सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, माघ २० गते । छोराछोरीप्रति हुने विभेद अन्त्य गर्न भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
छोरी जन्माउने आमालाई पालिकाले प्रोत्साहनस्वरूप नगद तीन हजार रुपियाँ प्रदान गर्न थालेको हो । प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप तीन हजार रुपियाँ प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी भएमा तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप उक्त रकम दिने उहाँले बताउनुभयो ।
गर्भ परीक्षणमा छोरी भएको थाहा भए गर्भपतन गराउने गलत प्रवृत्ति अन्त्य गर्न ‘छोरी सम्मान’ कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको भन्दै सापकोटाले छोरीलाई छोरासरह समाजमा स्थापित र सम्मान प्रदान गर्ने बताउनुभयो ।