सुर्खेत समाचारदाता
सुर्खेत, वैशाख ४ गते । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीको पर्यटन विकासका लागि १० बर्से दीर्घकालीन गुरुयोजना तयार परेको छ । सोही गुरुयोजना अनुसार अब कर्णालीको पर्यटनको विकास गरिने जनाइएको छ ।
मन्त्रालयका सचिव अजितकुमार कर्णले प्रदेश सरकारले कर्णालीको पर्यटन विकासका लागि १० बर्से दीर्घकालीन गुरुयोजना तयार पारेर अगाडि बढेको बताउनुभयो । गुरुयोजनामा विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । साथै ‘गन्तव्य कर्णाली’ मोबाइल एपमार्फत पर्यटकलाई सूचना दिने कार्य भइरहेको बताउँदै उहाँले मोबाइल एप्समा होटेल, रुट, शुल्क र दुरीको विस्तृत जानकारी रहेको बताउनुभयो ।
यसै गरी प्रदेश सरकारले २०३० सम्म कर्णालीमा वार्षिक १५ लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकाङ्क्षी लक्ष्य लिएको छ । सचिव कर्णका अनुसार हाल पर्यटकको बसाइ औसतमा चार दिन रहेकोमा त्यसलाई बढाएर १० देखि २१ दिनसम्म पु¥याउने योजनासहित प्रदेश सरकार अघि बढेको छ । यसका लागि हवाई उडानलाई सुर्खेतबाट सिधै हिमाली जिल्लामा जोड्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसैबिच कर्णाली प्रदेशमा पर्यटक दोहोरिएर नआउनुमा आतिथ्यको कमी मुख्य कारण रहेको सरोकारवालाले बताएका छन् । सुर्खेतमा भएको कर्णाली उत्सवको सातौँ संस्करणको ‘घुमिफिरी कर्नाली’ सत्रका वक्ताले कर्णाली पर्यटकीय सम्भावनाले भरिएको भए पनि घुम्न आउनेहरू आतिथ्यकै कारण दोस्रो पटक फर्केर नआउने गरेको गुनासो गरेका छन् ।
दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले पर्यटकको स्वागत र आतिथ्यको कमीले कर्णाली पुगेका ८० प्रतिशतले दोस्रो पटक नआउने गरेको बताउनुभयो ।
कर्णालीमा पर्यटन पूर्वाधारका योजना
बुलबुले समाचारदाताका अनुसार कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्धनमा जोड दिएको छ । पर्यटन पूर्वाधारका योजनालाई आवश्यकताका आधारमा निर्धारण गरिएको प्रदेश सरकारले जनाएको छ । रोजगारीमा आधारित उद्योगलाई प्रवर्धन गर्ने, उद्यमशीलता विकास तथा महिला आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्नेलगायतका कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।
पर्यटन प्रवर्धनमा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारलक्षित कार्यक्रम सञ्चालन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय स्थलको संरक्षण गर्न पर्यटन गुरुयोजना कार्यान्वयनमा जोड दिइएको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले बताउनुभयो । पर्यटन प्रवर्धन तथा विकासका लागि चालु आवमा ४३ करोड रुपियाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
मुगुको राराताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौघान पार्क र रुकुमपश्चिमको स्यार्पुतालको संरक्षण र विकास गर्नका पर्यटन पूर्वाधार कार्यव्रmम सञ्चालन गरिएको छ । यस्तै मन्त्रालयले पर्यटकीय पूर्वाधार विकासका लागि बहुवर्षीय आयोजना स्वीकृत गरेको छ भने जडीबुटी निकासी, बिरुवा उत्पादन गरेर वृक्षरोपण, वनक्षेत्र संरक्षणलगायतका काम थालेको जनाएको छ ।
डोल्पाको सेफोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न सङ्घ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माण थालिएको छ । सेफोक्सुन्डो गाउँपालिका–७ र ८ को बस्तीलाई एकीकृत गरेर बस्ती विकासको काम थालिएको हो । त्यसका लागि ताल किनाराको ‘रिङ्ग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ ।
यसै गरी हुम्लाको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाको सिमानामा मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार निर्माण गर्न लागिएको छ । पर्यटन प्रवर्धन गर्नका लागि पूर्वाधार निर्माण थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाले जनाएको छ । यस वर्ष दुई वटा पूर्वाधार निर्माणका लागि ३४ करोड ५० लाख रुपियाँ बजेट विनियोजन मन्त्रालयले जनाएको छ ।