• १२ असार २०८१, बुधबार

एमबीबीएस डाक्टर भन्दै ठगीको आरोपमा एक युवक पक्राउ

blog

फाइल तस्बिर

शिवराज ढुङ्गाना
अछाम, जेठ १० गते ।
एमबीबीएस डाक्टर भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका–२ मिस्तुरु निवासी २९ वर्षीय चक्रबहादुर विश्वकर्मालाई न्यूरोसर्जन भएको भन्दै ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो ।

विश्वकर्माले सरकारी, गैरसरकारी निकायमा र प्रहरीमा समेत आफू वीर अस्पताल र शिक्षण अस्पतालमा न्यूरो सर्जन डाक्टर भएको नक्कली परिचयपत्र बनाएर अनुचित फाइदा लिएको सूचनाको आधारमा पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।

जिल्ला अस्पतालमा वीर अस्पताल र शिक्षण अस्पतालको डाक्टर भनेपछि उहाँलाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख थपलियाले जानकारी दिनुभयो ।

प्रहरीले विश्कर्माको साथबाट डाक्टर दीपक बिसीको नक्कली परिचयपत्र, दीपककै नाममा काटिएका सहयोग रसिद, बैंकका भौचर र हवाइजहाजको बोर्डिङ पास, चक्रबहादुर नामको मतदाता परिचयपत्र फेला परेको छ ।

डाक्टर दीपक भनेर विभिन्न व्यक्तिसँग अनुचित लाभ लिनका लागि ढाँटेको भनेर प्रहरीमा स्वीकारेको बताइएको छ । पक्राउमा परेका विश्वकर्माको बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।