नवलपरासीका कतिपय विद्यालयले विद्यार्थीलाई उपलब्ध गराइएको दिवा खाजाको पैसा अभिभावकलाई दिने गरेको पाइएको छ। सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने व्यवस्था गरेको छ।
विस्तृत अध्ययन नगरी बनाइएको पर्यटकीय संरचनाले सर्वसाधारणको ज्यान लिने गरेको छ। तिनाउ गाउँपालिका–३ मा रहेको भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले हरेक वर्ष तीन/चार जनाको ज्यान लिने गरेको छ। भूतखोलामा रहेको पोखरी अवलोकन गर्न र पौडी खेल्न आउनेहरू अकालमै ज्यान गुमाउन बाध्य भएका छन्। स्थानीय सरकार र प्रदेश सरकारले अध्ययन नै नगरी पर्यटक तान्न संरचना बनाएका कारण यस्तो समस्या आएको हो। यसले हरेक वर्ष गर्मी सिजनमा पौडी खेल्न जानेहरू ज्यान गुमाउन बाध्य छन् भने कतिपय मानिस तस्बिर खिच्नेक्रममा लडेर ज्यान गुमाउन बाध्य भएको तानसेनका स्थानीय शम्भु आचार्यले बताउनुभयो।
पोखरा उपत्यकामा रहेका सिमसार क्षेत्र मानवीय अतिक्रमणको चपेटामा परेका छन्। यस क्षेत्रमा बढ्दो अतिक्रमणले जलचर तथा चराचुरुङ्गीको बासस्थानसमेत हराउन थालेको छ। सिमसार क्षेत्रमा दिनप्रतिदिन घर तथा आवास निर्माण हुँदा चराले खाना पाउने ठाउँ घट्दै जाँदा सिमसार क्षेत्रभित्र चराका खाना अतिक्रमणमा परेका छन्।
पूर्वी नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिकाको दुम्किबास क्षेत्रमा अस्पताल नहुँदा स्थानीय समस्यामा परेका छन्। करिब ४० हजार सर्वसाधारणको बसोबास रहेको विनयी त्रिवेणीमा सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ। समयमै अस्पताल बन्न नसक्दा आफूहरूलाई समस्या भएको स्थानीय सौरभ गिरीले बताउनुभयो। यहाँका वृद्ध, अशक्त बिरामी तथा सुत्केरीले अस्पतालको भरपर्दो सुविधा लिन ६० किलोमिटर पूर्वको भरतपुर वा त्यति नै दूरी पश्चिमको बुटवल पुग्नुपर्ने अवस्था रहेको छ।
प्रत्येक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘आजको आवश्यकता' सिमसार क्षेत्रको पुनः स्थापना’ सङ्कल्पका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य छन्। विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बत्ती बाल्दै आएका स्थानीयले गत मङ्सिर २७ गतेदेखि अन्धकारमा बस्नुपरेको हो। सहकारी संस्थाले बिजुलीको बक्यौता रकम चुक्ता नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा–११ को हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा बत्ती काटेको हो।
कुनै दिन पाँच मोहोर जुँगा भत्ता पाउनु हुने दोलखाका एक ज्येष्ठ जनले नौ दशक पार गर्दा पनि आफ्नो जुँगा जोगाएरै राख्नु भएको छ ।
सिरहा–४ बाट प्रतिनिधि सभा सदस्य हेमनारायण यादवको हत्या भएको उन्नाइस वर्ष बित्न लाग्दा पनि हत्याका अभियुक्त पक्राउ परेका छैनन्। २०६० माघ १९ गते सोमबार सांसद यादवको हत्या भएको थियो। हत्याको अर्को वर्षदेखि उहाँको सम्झनामा स्मृति सभाको आयोजना गर्दै उहाँको परिवारजन र नेकपा (एमाले)का जिल्लास्तरीय नेताहरूले कारबाहीको माग गर्दै आइरेका छन्।
धनुषाको ढल्केबरमा रहेको कृषि बजार व्यवस्थापन समितिले किसान तथा व्यापारीका लागि कर छुटसहित विभिन्न सेवा सुविधा उपलब्ध गराएपछि बजारमा क्रेता र बिक्रेताको सङ्ख्या बढेको छ । बजार व्यवस्थापन समितिले बिक्री तथा निकासी करमा छुट, व्यापारीलाई तरकारी खरिद गर्न रकम सापटी, बासको व्यवस्था, भ्रमण र किसानलाई पुरस्कृत तथा कृषि तालिमजस्ता सुविधा उपलब्ध गराउने थालेको हो ।
दाङको घोराहीमा करिब तीन करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम शर्माले घोराही उपमहानगरपालिका–१६, रावत गाउँमा साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । मेलिना मल्टिपल प्रालिका नाममा स्थापना भएको सो उद्योगले ‘स्मृति’ ब्रान्डमा लुगा धुने साबुन बजारमा ल्याएको छ । लामो समय वैदेशिक रोजगारीका क्रममा साउदी अरेयिबा र दुबईमा करिब सात वर्ष बिताउनुभएका शर्माले साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।
सनुसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्था लि.मा अनियमितता भएको भन्दै स्थानीयले सञ्चालक समितिका सबै सदस्यको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। हरिनगर–२, रामनगर, भुटाहामा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्थामा करोडौँको अनियमितता भएको भन्दै स्थानीयले सञ्चालक समितिका सबै पदाधिकारीसहित सदस्यको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन्। हरिनगरमा नाम चलेको सहकारी भए पनि सहकारीको ऐन, नियमावली र कानुन विपरीत अनियमितता गरेको आरोप छ।
गाईघाट–दिक्तेल सडक कालोपत्रे गर्ने कामले गति लिने भएको छ। ठेक्का लिएर वर्षौसम्म काम ओगट्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने आयोजना कार्यालयको निर्णयलाई अदालतले अन्तरिम आदेश गरेपछि कामले गति लिने भएको हो।
सिन्धुलीको दुधौली नगरपालिकाले कमला नदीमा विषादी प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जरिवानाको व्यवस्था गरेको छ । पछिल्लो समयमा नदीमा विषादीको प्रयोग बढ्दै गएको छ । यसको अन्त्य गर्न विषादी प्रयोग गरी माछा मारेको पाइएमा सात हजार पाँच सय रुपियाँसम्म जरिवाना र प्रचलित कानुनअनुसार कारबाहीको व्यवस्था गरेको दुधौली नगरपालिकाले जनाएको छ ।
छोराछोरीप्रति हुने विभेद अन्त्य गर्न भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । छोरी जन्माउने आमालाई पालिकाले प्रोत्साहनस्वरूप नगद तीन हजार रुपियाँ प्रदान गर्न थालेको हो । प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप तीन हजार रुपियाँ प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी भएमा तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप उक्त रकम दिने उहाँले बताउनुभयो ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले उच्च शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाएको छ । आर्थिक अभावका कारण बीचमै पढाइ छोड्ने दर घटाउन र शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले गाउँपालिकाले निःशुल्क शिक्षासम्बन्धी कार्यविधि २०७९ बनाएर शिक्षालाई निःशुल्क बनाएको हो । गाउँपालिकाभित्र ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीका लागि मासिक पाँच सय र क्याम्पसका लागि मासिक सात सय रुपियाँका दरले रकम उपलब्ध गराउन थालेपछि गाउँपालिकाभित्र ६७५ जना विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाएका हुन् ।