• १२ वैशाख २०८१, बुधबार

शोभा अर्जुन सङ्गीत छात्रवृत्ति र पुरस्कार प्रदान

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, साउन ११ गते। यो वर्षको शोभा अर्जुन संगीत छात्रवृत्ति सुष्मा बिसुन्खेलाई प्रदान गरिएको छ भने नेपाली ताल बाजाका विज्ञ दीपक कुलुलाई सम्मान गरिएको छ। 

शोभा अर्जुन संगीतको आयोजनमा गरिएको कार्यक्रममा ललितकला क्याम्पसका वि.एफ.ए. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी  बिसुन्खेलाई छात्रवृत्ति र कुलुलाई सम्मान प्रदान गरिएको हो।

लोक संगीतकी प्राध्यापक एवम् गायिका स्वर्गीय शोभा तिवारी लोहनीको ६९ औं जन्मजयन्तीको अवसर पारेर बुधबार उहाँहरुलाई छात्रवृत्ति र सम्मान प्रदान गरिएको हो। २०७५ भदौ २० गते प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनी र बुबा अर्जुनको सम्झनामा स्थापना भएको कोषबाट उहाँहरुलाई सम्मान गरिएको हो ।  

कोषबाट १० हजार रुपियाँको छात्रवृत्ति संगीतका विद्यार्थी सुष्मालाई प्रदान गरिएको हो। ललितकला क्याम्पसको सिफारिसमा हरेक वर्ष एक विद्यार्थीलाई सम्मान गरिन्छ । लोक सङ्गीत प्रवद्र्धन र संरक्षणका लागि प्रोत्साहन स्वरुप यो सम्मान प्रदान गर्ने गरेकाे रीचा शर्मा तिवारीले जानकरी दिनुभयाे । 

यस्तै, कोषका अध्यक्ष आशिष तिवारीले भविष्यमा कोषले अझ आफ्नो कार्यक्रमहरु विस्तार गर्ने लक्ष्य लिएको र नेपाली लोक बाजा, लोकगीत तथा संस्कृतिको संरक्षणमा युवापुस्ता जागरुक हुनुपर्ने बताउनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली मादल विज्ञ न्युछेबहादुर डंगोलले नेपाली लोक सङ्गीतलाई नेपालका विश्वविद्यालयलेसमेत अपमान गरेको आरोप लगाउनुभएको छ । “नेपाली लोक सङ्गीतलाई माया र सम्मान गर्नुपर्छ,” उहाँले भन्नुभयो, “हाम्राे नेपाली लोक बाजा नेपालबाहेक विभिन्न देशमा प्रयोग भएको छ तर हामी नेपाली आफैंले यसलाई अपमान गरेको छौं ।”