पाल्पा, वैशाख २३ गते । घरमा आगलागी हुँदा एक जना वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर–४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको प्रहरीले जनाएको छ ।
बिहीबार राति आफ्नै घरमा लागेको आगोले जलेर सोमैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लामो समयदेखि एक्लै बस्दै आउनुभएका सोमैको घरमा कसरी आगलागी भयो भन्ने जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।
जलेर सोमैको शवको समेत पहिचान गर्न गाह्रो परेको थियो । स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ । प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।