• २१ वैशाख २०८१, शुक्रबार

औपचारिकतामा मात्र सीमित सिमसार दिवस

blog

जगदीशपुर तालमा परेवा उडाएर सिमसार दिवसको उद्घाटन गरिँदै । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, माघ २० गते । प्रत्येक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘आजको आवश्यकता' सिमसार क्षेत्रको पुनः स्थापना’ सङ्कल्पका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । हरेक वर्ष कपिलवस्तुको जगदीशपुर तालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइए पनि यस वर्ष औपचारिकतामा मात्र सीमित भएको छ । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको देखिन्छ । 

सिमसार पानी र जमिन मिश्रित दलदल भू–भाग हो । जुन बाह्रै महिना ओसिलो र धापिलो हुन्छ । यस्ता सिमसार क्षेत्रहरू दुर्लभ चरा–चुरुङ्गीको पनि मुख्य वासस्थान मानिन्छ । जगदीशपुर ताल सिमसार क्षेत्रमा बच्चा कोरल्न रुसको साइबेरिया लगायतका देशबाट चराहरू आइपुग्ने गरेका छन् । यसबाहेक सिमसारले बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ ।

विगतको वर्षहरूमा सिमसार दिवस मनाउन जगदीशपुर तालमा भरिभराउ मनिसको उपस्थितमा दिवस मनाए पनि यस वर्ष खल्लो पन महसुस भएको बहु सरोकार मञ्चका अध्यक्ष अब्दुल रसिद खाँले बताउनुभयो । उहाँले भन्नुभयो “विगत बर्सहरूमा यहाँ निबन्ध, दौड प्रतियोगिता लगायतको कार्यक्रम हुन्थ्यो र हामीलाई कुर्सी हेर्ने पर्दैनथ्यो कि कुर्सी भर्यो कि भरेन् ।”

सिमसार क्षेत्रहरू संसार भरि नै समस्यामा परेको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुबेदीले बताउनुभयो । समस्या भनेको सिमसार क्षेत्रको अतिक्रमण हुने, सुक्ने, फोहोर फाल्ने र मिचाहा प्रजातिका वनस्पतिहरू आउने कारणले गर्दा सिमसारहरू हराएर जाने अवस्था आएको उहाँले बताउनुभयो । त्यस कारण सिमसार क्षेत्रहरू जोगाउने उद्देश्यले सिमसार दिवस मनाउन लागिएको प्रमुख सुवेदीले बताउनुभयो । 

नेपालमा ठुला–साना गरी झन्डै ४ हजार सिमसार क्षेत्र छन् । विश्व रामसार सूचीमा नेपालका १० वटा सिमसार क्षेत्र दर्ता भएका छन् । जसमध्ये कपिलवस्तुको जगदीशपुर ताल पनि पर्दछ ।

सिमसार दिवस मनाइयो 

कपिलवस्तुको जगदीशपुर तालमा २७ औँ सिमसार दिवस मनाइएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु पन्थी, जिल्ला समन्वय समितिका सभापति बाबुराम आचार्य र डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजय राज सुबेदीले परेवा उडाएर कार्यक्रमको उद्घाटन गरेका थिए । चराहरूको बासस्थानका रुपमा परिचित जगदीशपुर तालमा मानवीय गतिविधिलाई कम गर्नु पर्ने कार्यक्रमका सहभागी बक्तहरुले जोड दिएका थिए ।

१ सय ५७ हेक्टर क्षेत्रफलमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । सिँचाइ प्रयोजनका लागि २०४५ सालतिर बनाइएको हो । यो तालबाट कपिलवस्तुको कुल ६२०० हेक्टर खेतीयोग्य जमिन सिञ्चित गर्न पानी आपूर्ति हुने गर्दछ ।