• ४ जेठ २०८१, शुक्रबार

फलाम देखाएर गहना लुट्ने दुई जना पक्राउ

blog

कबिन्द्र नेपाल
मणिग्राम (रुपन्देही), जेठ १० गते।
रुपन्देहीको सैनामैनामा एक महिलालाई फलाम दिएर हातमा लगाएका सुनका गहना लिएर फरार भएका  दुई जना पक्राउ परेका छन्। 

सुनौलो रङ्गका ९ वटा फलामको ढिक्का दिएर बुटवल १७ की ४० वर्षीया धन सोमैको साथबाट हातमा लगाउने ब्रासलेट (सुनको चेन) लिएर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। 

रुपन्देहीको गैडहवा गाउँपालिका ९ धुसवाका ३७ वर्षीय काके उपनामका धनबहादुर सुनार र अर्घाखाँची मालारानी गाउँपालिका ३ घर भएर रुपन्देहीको कञ्चन १ हात्तीबजार बस्ने ३७ वर्षीय कोनविन भनिने देवबहादुर मगरलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। दुवैजनालाई  कञ्चनको हात्ती बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताउनुभयो। 

प्रहरीले उनीहरुको साथबाट सुन जस्तो देखिने पहेंलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान, विभिन्न कम्पनीका ४ सेट मोबाइल, गोल्डेन रङ्सहितको १ थान बट्टा, पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्ट सुनको डल्ला बरामद गरिएको प्रवक्ता पौडेलले बताउनुभयो। 

पुरानो बाँकी पैसा दिने बहाना बनाएर जेठ ५ गते सैनामैना १० शितलापुरस्थित एक होटलमा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ की सोमैलाई बोलाई पक्राउ परेका उनीले त्यसैबेला ९ थान फलामको ढिक्का दिएर हातमा लगाएको सुनको ब्रासलेट (चेन) लिएर फरार भएका थिए।

पक्राउ परेका उनीमाथि ठगीसम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो।