• २६ वैशाख २०८२, शुक्रबार

रेसुङ्गाबाट हप्तामा तीन दिन उडान हुने

blog

रेसुङ्गा विमानस्थलमा नेपाल एयरलायन्सको जहाजले यात्रु ओराल्दै ।

टोपलाल अर्याल

रेसुङ्गा, वैशाख २६ गते । गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुन : सातामा तीन दिन उडान हुने भएको छ । रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाका अनुसार आइतबार, मङ्गलबार र बिहीबार उडान हुने छ।

नेपाल एयरलाइन्सको हरेक उडानमा यात्रुको चाप भए पनि जहाज अभाव र मौसम लगायतको कारण सेवा नियमित हुन सकेको छैन । जसका कारण एयरलाइन्सप्रति नागरिक विश्वसस्त छैनन् । यद्यपी उडान थप भएपछि स्थानीयमा खुसीयाली छाएको छ । 

जहाज मर्मतका कारण साढे तीन महिना रेसुङ्गा विमानस्थलको हवाई उडान अबरुद्ध भएको थियो । त्यसपछि चैतबाट सुरु भएको उडानमा अहिलेसम्म चार उडान भएको विमानस्थल प्रमुख थापाले बताउनुभयो । रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्स उडान गर्दै आएको छ । रेसुङ्गा नगरपालिका–८ का वलबहादुर घर्तिले धेरै पटक धोका पाएकाले तीन दिन उडान हुनेमा आफु ढुक्क नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो कुरा आम नागरिकले टिकट पाइँदैन । अर्को कुरा दैनिक उडान भने पनि ढुक्क नभएपछि विश्वास गर्न सक्ने अवस्था छैन ।’ 

बिहान ६:१५ मा काठमाडाैँबाट र ७:१५ मा रेसुङ्गा विमानस्थलबाट उडान हुने विमानस्थल प्रमुख थापाले बताउनुभयो । गुल्मीको सिमीचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा ०७५ साल जेठ २५ गते तारा एयरको जहाजले कच्ची धावनमार्गमा सफलतापूर्वक धुले उडान गरेको थियो । 

तारा एयरकै जहाजले ०७९ पुस २४ गते ‘प्रुभिङ फ्लाइट’ गरेको हो । ०८० वैशाख १५ गतेबाट नेपाल एयरलायन्सको जहाजले परिक्षण उडान गर्‍यो । काठमाडौं–सिमीचौर करिब ५० मिनेटको उडानमा हुने गरेको छ । काठमाडौँबाट रेसुङ्गा सात हजार ५०० रुपियाँ र रेसुङ्गा विमानस्थलबाट काठमाडाैँ सात हजार ३०० रुपियाँ हवाई भाडा रहेको एयरलाइन्सले जनाएको छ ।