गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी दिएको छ ।
चितवन, जेठ १० गते । भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनः निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभएकाे हाे । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उहाँले भन्नुभयो,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतैतर्फ लाग्छु ।” पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङ्ग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँचदलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उहाँले दोहो¥याउनुभयो । उहाँले भन्नुभयो “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्नेतर्फ विशेष ध्यान जान्छ ।” भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधानतर्फ पनि विशेष ध्यान दिनेछु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहाेर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उहाँले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गर्नुभयो । गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमानदारी प्रकट गरेकाले जित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्नतर्फ लाग्छाैँ ।”
लीलाराज खड्का बिर्तामोड, जेठ १० गते । झापामा जिल्ला समन्वय समिति गठन गर्न नेकपा एमालेलाई बहुमत जुटेको छ । कुल १५ पालिका रहेको झापा जिल्लामा पालिका प्रमुख र उपप्रमुख गरी ३० मत भार रहेकोमा झापामा यसपटक एक्लै १७ जना पालिका प्रमुख र उपप्रमुख जित्दै बहुमतसहित झापामा एमाले पहिलो दल बनेको छ । १६ मत ल्याउँदा झापामा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र समन्वय समिति गठन गर्न सक्छ । झापामा एमालेपछि नेपाली कांग्रेसले कुल ९ पदमा विजयी हुँदै दोस्रो र कुल ४ पदमा विजयी हुँदै झापामा राप्रपा तेस्रो ठूलो दल बनेको छ । यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेले कुल १९ पदमा विजयी हुँदै पहिलो दल बनेर एकलौटी रुपमा जिल्ला समन्वय समिति गठन गरेको थियो । यसपटक नेकपा एमालेले शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, गौरादह नगरपालिका गरी ६ वटा पालिकामा पालिका प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेले विजयी हुँदा कनकाई नगरपालिकामा नगरप्रमुखमा विजयी भएको छ । यता, बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । नेपाली कांग्रेसले झापा गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा विजयी हुँदा, बुद्धशान्ति गाउँपालिका,भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा पालिका प्रमुख र कनकाई नगरपालिका, दमक नगरपालिकाममा पालिका उपप्रमुखमा नेपाली कांग्रेसले जित निकालेको छ । राप्रपाले भने झापामा हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपप्रमुख दुबैमा जित निकालेको छ । यो राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह नगर हो । राप्रपाले दमक नगरपालिकामा कांग्रेस, माओवादीसहितको गठबन्धनबाट नगरप्रमुख जितेको छ । यो एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यसबाहेक राप्रपाले भद्रपुर नगरपालिकामा नगर उपप्रमुखमा जितेको छ । झापामा कुल १६१ वडामध्ये एमालेले ६१ वडा जित्दा, नेपाली कांग्रेसले ५१ वटा वार्ड माओवादी केन्द्र र राप्रपाले समान ७÷७ वटा वडा जित्दा नेकपा एकीकृत समाजवादीले १ वटा वडा र स्वतन्त्रले ४ वटा वडामा विजयी भएको छ ।
अर्थमन्त्री जनार्दन शर्मालाई पेसागत महासङ्घ नेपालका संयोजक प्रेमलकुमार खनाल, महासचिव रामप्रसाद रिमाल, सचिवालय सदस्य तथा एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष मोहनकुमार घिमिरेसहितको टोलिले ज्ञापनपत्र बुझाउनुभएको छ ।
काठमाडौं महानगरपालिका-२२ को वडाध्यक्षमा नेकपा (एमाले)का चिनीकाजी महर्जन विजयी हुनुभएको छ। उहाँले दुई हजार ६० मत प्राप्त गर्नुभएको छ।
पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका-५ तल्लो गुणादीमा मङ्गलबार बिहान बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
विष्णुप्रसाद पोखरेलदमक, जेठ १० गते । झापामा नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हाल्न शुरु गरेपछिको पहिलो निर्णय सार्वजनिक गर्न थाल्नुभएको छ । विशेष गरेर नगर प्रमुख र उपप्रमुखले आफ्नो सोचलाई पहिलो निर्णयको रुपमा अघि सार्नुभएको पाइएको छ ।झापाको अर्जुनधारा नगरपालिकाका बलदेव गोम्देनले विपन्न परिवारका लागि आफ्नो कार्यकालभरमा कम्तीमा एक हजार घर बनाइदिने बताउनुभएको छ । आफ्नो कार्यकालमा अति विपन्न घरवारविहीन एक हजार परिवारले घर पाउनेछन्, उहाँले भन्नुभयो । वार्षिक दुई सय घर बनाउनुपर्ने हुन्छ ।भद्रपुर नगरपालिकाले दीर्घरोगले थलिएका बिरामीको उपचारका लागि दिइँदै आएको यातायात खर्चलाई दोब्बर बनाउने नगरप्रमुख गणेश पोखरेलले बताउनुभएको छ । यो निर्णयमा उहाँले हस्ताक्षर पनि गर्नुभएको छ । यसअघि दीर्घरोग लागेका बिरामीलाई पाँच हजार रुपियाँ यातायात खर्च दिँदै आएकोमा यसलाई बढाएर १० हजार बनाइएको छ, पोखरेलले भन्नुभयो । यहाँ रहेका आदिवासी सन्थाल समुदायको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने पनि उहाँले जनाउनुभएको छ । यता, हल्दीबारी गाउँपालिकाले गाउँपालिकाले ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएकालाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले घरदैलोमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको छ । अध्यक्ष रवीन्द्र लिङ्देनले पदभार ग्रहण गर्दै यस्तो निर्णय सुनाउनुभएको हो । गाउँपालिकाभित्रका सडक तत्काल मर्मत गर्ने र वर्षाको समयमा कसैले पनि यातायातको झमेला बेहोर्नुपर्ने अवस्था आउने नदिने पनि उहाँले बताउनुभयो ।बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंका अनुसार निम्नवर्गका जनताको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने र ५ वर्षभित्रमा नगरमा पर्याप्त सिँचाइको व्यवस्था गर्ने निर्णय भएको छ । कृषकले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापन र प्रशोधनसँगै उद्यमशीलतालाई अगाडि बढाउन उत्पादन वृद्धिका लागि सिँचाइको व्यवस्था गरिने निर्णय भएको बताउनुभयो ।दमक नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरुमार्फत निःशुल्क रुपमा सुगर जाँचको व्यवस्था गर्ने पहिलो निर्णय गरेको छ । अब स्वास्थ्य केन्द्रहरुमा निःशुल्क रुपमा नगरवासीहरुले स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । दमक नगरपालिका प्रमुख राम थापाका अनुसार सुकुम्बासी बस्तीको एक सडकलाई लकिङ टायल लगाउने योजनामा पहिलो हस्ताक्षर भएको छ ।
विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना मङ्गलबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा सुरु भएको छ ।
बाबुराम शर्माचरीकोट, जेठ १० गते । दोलखाको सदरमुकामस्थितको भीमेश्वर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख ईश्वरनारायण मानन्धरले नगरवासीलाई अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । चुनावी घोषणपत्रमा गरिएका सङ्कल्पभन्दा अझ बढी नगर विकासका काम हुने बताउँदै उहाँले भन्नु भयो, ‘‘नेपाली काँग्रेसको प्रतिनिधित्व गरी निर्वाचनबाट जिते पनि अब आपूm नगरका सबै दल र नगरवासीको प्रमुख भएर काम गर्नेछु । नगरवासीबाट लिँदै आएको कर घटाउँदै करको दायरा बढाउने मेरो पहिलो एजेन्डा हुनेछ । भ्रष्टाचार शून्य बनाउँदै नगरवासीका हितका काम सञ्चालन गरिनेछ ।’’ कृषि तथा पशुपालन जीवनको प्रमुख आधार, निःशुल्क स्वास्थ्य उपचार–नगरवासीको नैसर्गिक अधिकामर, गुणस्तरीय शिक्षा–आजको आवश्यकता, संस्कृति र पर्यटन–जीवनस्तर उकास्ने प्रमुख धन, श्रम, रोजगार र सामाजिक सुरक्षा–नागरिकको आवश्यकता, युवा तथा खेलकुद–स्वास्थ्य समाजको प्रमुख आधार उहाँको सङकल्पपत्रमा उल्लेख छ । त्यसैगरी सङकल्पपत्रमा खानेपानी सरसफाइ र सिँचाइ–विकासका प्रमुख आधार, भौतिक पूर्वाधार, यातायात तथा सडक–विकासका प्रमुख आधार, उद्योग वाणिज्य–रोजगारीका अवसर, जलस्रोत–हाम्रो प्राकृतिक स्रोत र सूचना तथा सञ्चार प्रविधि–समाजको द्रुतगति उल्लेख छ । पूरा नहुने योजना र सपनाका चाङले नगरवासी वाक्कदिक्क भइसकेका छन् । उहाँले भन्नुभयो, म नगरवासीलाई ब्युँताउन पनि आएको हो । नगर निर्माणमा जनप्रतिनिधि र नगरवासी सँगसँगै रहने छौँ । नगरमा हामीले देखिराखेका छौँ । ठूला खाले पूर्वाधार बन्यो भनियो तर बजेट अभावले अपूरा र अलपत्र रहेका छन् । यस्ता खाले विकासले सुशासन, पारदर्शिता र जबाफदेहितामा गैरजिम्मेवारीको बढोत्तरी हुन पुगेको छ । पाँच वर्षमा भएका आर्थिक दुरुपयोग र भ्रष्टाचारको छानबिन गरी सत्य तथ्य नगरवासीसामु ल्याउनेमा प्रतिवद्ध छौँ । उहाँले भन्नुभयो, ‘पाँच वर्षको अवधिमा काम गर्दा नगरवासीलाई धोका दिने छैन । मेरो स्थानीय सरकार मेरै लागि काम लाग्छ, मेरो भलो, मेरै स्थानीय सरकारले गर्छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।’
रुपन्देहीको सैनामैनामा एक महिलालाई फलाम दिएर हातमा लगाएका सुनका गहना लिएर फरार भएका दुई जना पक्राउ परेका छन्।
काठमाडौं, जेठ १० गते । फिल्म 'प्रेमगञ्ज'को आइटम गीत 'तरबार' सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई आइटम डान्समा प्रस्तुत गरिएको छ । किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको आवाज रहेको छ । परिच्छेद सेनले निर्देशन गर्नुभएको फिल्ममा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँ प्रमुख भूमिकामा हुनुहुन्छ। 'जो मनमा छ जीवनमा छैन र जो जीवनमा छ मनमा छैन' भन्ने विषयवस्तुमा आधारित 'प्रेमगन्ज' भदौ ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
पोखरा महानगरको मतगणना रोकिएको छ। एमालेतर्फका प्रतिनिधि मतगणना छोडेर हिँडेपछि पोखरा महानगरको मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सर्लाहीको हरिवन नगरपालिका–८ कैलाशपुरी क्षेत्रमा एक कुखुरा फर्ममा आगलागी हुँदा करिब १५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिनुभयो ।