• २३ वैशाख २०८१, आइतबार

धनगढीमा त्रिपक्षीय प्रतिस्पर्धा

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख २२ गते  । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा यतिबेला चुनावी तापमान बढ्दै गएको छ । प्रदेशको अस्थायी राजधानीसमेत भएकाले सबैको ध्यान धनगढीमा केन्द्रित छ । यस उपमहानगरपालिकामा प्रमुखका लागि सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रणबहादुर चन्द, राष्ट्रिय जनता पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्त विश्वकर्मा चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापासहित स्वतन्त्रबाट गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्त चुनावी मैदानमा उत्रिनुभएको छ । 

दलीय पकडमा रहेको यस उपमहानगरपालिकामा यस पटक भने त्रिपक्षीय प्रतिस्पर्धा हुने अधिकांशको आँकलन छ । विगतको निर्वाचन नतिजालाई हेर्ने हो भने पनि नेपाली काँग्रेस, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच नै त्रिपक्षीय भिडन्त हुने देखिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै नेपाली काँग्रेसले जितेको थियो । काँग्रेसबाट पूर्वप्रमुख नृपबहादुर वड यस पटक फेरि उम्मेदवार हुनुभएको छ ।

“पहिले पनि हामीलाई जनताले भारी मत दिएर जिताएका हुन् । यस पटक झन् गठबन्धन भएकाले हाम्रो जित सुनिश्चित छ,” उहाँले भन्नुभयो । अघिल्लो पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हमाललाई दुई हजार ७९५ मतान्तरले पराजित गरी वड प्रमुखमा विजयी हुनुभएको थियो । 

उहाँले १४ हजार ३२४ मत प्राप्त गर्नुभएको थियो भने पराजित हमालले ११ हजार ५२७ प्राप्त गर्नुभएको थियो । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार तेस्रो र नेकपा (एमाले)का उम्मेदवारले चौथो स्थान प्राप्त गरेको थियो । अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा आएको माओवादी गठबन्धन गरेर यस पटक काँग्रेसको सहयात्री बनेका कारण पनि वड चुनाव जित्नेमा ढुक्क देखिनुभएको छ । यद्यपि, उहाँलाई नेकपा (एमाले)का उम्मेदवार चन्दबाट मात्रै नभई, स्वतन्त्र उम्मेदवार हमालबाट पनि विरासत जोगाउन चुनौती छ । 

नगरका प्रमुखका प्रत्यासी चन्दले पाँच वर्षसम्म विकासको काम हुन नसकेका कारण जनताले अब विकल्प खोजिरहेको बताउनुभयो । “त्यो विकल्प भनेको एमाले हो,” उहाँले भन्नुभयो । धनगढी उपमहानगरपालिका रहेको क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई पराजित गरेर नेकपा (एमाले)ले विजयीको झन्डा फहराएको थियो । 

धनगढीको विकास धनगढी मोडलमा गर्ने, भ्रष्टाचारमुक्त पालिका बनाउने, कुनै सेवा सुविधा नलिने प्रतिबद्धतासहित स्वतन्त्र उम्मेदवार हमाल पनि चुनावी मैदानमा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा नगर प्रमुखमै निकटतम प्रतिस्पर्धी भएका कारण यस पटक पनि हमाल बलियो प्रतिस्पर्धी रहने धेरैको आँकलन छ । हमाललाई विवेकशील र राप्रपालगायतका दलको पनि समर्थन छ । निर्वाचन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकाको मतदाता सङ्ख्या ९३ हजार १५१  छ ।