• ७ वैशाख २०८१, शुक्रबार

निर्माण नसकिँदै उद्घाटन गरिएको तिलोत्तमा भ्यूटावरमा प्रवेश निषेध

blog

चैत १५ गते उद्घाटनपछि भ्यूटावरमा चढेर दुरबिनको सहायताले हेर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्विर कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख २३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शङ्करनगर वनवाटिकाभित्र पुग्दा चिटिक्क परेको भ्यूटावर देखिन्छ । त्यहाँ पुग्दा जो कोहीलाई पनि एकपटक चढेर वरिपरिको दृश्य हेर्न मन लाग्नु स्वाभाविकै हो । उद्घाटन भएको पनि झण्डै डेढ महिना पुग्न लागिसक्यो । बाहिर जति चिटिक्क छ, भित्र पुग्दा त्यहाँ निर्माणको काम करिब ४० प्रतिशत बाँकी छ ।

रङरोगन टायल लगाउने काम चलिरहेको छ । घुम्न पुगेका अवलोकनकर्तालाई ११ तले टावर निर्माण नसकिएको र प्रवेश गर्न नमिल्ले भन्दै फर्काइएपछि सर्वसाधारण निरासशभएका छन् । 

एमालेका अध्यक्ष केपी ओलीले गतवर्ष चैत्त १५ गते उक्त भ्यूटावरको तामझामका साथ उद्घाटन गर्नुभएको थियो । टावरको माथिल्लो भागमा पुगेर ओलीले दुर्विनबाट वरिपरिको दृश्य नियालेपछि यसको चासो सर्वत्र बढेको थियो । एमाले नेतृत्वको सरकारले जनताका आधारभूत कुरामा ध्यान नदिएर भ्यूटावरमा राज्यको पैसा खन्याएको भन्दै त्यो बेला सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको थियो । 

वैशाख ३० गते हुने स्थानीय चुनावको लागि चैत्त २५ गतेबाट आचारसंहिता लागु भएको हुने भन्दै सोभन्दा १० दिन अघि उहाँबाट उद्घाटन गराएपछि आलोचना भएको थियो ।

उद्घाटन भएपछि चढ्न दिनुपर्छ, हामी चढ्न भनेर आएको यहाँ त प्रवेश गर्नै दिएनन् वनवाटिकामा भेटिनुभएकी बुटवल – १२ की सरिता अर्यालले गुनासो गर्नुभयो ।

शङ्करनगर वनवाटिकाका एक सदस्यका अनुसार नागरिकहरु भ्यूटावरबाट दृश्यावलोकन गर्नको लागि साउनसम्म पर्खनुपर्ने हुन्छ । ‘संरचना मात्र बनेको हो । भित्र डेकोरेसन लगायतका काम भैरहेको छ । साउन १ गतेबाट सञ्चालनमा आउँला कि ।’ वनवाटिकाका खिमलाल पाण्डेले, भन्नुभयो ।

केही काम बाँकी भए पनि लगभग सकिएको छ, हामीले बनाएको भ्यूटावर टावर मात्रै होइन ,बहुउद्देश्यीय छ, यसले आम्दानी दिने मेयर वासुदेव घिमिरेको भनाइ छ ।

झण्डै १४ करोड खर्चको बजेटको लागि तिलोत्तमा नगरपालिकाले ७० प्रतिशत र वनवाटिकाको ३० प्रतिशत लगानी छ । नगरपालिकाले अनावश्यक ठाउँमा बढी पैसा खन्याएको भन्दै आलोचना पनि भएको छ । भ्यूटावर बनाउने रकमबाट जनताका थुप्रै समस्या हल गर्न सकिने नगरवासीहरु बताउँछन् । 

नगरपालिकामा अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका थुपै समस्या छन् । अनावश्यक पूर्वाधारमा खर्च हुने रकमले सामुदायिक विद्यालयमा शैक्षिक सुधार, स्वास्थ्य केन्द्रमा आधारभूत संरचना, कृषि उत्पादन, रोजगार प्रवद्र्धनलगायतका काम गर्न सकिनेतर्फ पनि बहस हुने गरेको छ । 

काँग्रेसबाट तिलोत्तमाको मेयरको उम्मेदवार बनेका रामकृष्ण खाँणले काँग्रेसको नेतृत्व आएमा भ्यूटावरभन्दा जनताको समस्या हल गर्ने योजना ल्याउने भनाइ राख्नुभयो ।

भ्यूटावरले पर्यावरणलाई असर गर्ने र वन क्षेत्रको प्राकृतिक सुन्दरतामा पनि ह्रास आउने वातावरणविद् युवराज कँडेल बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ,  ‘वनवाटिका इको टुरिजमका लागि बनाइएको हो, इको टुरिजम अन्तर्गत ठूला संरचना बनाउनु गलत हो, यसले प्राकृतिक सुन्दरतालाई कुरुप बनाउँछ र चराचुरुङ्गीको आवागमनलाई पनि असर पार्दछ ।’