• ५ जेठ २०८१, शनिबार

झापामा एमालेलाई जिल्ला समन्वय समिति बनाउन सुविधाजनक बहुमत

blog

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल शपथग्रहणमा सहभागी हुँदै, तस्विर–लीलाराज खड्का

लीलाराज खड्का 

बिर्तामोड,  जेठ १० गते । झापामा जिल्ला समन्वय समिति गठन गर्न नेकपा एमालेलाई बहुमत जुटेको छ । कुल १५ पालिका रहेको झापा जिल्लामा पालिका प्रमुख र उपप्रमुख गरी ३० मत भार रहेकोमा झापामा यसपटक एक्लै १७ जना पालिका प्रमुख र उपप्रमुख जित्दै बहुमतसहित झापामा एमाले पहिलो दल बनेको छ ।

१६ मत ल्याउँदा झापामा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र समन्वय समिति गठन गर्न सक्छ ।  झापामा एमालेपछि नेपाली कांग्रेसले कुल ९ पदमा विजयी हुँदै दोस्रो र कुल ४ पदमा विजयी हुँदै झापामा राप्रपा तेस्रो ठूलो दल बनेको छ । 

यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेले कुल १९ पदमा विजयी हुँदै पहिलो दल बनेर एकलौटी रुपमा जिल्ला समन्वय समिति गठन गरेको थियो । 

यसपटक नेकपा एमालेले शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, गौरादह नगरपालिका गरी ६ वटा पालिकामा पालिका प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेले विजयी हुँदा कनकाई नगरपालिकामा नगरप्रमुखमा विजयी भएको छ । यता, बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष पदमा एमाले विजयी भएको छ  । 

नेपाली कांग्रेसले झापा गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा विजयी हुँदा, बुद्धशान्ति गाउँपालिका,भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा पालिका प्रमुख र कनकाई नगरपालिका, दमक नगरपालिकाममा पालिका उपप्रमुखमा नेपाली कांग्रेसले जित निकालेको छ  । राप्रपाले भने झापामा हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपप्रमुख दुबैमा जित निकालेको छ । यो राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह नगर हो ।

राप्रपाले दमक नगरपालिकामा कांग्रेस, माओवादीसहितको गठबन्धनबाट नगरप्रमुख जितेको छ । यो एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यसबाहेक राप्रपाले भद्रपुर नगरपालिकामा नगर उपप्रमुखमा जितेको छ । झापामा कुल १६१ वडामध्ये एमालेले ६१ वडा जित्दा, नेपाली कांग्रेसले ५१ वटा वार्ड माओवादी केन्द्र र राप्रपाले समान ७÷७ वटा वडा जित्दा नेकपा एकीकृत समाजवादीले १ वटा वडा र स्वतन्त्रले ४ वटा वडामा विजयी भएको छ ।