• २३ वैशाख २०८१, आइतबार

स्थानीय तक निर्वाचन

निर्वाचन आचारसंहिता कार्यान्वयनमा नरैनापुर गाउँपालिका उदाहरणीय

blog

निर्वाचन नजिकिएपनि कुनै पर्चा पम्पलेट नदेखिएको नरैनापुर गाउँ / नरैनापुरका निर्वाचन अधिकृत रेशम आचार्य । तस्विर- सिराज खान । नेपालगञ्ज

सिराज खान

नेपालगञ्ज, वैशाख २३ गते । निर्वाचन आचारसंहिता कार्यान्वयनमा बाँकेको नरैनापुर गाउँपालिका जिल्ला भरिकै पालिकाहरुका लागि उदाहरणीय बनेको छ ।

दलहरुसँग गरिएको सामान्य आग्रहकै भरमा सो गाउँपालिकामा पूर्ण रुपमा निर्वाचन आचारसंहिता कार्यान्वयन भइरहेको नरैनापुरका निर्वाचन अधिकृत रेशम आचार्यले बताउनुभयो ।

पालिकामा आचारसंहिता पूर्ण रुपमा पालना गराउन दल र उम्मेदवारहरु नै निकै गम्भीर भएर लागिपरेको उहाँले जनाउनुभयो । बाँकेका अन्य पालिकाबाट आचार संहिता उल्लङ्घन भएको सुनिए पनि नरैनापुरमा पूर्ण पालना भैरहेकोमा खुशी लागेको समेत आचार्यको भनाइ छ ।

‘हामीले दल तथा उम्मेदवारले गरिरहेका निर्वाचन लक्षित गतिविधिमा देखिएका सामान्य त्रुटिलाई मौखिकरुपमै औंल्याइदिन्छौं । उहाँहरु निर्वाचन आचारसंहिता कार्यान्वयनमा सचेत हुनुहुन्छ । सबैको सहयोगले निकै सजिलो भएको छ,’ निर्वाचन अधिकृत आचार्यले भन्नुभयो ।

जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिएको मानिने सो गाउँपालिकामा सुरुमा खटिँदा काम गर्न गाह्रो हुन्छ कि भन्ने लागेकोमा अहिले त निकै सजिलो र सहज भएको उहाँले बताउनुभयो ।

नरैनापुरमा दलहरुले आचारसंहिताको पालना गर्न सक्रिय सहयोग गरिरहेका छन् भने प्रहरीले पनि निकै सक्रियता देखाएको छ । अध्यक्ष पदका उम्मेदवार इश्तियाक अहमद शाहले आचारसंहिता पालना गर्न सबै कार्यकर्ता र समर्थकलाई गम्भीर रुपमा निर्देशन दिइएको बताउनुभयो ।

उहाँले अन्य दलका उम्मेदवारहरुले पनि सो कार्यमा राम्रो सहयोग गरिरहेको पाइएको बताउनुभयो ।

यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार रामचन्द्र मौर्यले पनि आचारसंहिता पालना र शान्तिपूर्ण प्रतिस्पर्धा गर्न सबै नेता कार्यकर्तालाई कडा निर्देशन दिइएकाले राम्रो परिणाम आएको बताउनुभयो ।

उता, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक बीरबहादुर सुनारले आचारसंहिता कायान्वयनमा कडाई गरिएको जनाउँदे आफ्नो क्षेत्रमा आचारसंहिता विपरीतका कुनै पनि गतिविधि हुन नदिएको बताउनुभयो ।

वैशाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सबै दल र उम्मेदवारहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।