लक्ष्मी सापकोटाकाठमाडौंँ, वैशाख १० गते । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा पेट्रोलियम पदार्थको कारोबारबाट ८७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा एक खर्ब ८७ अर्ब रुपियाँ बराबरको इन्धन आयात गरेकाले ८७ अर्ब ३४ करोड ४९ लाख ९० रुपियाँ राजस्व सङ्कलन भएको हो । सो अवधिमा २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन (डिजल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल र खाना पकाउने ग्यास) आयात भएको थियो । इन्धन कारोबारबाट आव २०७७÷७८ मा ९७ अर्ब २० करोड ४१ लाख २१ हजार र आव २०७६÷७७ मा ६६ अर्ब ८८ करोड ६९ लाख २४ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन कारोबारमा निगमले मासिक १२ अर्ब रुपियाँ राजस्व तिर्ने गरेको बताउनुभयो । पेट्रोलियम पदार्थ आयात र प्रयोगमा विभिन्न शुल्क र कर लगाइएको छ । यी सबै भन्सार बिन्दुमा नै राजस्व सङ्कलन हुने गर्छ ।पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार शुल्कबापत ३१ अर्ब २६ करोड ६० लाख नौ हजार, पूर्वाधार शुल्कबाट १८ अर्ब ६० करोड ५३ लाख रुपियाँ सङ्कलन भएको निगमले जानकारी दिएको छ । यस्तै सो अवधिमा सडक मर्मत दस्तुरबाट चार अर्ब ८२ करोड ३० लाख ९६ हजार, प्रदूषण कर दुई अर्ब ७९ करोड ७९ लाख पाँच हजार रुपियाँ सङ्कलन भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) ३० अर्ब ९९ करोड १० लाख सात हजार रुपियाँ सङ्कलन भएको निगमले जानकारी दिएको छ । निगमले पेट्रोलमा भन्सार महसुल २५ रुपियाँ २० पैसा, सडक मर्मत दस्तुर चार रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ६० पैसा, वातावरण शुल्क एक रुपियाँ ५० पैसा, भ्याट १८ रुपियाँ ४१ पैसा गरेर प्रतिलिटरमा ६० रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । यस्तै डिजलमा भन्सार महसुल १२ रुपियाँ, सडक मर्मत दस्तुर दुई रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ४३ पैसा, वातावरण शुल्क एक रुपियाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १६ रुपियाँ ४५ पैसा गरेर प्रतिलिटर डिजलमा ४३ रुपियाँ ४१ पैसा राजस्व सङ्कलन हुने गरेको छ । हवाई इन्धनमा भन्सार महसुल दुई रुपियाँ १० पैसा, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ५६ पैसा, मूल्य अभिवृद्धि कर १७ रुपियाँ ९५ पैसा गरेर प्रतिलिटरमा २१ रुपियाँ ६४ पैसा राजस्व सङ्कलन हुने गरेको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्यास (एलपीजी)मा भन्सार शुल्कबापत १०२ रुपियाँ ४३ पैसा, मूल्य स्थिरीकरण कोषमा १६ रुपियाँ, मूल्य अभिवृद्धि कर १७९ गरेर प्रतिसिलिन्डर ग्यासमा २९७ रुपियाँ कर लिने गरिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले हाल पेट्रोल प्रतिलिटरमा २२ रुपियाँ ९८ पैसा, डिजलमा २८ रुपियाँ र ग्यासमा प्रतिसिलिन्डर ९३२ रुपियाँ घाटा रहेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म एक खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपियाँ बराबरको २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन आयात भएको छ । आव २०७७÷७८ मा एक खर्ब ५५ अर्ब रुपियाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले इन्धन आयातमा उल्लेख्य वृद्धि भएको छ ।
लोकेन्द्र जोशीदार्चुला, वैशाख १० गते । दार्चुला–टिङ्कर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन (हेभी इक्विपमेन्ट) नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिरहेको छ । बुधबार दार्चुला आएको हेलिकप्टरले व्यास गाउँपालिकाको सदरमुकाम सुन्सेराबाट व्यास गाउँपालिका–२, दुम्लिङसम्म मेसिन ओसार्ने काम गरिरहेको हो ।सडक बाटो नभएपछि हेलिकप्टरले स्काभेटर, ब्याकहोलोडर, कम्प्रेसरका पार्ट ढुवानी गरिरहेको छ ।मेसिनका स–साना पार्टभित्र राखेर ओसारिरहेको छ भने ठूला पार्ट झुन्ड्याएर ल्याउने गरेको छ । निर्माण सामग्री ढुवानी गर्नुअघि बिहीबार सुरक्षा अधिकारीले सडकको हवाई निरीक्षण गरेका थिए । नेपाली सेनाले निर्माण गरिरहेको सडकको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाली सेनाका प्राविधिक महासेनानी इन्दिवर गुरुङ, विकास निर्माण कार्यदल, २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङ, सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति त्रिभुवन विष्ट, राष्ट्रिय अनुसन्धान अधिकृत महेशप्रसाद अवस्थी, गुरु गोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्ला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्र विष्टलगायतको टोलीले स्थलगत अनुगमन गरेको हो । नेपाल सरकारले दार्चुला–टिङ्कर सडकखण्डअन्तर्गत व्यास गाउँपालिकाको कोठेधारदेखि टिङ्करसम्मको ७३.२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । नेपाली सेनाले अहिले पाँच ठाउँबाट सडक निर्माणको काम गरिरहेको जनाएको छ । व्यास गाउँपालिकाको तल्लो दुम्लिङ, फुलचिम, कोठेधार र मालबाट सडक निर्माणको काम गरिरहेको नेपाली सेनाका विकास निर्माण कार्यदल २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङले जानकारी दिनुभयो ।चालू आर्थिक वर्ष २०७८÷०७९ मा सात किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको नेपाली सेनाले अहिलेसम्म तीन किलोमिटर सडक निर्माण गरिसकेको जनाइएको छ । सडक निर्माणका लागि चालू आर्थिक वर्षमा सेनालाई २२ करोड ५० लाख रुपियाँ बजेट प्राप्त भएको छ । क्याम्प राख्ने तयारीदार्चुला–टिङ्कर सडक निर्माणका लागि नेपाली सेनाले व्यास गाउँपालिका–१, छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ । व्यास गाउँपालिका–२, कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट पनि सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । क्याम्प स्थापना हुने ठाउँको नेपाली सेना र जिल्ला सुरक्षा समितिले हेलिकप्टरमार्फत छाङरु पुगेर अनुगमन गरेको छ । साथै सेनाले निर्माण गरिरहेको सडकसमेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । नेपाली सेनाले दार्चुला–टिङ्कर सडक निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना गरेको थियो । केपी ओली नेतृत्वको सरकारले कोठेधारदेखि टिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । वर्तमान सरकारले तुसरपानीदेखि कोठेधारसम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा पनि सेनालाई दिएको छ । कोठेधार–टिङ्कर सडकको नयाँ डीपीआर तयार गरेर नेपाली सेनाले सडक निर्माण गरिहेको छ । सरकारले सेनालाई जिम्मा दिँदा ८७ किलोमिटर डिपिआरको कोठेधार–टिङ्कर सडकको जिम्मा दिएको भए पनि सेनाले घुम्ती घटाएर तथा कुनै ठाउँमा मार्ग परिवर्तन गरेर कोठेधारदेखि टिङ्करसम्म ७४ किलोमिटरको नयाँ डीपीआर तयार गरेर सडक निर्माण गरिरहेको छ । तुसरपानीको फतङगाडबाट सेनाले सडक निर्माण गर्ने भएकाले व्यास गाउँपालिका–३, तुसरपानीमा वर्षात्का कारण अवरुद्ध भएको सडक मर्मत गरिँदै छ । सडक अवरुद्ध हुँदा नेपाली सेनालाई फतङगाडसम्म निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेकाले दार्चुला–टिङ्कर सडक आयोजनाले सडक सफा गर्ने काम गरिरहेको छ । तुसरपानी गाउँको तल्लो क्षेत्रमा स्थानीयले पहिरो खसेको भन्दै सडक खुलाउन विवाद गरेपछि रिठिङगाड नदीको मार्ग भएर सडक खुलाउने काम भइरहेको बताइएको छ ।
बुटवल समाचारदाताबुटवल, वैशाख १० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । घरबाट निस्किने फोहोर पानीलाई व्यवस्थित ढलमा जोडेर प्रशोधन केन्द्रसम्म पु¥याउने र त्यहाँ प्रशोधनपछि सिँचाइलगायतमा प्रयोग गर्न मिल्नेगरी १६ करोड रुपियाँको लगानीमा निर्माण गरिएको ढल प्रशोधन केन्द्रबाट त्यस क्षेत्रका हजारौँ स्थानीय लाभान्वित भएका छन् । सङ्घीय सरकारको सहयोगमा खानेपानी उपभोक्ता समितिमार्फत निर्माण भएको यो परियोजना प्रदेशकै नमुना ढल परियोजनाका रूपमा रहेको बताइएको छ । सैनामैना–३ को रामबस्ती र वडा नम्बर ४ को करबलामा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माण भएको हो । वडाका विभिन्न टोलबाट फोहोर पानी ढलमार्फत प्रशोधन केन्द्रसम्म पुग्नेगरी व्यवस्थित पाइपलाइन जडान गरिएको छ । सङ्घीय आयोजनामार्फत यी दुई ठूला आयोजनाले सैनामैनाको फोहोर व्यवस्थापनमा महìवपूर्ण टेवा पु¥याएका छन् । सैनामैना नगरपालिकाले नर्कटको प्रयोगबाट प्राकृतिक रूपमै ढलको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा छाड्ने गरेको छ । वडा नम्बर ३ को रामबस्तीमा सैनामैनाका १५० भन्दा बढी घरधुरीको ढल प्रशोधन गरी व्यवस्थित गरिँदै आएको छ भने वडा नम्बर ४ मा पाँच सय घरको ढल प्रशोधन केन्द्रमा लगिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा निर्माण भएको प्रशोधन केन्द्र निर्माणमा मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाले सहकार्य गरेको छ भने नगरपालिकाले खानेपानी संस्थामार्फत पाँच हजारभन्दा धेरै उपभोक्तालाई अभियानमा सरिक बनाएको छ । यसका बारेमा सचेतनाका काम पनि अगाडि बढाइएको मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो । नगरपालिकाकै पहलमा सैनामैनाको करिब एक लाख जनसङ्ख्यालाई स्वच्छ खानेपानीको प्रबन्ध गर्नुका साथै घरदेखि उत्सर्जन हुने फोहोरको प्रभावकारी व्यवस्थापन गरिएको छ । ढल प्रशोधन केन्द्रमा घरको फोहोर पानी ल्याउनका लागि मुर्गिया बजारदेखि घमाहा खोलासम्म करिब चार हजार मिटर लम्बाइको ढल निर्माण गरिएको छ ।ढल प्रशोधन गरी पानी पुनः खोलामा मिसाउन थालेपछि खोलाको पानी सफा हुनुको साथै हिउँदयाममा सुक्खा रहने घमाहा खोलामा पानी बग्न थालेको छ ।
भउचप्रसाद यादवकाठमाडौँ (मुड्खुभन्ज्याङ), वैशाख १० गते । सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ ।सम्बन्धित निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण कुल १७.०१ किलोमिटरको सो सडकखण्ड नबन्दा स्थानीयवासीले आठ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यति मात्र नभई राजधानीबाट फोहोर बोकेका गाडी त्यसतर्फ जान नपाउँदा सङ्घीय राजधानी काठमाडौँमा पटक–पटक फोहोर थुपिँ्रदै आएको छ ।सो सडकखण्डको निर्माण गरिदिन प्रधानमन्त्रीको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागमा पटक–पटक धाउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको नेपालको सैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी) सँग २०७१ जेठ ५ गते ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपियाँ रहेकामा अहिले सो रकम ३४ करोड ९४ लाख रुपियाँ पुगेको छ ।सडक विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि अहिलेसम्म आधा पनि काम पूरा भएको छैन । सातौँ पटकको म्याद गत वर्ष चैतमै सकिए पनि काम भने ४० प्रतिशत मात्रै भएको छ । स्थानीयवासीले सो सडक निर्माणको माग गर्दै संयुक्त सङ्घर्ष समिति गठन गरी मुड्खुभन्ज्याङदेखि तीनपिप्ले खण्डमा फागुन १ देखि सडक अवरुद्ध गर्दै आएका छन् । यही सडक हुँदै काठमाडौँ उपत्यकाको फोहोर सिसडोल लाने गरिन्छ ।यसै क्रममा सङ्घर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सो सडक निर्माण गर्न स्थानीयवासीसँग भएको सहमतिको म्याद सकिए पनि निर्माण सुरु हुन नसकेकाले पुनः काठमाडौँ उपत्यकाको फोहोर सिसडोल लाने सवारीसाधन अवरोध गर्ने जनाएको छ । समितिका संयोजक भवनाथ गजुरेलले निर्माण सम्पन्न नहुँदा सडकमा समान्य हिँडडुल गर्नसमेत कठिन भएको र दैनिक सवारीसाधन दुर्घटनामा पर्ने गरेको, स्थानीयवासीमा दमजस्ता रोग बढेको, पर्यटनलगायतका व्यवसाय चौपट्टै बनेको बताउनुभयो । उहाँले सडक कालोपत्रे हुनुपर्ने आफूहरूको एकसूत्रीय माग रहेको बताउनुभयो । सडक निर्माण सुरु नभएसम्म स्थानीयवासीले काठमाडौँको फोहोर सिसडोलसम्म जान नदिने दाबी उहाँको छ ।त्यसैगरी फोहोर व्यवस्थापन तथा सङ्कलन गर्ने मापदण्डविपरीतका सवारीसाधनमा फोहोर ढुवानी गरिएको बताउँदै उहाँले खुला रूपमै फोहोर ढुवानी गर्दा यस क्षेत्रमा झिँगा बढ्दै गएको र गाडीबाट झरेर ठाउँठाउँमा सडकमा फोहोर थुप्रिएकाले यस क्षेत्रको जनजीवन नै अस्वस्थ बन्दै गएको छ भन्नुभयो । तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष मनोहरि तिवारीले सडक विस्तारका नाममा सडकका दुवैतिर कटान गर्दा र भएको कालोपत्रेसमेत उप्काउँदा यस क्षेत्रको उद्योग व्यवसाय, पर्यटनलगायत सम्पूर्ण जनजीवन नै अस्तव्यस्त बन्दै गएको बताउनुभयो । “सडक विभागले न यो सडक बनाउँछ, न त निर्माण कम्पनीसँग ठेक्का सम्झौता नै तोड्ने गर्छ । यसको प्रत्यक्ष मारमा यहाँका जनता परेका छन्,” उहाँले भन्नुभयो । सरकारले ठेक्का सम्झौता रद्द गरी स्थानीयवासीलाई निर्माणको जिम्मेवारी दिए काठमाडौँ उपत्यकाका १८ वटा पालिकाबाट तीन करोड रुपियाँका दरले रकम सङ्कलन गरी छ महिनाभित्रै यो सडकखण्ड कालोपत्रे गर्न सकिने दाबी उहाँको छ । यो सडक भएर काठमाडौँ उपत्यकाका १८ वटा पालिकाका फोहोर सिसडोल लगिन्छ ।तारकेश्वर होटल व्यवसायी सङ्घका अध्यक्ष राजु फुयालले विस्तारका नाममा निर्माण कम्पनीले यो सडक बिगार्दा विगत आठ वर्षदेखि यहाँको होटल व्यवसाय बन्दजस्तै बनेको गुनासो गर्नुभयो । ८६ वर्षीय स्थानीयवासी विष्णु आचार्यले चार–पाँच वर्षमै यो सडकको निर्माण २०१४ सालमा सम्पन्न भएको स्मरण गर्दै चार–पाँच वर्षमा नयाँ राजमार्ग नै निर्माण भएको तर आठ वर्षमा समेत यो सडकखण्ड विस्तार र स्तरोन्नति नभएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १० गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेको जनाएको छ । आयात निरुत्साहनमा केही दैनिक उपभोग्य वस्तु भए पनि अधिकांश वस्तुको आयात नियमित रूपमा भइरहेको र बजारमा हल्ला गरेजस्तो अभाव नभएको विभागको जानकारी दिएको छ । “केही वस्तुको आयातमा कमी आए पनि बजारमा कुनै पनि सामानको अभाव छैन । कृत्रिम अभाव देखाएर अवाञ्छित मूल्य निर्धारण गरेको पाइए तत्काल कारबाही गर्छौं,” विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भन्नुभयो ।रुस–युक्रेन युद्ध र केही वस्तुको आयातमा गरिएको कडाइ, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि, ढुवानी भाडामा भएको बढोत्तरीले केही वस्तुको मूल्यमा वृद्धि भएको पाइए पनि कृत्रिम अभाव तथा आधारहीन मूल्य वृद्धि नगराउन उहाँले व्यवसायीलाई आग्रह गर्नुभएको छ ।कच्चा पदार्थ तथा आयात मूल्यमा भएको वृद्धिका कारण केही वस्तुको उपभोक्ता मूल्य बढेको विभागको भनाइ छ । वस्तु तथा सेवाको मौज्दात पर्याप्त भएकाले आवश्यकताभन्दा बढी खरिद गरेर नराख्न विभागले उपभोक्तालाई आग्रह गरेको छ । महानिर्देशक शर्माले विभागका कर्मचारी चुनावमा खटिएकाले जनशक्ति अभाव रहेको जानकारी दिँदै तर पनि दैनिक चारवटा टोलीले बजार अनुगमन गरिरहेको बताउनुभयो । स्थानीय तहमा बजार अनुगमनलाई सक्रिय बनाउन ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको विभागले जानकारी दिएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो ।
नेपालका मिडियाले स्थानीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेको करिब सात दशकको इतिहास छ । स्थानीय निर्वाचनबारे समाचार प्रकाशित गरेको इतिहास त त्योभन्दा पनि पुरानो छ । नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ जेठ ३ गते राजधानीमा ‘काठमाडौँ म्युनिसिपालिटी’ को निर्वाचनसँगै प्रारम्भ भएको मानिन्छ ।
गीता श्रेष्ठमहाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वाधिक चर्चितमध्येको एक कविता ‘यात्री’मा ‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो...’ ‘....फर्क–फर्क हे जाउ समाऊ मानिसहरूको पाउ, मल्हम लगाऊ आर्तहरूको चहराइरहेका घाउ’ । यो पङ्क्तिले धर्मको परिभाषा गरेको छ । धर्म मानवता हो, प्रकृति संरक्षण हो, समानता हो, सहिष्णुता हो । धर्म गर्नु भनेको आफूमा भएको गलत विचार र व्यवहारको त्याग गरी असल विचार र व्यवहार धारण गर्नु हो । धर्म भनेको सेवा हो । अझ असहायको सेवा गर्नु नै ठूलो धर्म हो, भागवत् सुन्ने, पुराण सुन्ने, भन्नेले पनि यसै भन्छन्, तर पालना कति भयो । सबैले धर्म गर्ने हो भने समाजमा गरिबी, अशिक्षा, विभेद कायमै रहँदैन । आजभोलि वातावरण विनाशको दुष्चक्र सिङ्गो पृथ्वीमा परेको छ । संसारमा मानिने सबै धर्मले प्रकृति संरक्षणलाई उच्च महŒव दिएर विविध थितिसमेत बसालिएको छ । नेपालकै कुरा गर्ने हो भने नदी संरक्षण, वन संरक्षण, पाटी–पौवा, कुलो–कुवाको संरक्षणका लागि अनि वन्यजन्तु संरक्षण गर्न धार्मिक आस्था र विश्वास बोकेका कथा लिपिबद्ध गरियो । ‘वनदेव’, ‘जलदेवता’को पूजा गर्ने चलन त्यसै बसेको होइन । नदीलाई भगवान्को नाम दिएर संरक्षण गरियो । आजभोलि पवित्र मानिएका नदीको हालत के छ ? प्राकृतिक चक्रमा अवरोध नआओस् भनेर चरादेखि मुसा अनि हिंस्रक तथा भीमकाय जनावरसम्मलाई भगवान्का बाहन मानेर संरक्षण गरियो । यी सब संस्कार मानव कल्याणका लागि थियो, प्रकृति संरक्षणका लागि थियो, जसले मानवसँगै सृष्टिका सबै पक्षको भलो होस् भन्ने उद्देश्य थियो । धर्मको ताŒिवक मर्म, अर्थ र व्यवहारलाई कर्ममा उतार्न सकियो भने शान्ति र समुन्नतिको बाटो खुल्छ, सबैबीच हातेमालोको संस्कार बस्छ । अहिलेका धेरै समस्याको समाधान पनि हुन्छ ।दिनभर मन्दिरमा बसेर भजन गाउने, अरूका कुरा काट्ने, समाजमा आइपरेका समस्याबाट भाग्ने वा त्यो मेरो काम होइन, म त धर्मकर्ममा लागेको मान्छे भनेर पन्छने हो भने त्यो मान्छेले गरेको धर्मबाट उसले पनि केही पाउँदैन र समाजले पनि । एउटा सच्चा धार्मिक मानिसले सिङ्गो समाजलाई सत्कर्म गर्न प्रेरित गर्छ, यस्ता अनेक उदाहरण छन् । ठूला–ठूला धार्मिक व्यक्तित्वले कहिल्यै भजन गाएर मात्रै आफूलाई स्थापित गरेका होइनन् । धर्म एकै हो, त्यहाँ पुग्ने अर्थात् सेवा गर्ने बाटो मात्रै फरक हो । धर्मको बाटो अनेक छन् । हामीले सच्चा मनले दुःखीको सेवा गर्नु पनि धर्म हो । मन्दिरमा बत्ती बालेर, मूर्तिको पूजा गरेर शङ्ख फुकेर घण्ट बजाएर एउटा अलग्गै आनन्द त आउँछ तर त्यो धर्म हो वा होइन पत्तो छैन । वास्तवमा आफ्नो खुसी र सन्तुष्टिका लागि गरिने कामसँगै अरूको खुसीका लागि पनि केही योगदान गर्ने हो भने त्यो झनै ठूलो धर्म हो । वेद–उपनिषद्, रामायण, भागवद्गीता कुनैमा पनि हिन्दु धर्म र यसभित्रका अनेक पन्थको चर्चा गरिएकै छैन भने शास्त्रमै नभएको पन्थ सिर्जना गरेर केही जान्नेसुन्ने भनिएकाले व्यापार चलाएका छन् । गाउँघरका सोझासिधा महिलालाई भ्रममा पारेर आफ्नो अनुयायी बनाएका छन् । यसैलाई धर्म मानेका छन् । गरिब–दुःखी र असहायलाई दान दिनुभन्दा आफूजस्ता धार्मिक गुरुलाई दान दिए पुण्य मिल्ने भ्रम बाँडेर लुट्छन् ।नेपालमा यस्ता अनगिन्ती अध्यात्मवादी छन्, जसले धर्मलाई मानवसेवामा समर्पित गरेका छन्, शास्त्रको मानव जीवनोपयोगी व्याख्या गरेर सत्मार्गमा लाग्न प्रेरित गरिरहेका छन्, उनीहरूलाई मुरीमुरी धन्यवाद । शास्त्रको सही अर्थ समाजलाई दिन सकियो भने यसले प्राणी मात्रको कल्याण गर्छ, प्राणी, वनस्पतिको कल्याणले नै मानव कल्याण हुन्छ । धर्म दुई अभीष्टका लागि गरिन्छ रे । एउटा आफ्नै स्वार्थका लागि, अर्को जगत्कै लागि । आजभोलि जगत्का लागि धर्म गर्ने कमै छन् । धर्म, संस्कृति, संस्कारका नाममा व्यापार गर्नेको बोलवाला छ । अनि ‘धर्म अफिम हो’ भन्नेहरू तिनै धर्म र संस्कार अनि संस्कृतिको नाममा व्यापार गर्नेलाई महान् वैज्ञानिक र क्रान्तिकारी ठान्छन्, पाठपूजा गर्छन् । धर्मका नाममा व्यापार र समाजमा विभेद बढेको छ । सनातन धर्मले अँगालेको, मार्गनिर्देश गरेको बाटोमा कोही पनि हिँडेका छैनन् । आफूलाई हिन्दु त भन्छन् तर त्यही धर्मभित्र विभेद गर्छन् । कोही कुन पन्थ, कोही कुन पन्थ– एकले अर्कोलाई नीचा देखाउने र आफूले अँगालेको पन्थ मात्र सर्वश्रेष्ठ भन्ने ! के यही हो धर्म ?जब धर्ममा लागेको भनिएकाहरू धर्ममै विभेद गर्छन्, धर्मको नाममा मानव कल्याणका पक्ष बिर्सिएर रामनामी ओढेर अरूलाई अर्ती दिने, आफू त्यो अर्ती पालना नगर्नेको बोलवाला छ । यसले धर्मको रक्षा होइन, नाश गरिरहेको छ । मानवता हराएको छ, धर्मको नाममा व्यापार बढेको छ, संस्कार, संस्कृति संरक्षणमा कसैको चासो छैन । वर्ण विभाजन (श्रम विभाजन)लाई जातको रङ्ग दिएर छुवाछूत गरिन्छ, मान्छेको रगत रातै हुन्छ, रोग लागे जुन जातको रगत पनि चल्ने, तर त्यही रगत दिनेलाई छुनै नहुने ? यो कुन धर्म हो ? सनातन धर्म व्यवस्थाले जातीय विभेद गरेको छैन, मन्दिरका पूजारी र सडकका व्यापारी सबैलाई समान मानेको छ, सबैको महत्त्व बराबर ठानेको छ । अहिले जसले भगवान्को प्रतिमा बनाउँछ उसैलाई मन्दिरमा निषेध छ, जसले सिलाएको लुगा लगाएर ठाँटिएर हिँडिन्छ उसैलाई छुन नहुने बनाइन्छ । विभेदको यो पराकाष्टा कसले तोड्ने ? महिलाको मासिक स्राव नभए सृष्टि रोकिन्छ, तर त्यही मासिक स्रावलाई पापको संज्ञा दिएर त्यस्तो अवस्थामा महिलामाथि दुव्र्यवहार गरिन्छ । शास्त्रले महिलालाई महाशक्तिशाली दुर्गा, महाज्ञानी सरस्वती र धनवान् लक्ष्मीका रूपमा स्विकारेको छ । छोरी जन्मिएको घरमा लक्ष्मी भित्रिएको भन्ने चलन रहेको समाजमा आजभोलि छोरी बोझ हुन थाल्यो किन ? यसको एउटै कारण छ– धर्मको नाममा बनावटीपना, व्यापार र आफूलाई ठालु बनाउने कुकर्म । सच्चा धर्मवान्ले कहिल्यै भेदभाव गर्दैन, मूर्तिमा पनि दूध चढाउँछ र मन्दिरबाहिरका भोकालाई पनि खुवाउँछ । मन्दिरमा पूजा गर्नु आस्था हो, त्यस्तो आस्था मनभित्रबाट आएको छ भने मानिसको आत्मा पवित्र हुन्छ र पवित्र आत्माले अरूको सेवा गर्छ । त्यही पवित्र आत्मा मात्रै धार्मिक मानिन्छ र उसले गरेको धर्म सत्कर्ममा परिणत हुन्छ ।नेपाली समाजमा जातीय र लैङ्गिक विभेदको जरा उखेल्नै सकिएको छैन । यसलाई उखेल्ने भाषण त हुन्छ तर जसले उखेल्न पहल गर्नुपर्ने हो उनीहरू नै जातीय सङ्गठन खडा गरेर राजनीतिक शक्ति आर्जनको स्रोत बनाउँछन् । हरेक राजनीतिक दलभित्र दलित सङ्गठन किन ? विभिन्न धर्म–सम्प्रदायका मानिसको सङ्गठन किन ? अनि जातीय सङ्गठन किन ? यस्ता प्रवृत्ति रहँदासम्म हामी विभेदमुक्त समाजको कल्पना नै गर्न सक्दैनौँ । महिलालाई अधिकार दिनुपर्छ भन्ने पश्चिमा नाराको पछि लागेर उनीहरूलाई पनि राजनीतिक शक्ति आर्जनको औजार बनाइयो, तर हाम्रा शास्त्रले महिलालाई दिएको स्थान र अधिकारका बारेमा बोल्नै चाहँदैनन् । बाहिरबाहिर क्रान्तिकारी र परिवर्तनशील देखिने भित्रभित्रै विभेदको खाडल खन्ने प्रवृत्तिको अन्त्य नभएसम्म समाज विकासको आधार बन्दैन ।
नमाज कायम गर्नु रमजानको रोजा राख्नु, जकात निकाल्नु र हज गरेको आधारमा इस्लाम बनेको छ । कोही यी आधारभन्दा बाहिर गएको छ भने ऊ मुसलमान होइन । यसै आधार स्तम्भमध्ये रमजानको रोजा राख्नु तेस्रो आधार स्तम्भ हो ।
नेपालमा मात्र आठ हजारभन्दा अग्ला आठ र छ हजारमाथिका एक हजार ३१० हिमाल छन् । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथादेखि धेरै हिमाल भएका कारण नेपाल सगरमाथा र हिमालयको देश भनेर विश्वमा बढी परिचित छ । प्राकृतिक अनुपम यिनै हिमालको सौन्दर्य अवलोकन गर्न तथा ती हिमालका चुचुरो चुम्ने अभिलासासहित बर्सेनि ५० हजार विदेशी पर्यटक तथा ८० हजार सहयोगी विभिन्न हिमालमा ओहोर–दोहोर गरिरहेका हुन्छन् ।
राष्ट्रिय सभागृहमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पेज लाइफटाइम एचिभमेण्ट अर्वाडबाट सम्मानित भएका छन् । इलोहं प्रकाशनको पेज थ्री पत्रिकाले आयोजना गरेको पेज थ्री पिपल्स च्वाइस अवार्ड समारोहको क्रममा उहाँ सम्मानित हुनुभएको हो ।
लक्की चौधरीकाठमाडौं, वैशाख ९ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सम्बन्धमा आम नागरिकबाट आउने जिज्ञासा र गुनासो सम्बोधनका लागि शुरु गरेको कल सेन्टरमा नागरिकको जिज्ञासा आउनेक्रम बृद्धि भएको छ । जिज्ञासाको सहज समाधान हुने भएपछि नागरिकबाट आयोगको कल सेन्टरमा जिज्ञासा आउनेक्रmममा बृद्धि भएको हो ।कल सेन्टर सुपरभाइजर मधुसुदन पुडासैनीकाअनुसार अहिलेसम्म ३ हजार ३२३ जिज्ञासा आएका छन्, जसमध्ये अधिकांश जिज्ञासाको सम्बोधन भएको आयोगले जनाएको छ । उहाँकाअनुसार चैत १५ गतेदेखि शुरु भएको कल सेन्टरको शुरुवाती दिनमा जिज्ञासा आउनेक्रम बढी भएपनि बीचमा कम भएको थियो । तर पछिल्लो समय पुनः कल सेन्टरमा नागरिकको जिज्ञासाको रफ्तार बढेको उहाँले बताउनुभयो । कल सेन्टरबाट आएको जानकारीअनुसार गत चैत १५ गते ३१२ जिज्ञासा आएका थिए । अहिलेसम्मको सबैभन्दा बढी जिज्ञासा आएको दिन पनि त्यही भएको पुडासैनीको भनाई छ । त्यस्तै बढी जिज्ञासा चैत १६ गते ३०५, चैत १७ गते २५२ वैशाख ८ गते २१६ जिज्ञासा आएका छन् । सोहीअनुसार पछिल्लो समय वैशाख ७ गते १३४, वैशाख ६ गते ११६, वैशाख ५ गते १०६, वैशाख ४ गते ८५, वैशाख ३ गते ६५, वैशाख २ गते ८८ र वैशाख १ गते ५३ जिज्ञासा आएका थिए । कल सेन्टरमा आएको नागरिकको जिज्ञासा सकेसम्म तत्काल सम्बोधन गर्ने गरिएको र केही जिज्ञासा क्रमशः सम्बोधन गर्नेगरिएको पुडासैनीले बताउनुभयो । कल सेन्टरमा आउने जिज्ञासा र त्यसको सम्बोधनले निर्वाचनबारे विभिन्न जानकारी सहजरुपमा प्राप्त गर्नेगरेको नागरिकको भनाई रहेको उहाँले जानकारी दिनुभयो । कल सेन्टरमा आउने जिज्ञासामा निर्वाचन प्रचार प्रसारमा गाडीमा साउण्ड सिष्टम प्रयोग गर्न पाइन्छ कि पाइँदैन ? वाल पोष्टर टास्न पाईने नपाईने ?, निर्वाचनमा उम्मेदवारको चुनाव चिन्ह खुलाएर वाल पोष्टर कति साईजसम्मको टाँस गर्न पाउने ? संविधानमा मेयर–अध्यक्ष र उपमेयर–उपाध्यक्षको राजीनामा मात्रै उल्लेख भएको देखियो । वडा सदस्यको हकमा निजले को समक्ष राजीनामा दिने ? लगायतका जिज्ञासा आउने गरेका छन् । सोहीअनुसार अध्यक्ष र उपाध्यक्ष दुवैले राजीनामा दिंदा कसलाई सम्बोधन गरेर कहाँ राजीनामा बुझाउने ?, वडाध्यक्ष र वडा सदस्यले कसलाई राजीनामा बुझाउने ? उम्मेदवारले चुनाव चिन्ह कहिले पाउँछ ? उम्मेदवारले मनोनयन फिर्ता गर्दा दलको पत्र आवश्यक पर्छ कि पर्दैन ? स्थानीय तहमा कर्मचारी खटाउँदा सम्बन्धित स्थानीय तहमा कार्यरत कर्मचारीमध्येबाट राख्नुपर्नेमा बाहिरबाट ल्याएको पाईयो । यसमा कार्यविधिको व्यवस्था के हो ?, मेयर र उपमेयर पदमा दुवै पुरुष उठाउन मिल्छ कि मिल्दैन ? कतिसम्म भोट ल्याउनेको धरौटी जफत हुन्छ ? लगायतका जिज्ञासा आउनेगरेको कल सेन्टरका प्रतिनिधिहरुले बताउनुभयो ।त्यस्तै, एक जनालाई मात्र मतदान गर्दा मत बदर हुन्छ कि हुँदैन ? वैशाख १७ गते हुने नासुको परीक्षा रोकिन्छ कि रोकिन्न ? उम्मेदवार बन्न के के योग्यता आवश्यक पर्छ ? लागुऔषधको कारोबारमा सजाय भुक्तान भैसकेको व्यक्तिले उम्मेदवार हुन पाउने कि नपाउने ? मतदाता परिचयपत्रको आधारको रुपमा रहने नागरिकता वा राष्ट्रिय परिचयपत्र भएको मतदाताले यसैको आधारमा मत हाल्न पाईने हो कि होईन ? कुनै पनि उम्मेदवार र पार्टी मन नपरेको अवस्थामा मतदाताले कसरी मतदान गर्ने ? लगायतका जिज्ञासा आउने गरेको पुडासैनीले जानकारी दिनुभयो । निर्वाचन आयोगमा ११०२ मा निःशुल्क कल गर्ने व्यवस्था गरिएको छ ।
नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख ९ गते । निर्वाचन आयोगले प्रक्रियाअनुसार अद्यावधिक भइसकेको मतदाता नामावलीमा थपघट र हेरफेर गर्न नसकिने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ती जारी गर्दै सो कुरा प्रष्ट पारेको हो । आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउँ भन्ने निवेदन आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानूनी व्यवस्था भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।”मतदाता नामावली संकलन कार्य स्थगन भएपछि आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भई गत फागुन १९ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिएको थियो । आयोगकाअनुसार अनलाइनबाट समेत निवेदन दिने सुविधा प्रदान गरिएको थियो । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात आयोगबाट गत चैत १३ गते दोहोरो नामावली हटाउने लगायतका प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता पौडेलले प्रष्ट पार्नुभएको छ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगद्वारा गत चैत १३ गते प्रकाशन गरिएको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन परेमा स्थानीय तह निर्वाचन सम्पन्न भएपछि गर्न सकिने आयोगले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले पदबाट राजीनामा दिनु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन सरावगीले सो पदबाट राजीनामा दिनुभएको हो ।