• ४ वैशाख २०८३, शुक्रबार

सांसदको त्रिआयामिक भूमिका

blog

फाइल तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनले निम्तिने सङ्कटबिच सांसदको भूमिका अझै महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले सांसदले विधायिका, निगरानीकर्ता र जनप्रतिनिधिको गरी त्रिआयामिक भूमिका निर्वाह गरिरहेको बताउनुभयो । 

असंलग्न आन्दोलन संसदीय सञ्जालको पाँचौँ सम्मेलनमा मन्तव्य राख्दै अध्यक्ष दाहालले जलवायु परिवर्तनका गम्भीर असरबाट नेपाल प्रभावित भएको बताउनुभयो । उहाँले हिमाली वातावरणीय र मौसम प्रणाली जलवायु परिवर्तनको असर प्रत्यक्ष मारमा परेको र यसले विनाशकारी बाढीपहिरो तथा कृषि क्षेत्रमा समेत गम्भीर अवरोध उत्पन्न गरेको जानकारी साझा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।  

टर्कीको इस्तानबुलमा भइरहेको सम्मेलनमा अध्यक्ष दाहालले प्रभावकारी कार्यान्वयनबिना विधायिका निर्मित कानुनको कुनै अर्थ नहुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “निगरानीकर्ताको भूमिकाको प्रभावकारी उपयोगमार्फत संसद्ले कार्यपालिकालाई जवाफदेही बनाउनु पर्छ ताकि यसले राष्ट्रिय जलवायु अनुकूलनका योजना सहरकेन्द्रित ठोस कार्यक्रममा परिणत हुन सकून् ।”

अध्यक्ष दाहालले संसदीय समितिले सार्वजनिक सुनुवाइ गर्ने, पूर्वाधार परियोजनाको जलवायु प्रभावको मूल्याङ्कन गर्ने तथा अनुकूलनशील क्षमता अभिवृद्धिका लागि विनियोजित सार्वजनिक कोषको पारदर्शिता सुनिश्चित गर्ने भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । सबैभन्दा जोखिममा रहेका समुदायको आवाजलाई सशक्त बनाउँदै विकास कार्यमा अनुकूलनशीलताको अभिवृद्धिका प्रयासलाई समावेशी र न्यायोचित बनाउनु संसद्को प्रमुख दायित्व रहेको उहाँको भनाइ थियो । 

सम्मेलनमा अध्यक्ष दाहालले विश्वव्यापी चुनौतीको समाधान गर्न सामूहिक अन्तर्राष्ट्रिय प्रयासको आवश्यकता औँल्याउनुभयो । सम्मेलन पाँच दिनसम्म चल्ने छ । सम्मेलनमा राष्ट्रिय सभाका सदस्यहरू डा. अञ्जान शाक्य र कृष्णबहादुर रोकायसमेत सहभागी हुनुहुन्छ ।