• २३ वैशाख २०८१, आइतबार

निर्वाचनका लागि बाहिरिनेको चाप

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख २३ गते । स्थानीय तह निर्वाचन हुन एक साता बाँकी रहँदा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको छ । मताधिकार प्रयोग गर्न घरतर्फ जानेको लर्काे बसपार्कमा निकै बढ्न थालेको छ । न्यून सङ्ख्यामा बस जाने गरेका पहाडी जिल्लामा जान नियमित नम्बरका बसमा टिकट बुक भइसकेको छ । अतिरिक्त बस सञ्चालन नगरिए यात्रुले सास्ती भोग्नुपर्ने देखिएको छ ।    

सोही समस्यालाई ध्यानमा राखी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अरिरिक्त बस सञ्चालन गर्ने भएको छ । नियमित सञ्चालनमा रहेका बसले यात्रुको चाप थेग्न नसकेपछि थप बस सञ्चालन गर्न लागिएको महासङ्घले जनाएको छ ।  महासङ्घका उपाध्यक्ष रवि रिमालले वैशाख ३० गते हुने निर्वाचनमा मतदान गर्न जानेको सङ्ख्याले यात्रुको चाप बढेको बताउँदै भन्नुभयो, “यात्रुको चाप बढिरहेको छ । शनिबारपछि झन् बढ्ने सम्भावना छ । नियमित नम्बरका गाडीका टिकट बुक भइसकेको छ । शनिबारबाट अतिरिक्त गाडी थप्छौँ । टिकट नपाएर जानै नपाउने अवस्था हुँदैन ।”  

उम्मेदवारले मतदातालाई जिल्लामा लैजान बस रिजर्भ गरेकाले पनि टिकट नपाउने समस्या देखिएको छ । नियमित नम्बरका बसबाहेक अन्य बस रिजर्भमा जाँदा अतिरिक्त बस थप गर्न पनि महासङ्घलाई गाह्रो हुनेछ । तर उपाध्यक्ष रिमालले भन्नुभयो, “पालोमा नपरेका गाडी सबै रिजर्भमा जाने होइनन् । अतिरिक्त बसको व्यवस्थापन गरिसकेपछि बल्ल रिजर्भमा मिलाउने गरिन्छ । यसमा आलोपालो हुन सक्छ तर यात्रु अलपत्र पर्ने अवस्था आउँदैन ।”

उहाँका अनुसार स्थानीय तहका उम्मेदवारले वैशाख २६ देखि २८ गतेसम्मका लागि रिजर्भ बढी गरेका छन् । स्थानीय तहका उम्मेदवारले नियमित रुटमा चलिरहेका बसलाई नै रिजर्भ गरेको पाइएको छ । तर, उक्त दिनमा नम्बरमा परेका बस रिजर्भमा जान नपाउने महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गोङ्गबु नयाँ बसपार्कबाट दैनिक र राति गरी करिब पाँच सय बस उपत्यकाबाहिर प्रस्थान गर्ने गरेका छन् । अचेल निर्वाचनका कारण दैनिक सात सय बस बाहिरिने गरेका छन् । 

Author

लक्ष्मण दर्नाल