सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा यतिबेला चुनावी तापमान बढ्दै गएको छ । प्रदेशको अस्थायी राजधानीसमेत भएकाले सबैको ध्यान धनगढीमा केन्द्रित छ । यस उपमहानगरपालिकामा प्रमुखका लागि सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रणबहादुर चन्द, राष्ट्रिय जनता पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्त विश्वकर्मा चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापासहित स्वतन्त्रबाट गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्त चुनावी मैदानमा उत्रिनुभएको छ ।
नेपाली काँग्रेसलाई भोट माग्न नपाउने भन्दै बलेफी गाउँपालिका–५ बिज्याल आपँबोटेमा नेकपा (माओबादी केन्द्र) कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलब्ध गराउने ७९ अर्ब ७१ करोड रुपियाँ (६५ करोड ९० लाख अमेरिकी डलर)को विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ । विकास लक्षित उक्त सम्झौतामा बिहीबार अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी)का नेपाल निर्देशक सेपिदेह केयभन्सदले हस्ताक्षर गर्नुभयो ।
घरमा आगलागी हुँदा एक जना वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर–४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको प्रहरीले जनाएको छ ।
स्थानीय तह निर्वाचन हुन एक साता बाँकी रहँदा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको छ । मताधिकार प्रयोग गर्न घरतर्फ जानेको लर्काे बसपार्कमा निकै बढ्न थालेको छ । न्यून सङ्ख्यामा बस जाने गरेका पहाडी जिल्लामा जान नियमित नम्बरका बसमा टिकट बुक भइसकेको छ । अतिरिक्त बस सञ्चालन नगरिए यात्रुले सास्ती भोग्नुपर्ने देखिएको छ ।
चुनावलाई लक्षित गरेर काँग्रेसको चुनावी गीत ‘जय नेपाल मुख मुखमा...’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो बिहीबार काठमाडौँको दरबारमार्गस्थित क्युज सिनेमामा रिलिज गरिएको छ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महत, वरिष्ठ अभिनेता नीर शाह, भुवन केसी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्कासहित गीतका कलाकारले भिडियो सार्वजनिक गर्नुभएको हो । गीतलाई युवा गायक कृष्ण विकले गाउनुभएको छ । कृष्णलाई महिला स्वरमा गायिका प्रीति आलेले साथ दिनुभएको छ ।
जाजरकोट, वैशाख २३ गते । जिल्लाको जुनीचाँदे गाउँपालिका– ७ जुर्क निपानेमा जनयुद्ध सङ्ग्रहालय बन्ने भएको छ । कर्णाली प्रदेशका वन निर्देशक गोविन्द्रप्रसाद दाहालले विहीबार भवनको शिलान्यास गर्नुभएको छ ।कर्णाली प्रदेश सरकारले उक्त सङ्ग्रहालय निर्माण सुरु गरेको हो । उक्त गाउँमा २५ जना व्यक्तिको सामूहिक हत्या भएको थियो । दुर्गम क्षेत्रमा पर्ने यो क्षेत्र शहीद तथा युद्धको अध्ययन गर्नका लागि सहज होस भनेर सङ्ग्रहालय निर्माण गर्न लागेको दाहालले बताउनुभयो ।मगर खाम भाषा मात्र बोल्ने विपन्न त्यस स्थानका समुदायलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।
जाजरकोट ,वैशाख २३ गते । अवैध रुपमा विक्रीका लागि लैजाँदै गरेको काईनेटिक ढुङगा सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका– ६ गर्खाकोटका २२ वर्षीय सुरत सिंहलाई पक्राउ गरिएको जनाएको छ ।प्रहरी चौकी छेडाबजारले सवारीसाधन चेकजाँच गर्ने क्रममा शिवालय गाउँपालिका– १ छेडाबजारमा प्लास्टिक झोला भित्र काईनेटिक ढुङगा (पत्थर) नौ किलोग्राम पाँच सय ग्राम बरामद गरि युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । कर्णाली प्रदेश ०२००१ च ०४९६ नम्वरको बोलेरो पिकअप जीपमा सवार युवालाई कार्वाहीको लागि खानी तथा भुगर्व विभाग अन्तर्गत पठाईएको प्रहरीले जनाएको छ । जाजरकोटको जुनिचाँदे र कुशे गाउँपालिकामा वहुमुल्य पत्थरखानीहरु प्रसस्तै मात्रामा पाइने गरेको स्थानीयबासीको भनाई छ ।
आचारसंहिता उलंघन भए एक लाख रुपियाँ जरिवानादेखि मनोनयनपत्र खारेज गर्नेसम्म अधिकार आयोगसँग रहेको छ।
निर्वाचन आचारसंहिताको पालन गर्न‘ सरकारको दायित्व रहेको गृहमन्त्री बालकृष्ण खाणले बताउनुभयो । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाबारे जानकारी लिन जिल्ला दौडाहामा रहनुभएका गृहमन्त्री खाणले बिहीबार सप्तरीको राजविराजमा सुरक्षा संयन्त्रको गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
अध्ययनको लागि भारतमा गएका एक नेपाली विद्यार्थी एक साता देखि हराईरहेकोले खोजी गरिदिन परिवारले अनुरोध गरेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ का २६ वर्षीय गोपाल खड्का भारतमा वेपत्ता हुनुभएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रमुख दुई पार्टी नेकपा (एमाले) र नेपाली काँग्रेसका उम्मेदवारले नगर प्रमुखको निर्वाचन जित्ने दाबी गरेका छन् ।
सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डीपी खनालको आवाज सुन्न सकिन्छ । रोमान्टिक भर्सनको गीतलाई शङ्कर थापा ‘स्माइल’ले सङ्गीत दिनुभएको छ ।
गुल्मी प्रहरीले ३७ वटा हतियार संकलन गरेको छ । गाउँगाउँमा रहेका हतियार बुझाउन जिल्ला प्रसासन कार्यालय गुल्मीले चैत मसान्तसम्म समयवधि तोकेपनि अटेर गरेपछि गाउँमै पुगेर हतियार संकलन गरेको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली राजनीतिको मुख्य केन्द्र नेपाल कम्युुनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेस मात्रै रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अब सहायक शक्ति भएको उहाँले दाबी गर्नुभयो ।