• ९ पुस २०८२, बुधबार

पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाइयो

blog

रमेश लेखक

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ९ गते । जेनजी आन्दोलन घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । 

आयोगले लेखकलाई सात दिनभित्रमा उपस्थित हुन पत्र पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो । गत भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री हुनुहुन्थ्यो । जेनजी प्रदर्शनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उहाँले सोही दिन गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो । यसअघि जाँचबुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्य सचिव, गृहसचिव, सुरक्षा निकायका प्रमुखलगायत एक सय जनाभन्दा बढीसँग सोधपुछ तथा बयान लिइसकेको छ । 

स्थानहद फुकुवा 

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वप्रहरी प्रमुख चन्द्रकुबेर खापुङ र सहसचिव छविलाल रिजालमाथि लगाएको स्थानहद फुकुवा गरेको छ । आयोगका उपसचिव कमलराज पाण्डेका अनुसार भदौ २३ र २४ गतेको घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि लगाइएको  दुवाडी, खापुङ र रिजालमाथिको स्थानहद र विदेश भ्रमण मङ्गलबारदेखि फुकुवा गर्ने निर्णय भएको हो । उहाँहरूमाथि आयोगले विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न रोक लगाएको थियो । आयोगले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, “पूर्वनिर्णयउपरको कार्य सम्पन्न भइसकेकाले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय अनुसार अनुरोध छ ।”