अपनाउनुपर्ने आधारभूत प्राथमिक उपचार पद्धतिबारे ज्ञान लिन धेरै चासो देखाएकोले प्रशिक्षण प्रभावकारी भएको बताएका हुन् । शाखाका सभापति श्यामकाजी डोटेलले महानगर र सोसाइटीको काठमाडौँ जिल्ला शाखाबिच चैत ५ गते महानगरका ३२ वडामा आधारभूत प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी तालिम जेठ मसान्तसम्म सञ्चालन गर्ने विषयमा सम्झौता गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
शाखाका उपसभापति अञ्जना श्रेष्ठ मास्केले हालसम्म महानगरका १, ९, १२, १४, १५ र २९ वडामा सो तालिम सम्पन्न भएको जानकारी दिँदै तालिमबारे समीक्षा कार्यक्रमको आयोजना गरी त्यसको प्रभावकारिताबारे छलफल गरिएको बताउनुभयो । काठमाडौँ महानगरका महामारी रोग रोकथाम तथा नियन्त्रण सम्पर्कव्यक्ति ऋषि भुसालले महानगरले रेडक्रसको काठमाडौँ शाखासँग सम्झौता गरेर थालेको चारदिने उक्त तालिममा देखिएको उत्साहले प्रेरित बनाएको र आगामी दिनमा यस्ता तालिम सञ्चालन गर्न महानगरले थप काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तालिमका प्रशिक्षक राजाराम श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले हाल समुदायलाई लक्ष्यित गरी प्रदान गर्दै आएको आधारभूत प्राथमिक उपचार तालिम विश्वका १९३ मुलुकमै सञ्चालन हुने खालका तालिम भएकोले समुदायमा स्वास्थ्य समस्या पर्दा बिरामीलाई कमसेकम क्षति पुग्ने गरी उद्धार गर्नसमेत काम लाग्ने बताउनुभयो ।
प्रशिक्षक इन्दिरा पौडेलले सो तालिममा एक वडाका २४ जनासम्मलाई प्रदान गर्ने लक्ष्य राखिएकोमा सहभागी धेरै नै हुने गरेको र निकै हौसलाका साथ सहभागिता जनाएको बताउनुभयो । शाखाका अनुसार तालिममा सहभागीमध्ये ९० प्रतिशत महिला, गृहिणी रहेको र १६ वर्षदेखि ७३ वर्ष उमेर समूहका व्यक्तिले पनि चासोका साथ तालिम लिएको र बाँकी वडामा वैशाख ६ गतेदेखि तालिम सञ्चालन गरिने छ ।