• २१ वैशाख २०८१, शुक्रबार

चलचित्र विकास बोर्ड नेतृत्वका लागि १० जनाको दाबी

blog

काठमाडौं, साउन ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जना उम्मेद्वारकाे औपचारिक सूची सार्वजनिक गरेको छ । सूचीमा १० जना दाबेदारको नाम सोमबार सार्वजनिक गरिएको हो । 

बोर्ड अध्यक्षका लागि सूचीमा अभिनेत्री सम्झना उप्रेती रौनियार, अभिनेताहरु अरुणकुमार प्रधान, मनीष पण्डित, नरेशकुमार पौडेल, सुशीलकुमार पोखरेल, भुवन केसी, दीपक श्रेष्ठ, निर्मलराज ढकाल, सुचित्रा श्रेष्ठ र सुषमा कार्की हुनुहुन्छ । 

चलचित्र विकास वोर्डका अध्यक्ष पदका लागि विभिन्न योग्यता समेत तोकिएकको छ । सञ्चार मन्त्रालयका उपसचिव तथा चलचित्र विकास बोर्ड टंक महतका अनुसार चलचित्र क्षेत्रमा २० वर्ष काम गरेको हुनुपर्ने, आइए पास गरेको मापदण्ड तोकिएको छ । त्यस्तै, चलचित्र क्षेत्रमा १० वर्ष काम गरेको अनुभव भएमा डिप्लोमा गरेको हुनुपर्ने हुन्छ । 

उहाँका अनुसार सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त गरी कुनैपनि विषयमा डिप्लोमा गरेको हुनुपर्छ र ६५ वर्ष ननाघेको नैतिक पतन नदेखिने, भ्रष्टाचारमा नपरेको, फौजदारी अपराधमा संलग्न नहुनेलगायतका योग्यता तय गरिएको छ । 

विकास बोर्डका दावेदार

भुवन केसी

नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माताको रुपमा भुवन केसी चिनिनुहुन्छ । उहाँले १०० भन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ । 

हालै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका केसी नेपाल चलचित्र विकास बोर्डका अध्यक्षको दावेदार हुनुहुन्छ ।

चलचित्र क्षेत्रमा प्रेम विषयमा चर्चामा रहँदैआउनुभएका उहाँ बोर्डको अध्यक्ष पदमा बलियो सम्भावना रहेको बताइएको छ । 

दीपक श्रेष्ठ

निर्माता, निर्देशक र लेखक दीपक श्रेष्ठ विगत तीन दशकभन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय हुनुहुन्छ । श्रेष्ठले तीन दर्जनभन्दा बढी चलचित्र निर्देशन गर्नुभएको छ । गाउँले, आमाको आशीर्वाद, अजम्बरी माया, हिम्मत, जीवनसाथी, आफ्नोपन, कृष्ण अर्जुन, पहिलो पहिलो माया, पापी मान्छे, पर्खी बसेंजस्ता उहाँका चर्चित चलचित्र हुन् । 

सुचित्रा श्रेष्ठ  

सुचित्रा श्रेष्ठ नेपालको पहिलो महिला फिल्म निर्देशक हुनुहुन्छ । श्रेष्ठले २०५८ मा ‘प्रेमयुद्ध’ फिल्ममार्फत् निर्देशनमा डेब्यु गर्नुभएको हो । 

त्यसपछि ‘अभियुक्त’ लगायत करिब आधा दर्जन फिल्म निर्देशन गर्नुभएकी श्रेष्ठले ४० भन्दा बढी सिरियल समेत निर्देशन गर्नुभएको छ । कांग्रेस निकट नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्य समेत रहनुभएकी उहाँ यसको संस्थापक सदस्य पनि हुनुहुन्छ । यस अगाडि दुई पटक नेपाल चलचित्र विकास बोर्डको अध्यक्षका लागि टप–थ्री भित्र पर्न सफल भएको उहाँको रेकर्ड पनि छ । 

सुष्मा कार्की  

चलचित्र तथा टेलिचित्रमा चरित्र अभिनेत्रीको रुपमा चर्चित कलाकार हुनुहुन्छ, सुष्मा कार्की । २०५४ सालमा निर्माण भएको ‘प्रेमपथ’ फिल्मबाट अभिनय यात्रा थाल्नुभएकी कार्कीले अहिलेसम्म ६० बढी फिल्म, करिब एक दर्जन सिरियल र त्यही हाराहारीमा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । 

चलचित्र कलाकार सङ्घकी आजीवन सदस्यसमेत उहाँ हुनुहुन्छ । विभिन्न सामाजिक तथा कांग्रेसका थुप्रै सङ्घ संस्थामा आवद्ध रहँदै उहाँले चलचित्र विकास बोर्ड अध्यक्षका लागि निवेदन दिएको यो तेस्रो पटक हो । 

यी लगायतका दावेदारहरुले आफ्नो योग्यता पुगेर चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका हुन् । मन्त्रालयले जनाएअनुसार अब छिट्टै विकास बोर्डको अन्तिम परिणाम आउनेछ र छान्ने प्रक्रिया अघि बढेको छ । त्यसपछि लगभग साउन १५ सम्म अन्तिम परिणाम आउने जनाइएको छ । 

विकास बाेर्डको उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी गराउँदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान केही समयपछि तोक्ने जनाएको छ ।