गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २ गते । सार्वजनिक यातायात क्षेत्रको नियमन प्रभावकारी नहुँदा यातायातका उपभोक्ताको अधिकार कुण्ठित हुन पुगेको उपभोक्ता अधिकारवादी संस्थाको निष्कर्ष छ । मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा यातायात क्षेत्रका उपभोक्ताको समस्या र उनीहरूको अधिकारबारे सार्वजनिक बहससमेत हुन सकेन ।
“यातायात क्षेत्रमा उपभोक्ता ठगिनु मात्रै होइन, ज्यानै गुमाउनु परेका घटना बढिरहेका छन्,” उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले भन्नुभयो, “हिजो मात्र गोरखाको मनकामना क्षेत्रमा सवारी दुर्घटना भएको छ । दैनिक दुर्घटना भइरहेका छन् तर यसलाई उपभोक्ताको अधिकारको कोणबाट हेरेर छानबिन र न्याय हुन सकिरहेको छैन ।”
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अनुसार यातायातका क्षेत्रका उपभोक्ताले अकालमै ज्यान गुमाउनु परेको छ । यात्रु भाडादरमा मनलाग्दी छ । गन्तव्यमा पुग्ने समयको कुनै टुङ्गो छैन । जति यात्रु राखे पनि हुने अवस्था छ । सुरक्षित यात्रा सुनिश्चित छैन ।
बानियाँले भन्नुभयो, “यातायात क्षेत्रमा उपभोक्ताको अधिकार हनन अत्यधिक छ । यातायात क्षेत्रको समग्र सुधार हुनु पर्छ । यसलाई प्रविधिमैत्री बनाउनु पर्छ । सडकको विकासले पनि प्रभाव पार्ने भएकाले नियमनकारी निकाय पनि सक्रिय हुनु पर्छ ।”
मञ्चले आइतबार विज्ञप्ति जारी गरी स्वच्छ बजार, उपभोक्ता हित संरक्षण र सुशासनका लागि नियमनकारी निकाय नै सक्रिय हुनुपर्ने जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५, उपभोक्ता अदालत, उपभोक्ता संरक्षण परिषद्, केन्द्रीय अनुगमन समिति, प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण बोर्ड, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग, प्रदेश उपभोक्ता हित संरक्षण निर्देशनालय, जिल्ला अनुगमन समिति जस्ता निकायको प्रभावकारिता बढाउन मञ्चले माग गरेको छ ।
उपभोक्ता हित संरक्षणका लागि स्वच्छ प्रतिस्पर्धी बजार व्यवस्था र व्यवसायमा उपभोक्ता मानव अधिकारको संरक्षण महत्वपूर्ण विषय भए पनि यातायात क्षेत्रमा प्रभावकारिता नदेखिएको मञ्चले जनाएको छ तर यातायात व्यवसायी भने आफूहरूको तर्फबाट सेवाग्राहीलाई असुविधा पर्ने गरी काम नगरिएको दाबी गर्छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “हामीले सार्वजनिक यातायात प्रविधिमैत्री बनाइरहेका छौँ । गाडीमै सिसी क्यामेरादेखि इन्टरनेटको सुविधा आइसकेको छ । अनलाइनमै टिकट काट्न सकिन्छ वा काउन्टरबाटै टिकट काट्दा उपभोक्ता ठगिने सम्भावना हुँदैन ।”
विश्व उपभोक्ता दिवसको यस वर्षको राष्ट्रिय नारा ‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता, जिम्मेवार प्रशासन’ रहेको छ । जुन नेपाली बजारको वर्तमान अवस्थामा थप सान्दर्भिक रहेको मञ्चले जनाएको छ । उपभोक्तालाई आफ्ना अधिकारबारे सुसूचित गराउन, बजारमा हुने ठगी न्यूनीकरण गर्न र उपभोक्ता संरक्षणका लागि आवाज उठाउन सन् १९६२ मार्च १५ देखि विश्व उपभोक्ता दिवस मनाउन थालिएको हो ।