• १६ भदौ २०८१, आइतबार

सर्वनाममा 'सपना अनेक-अनेक'

blog

काठमाडौं, साउन ४ गते । कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित रहेर अशेष मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक-अनेक’ बिहीबारदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । चार दशक लामो इतिहास बोकेको सर्वनामले पहिलोपटक गीति नाटक प्रस्तुत गर्ने भएको हो । 

सर्वनाम थियटर ४१ वर्ष पुगेको अवसरमा पहिलो गीति नाटक प्रस्तुत गर्न लागिएको मल्लले जानकारी दिनुभयो। मल्लका अनुसार विदेशिन बाध्य नेपाली युवापुस्ताका संघर्ष र उहाँहरुको देशप्रति प्रेम र वैदेशिक रोजगारमा गएका कयौं युवा देश फर्किन सकेका छैनन् जस्ता कथा नाटकमा प्रस्तुत गरिएका छन् । 

नाटकमा प्रस्तुत गरिएका कथाका भावहरूलाई दर्शकले संगीत र कलाकारको शारीरिक अभिव्यक्तिले महसुस गराउने गीति नाटक रहेको मल्लले बताउनुभयो । 

झण्डै ५० वर्षदेखि नाटक क्षेत्रमा लाग्नुभएका मल्लको यो पहिलो गीति नाटक हो । सकुनी पासा, रक्तवीर, अर्को कुरुक्षेत्र जस्ता मल्लका चर्चित नाटक हुन् । 

नाटकमा संगीतकार राजु सिंहको संगीतको धुन, गायनमा बानिका प्रधान र सत्यराज आचार्य, प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको छ ।  

साउन ५ गतेदेखि २१ गतेसम्म मञ्चन हुने नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा मगर, मिलन शाक्य, निरीक्षा घतानी, शुंँ-गूको अभिनय रहेको छ ।