• २ वैशाख २०८३, बुधबार

नारायणगढ–बुटवल सडक खण्डमा मार्किङ गरिँदै

blog

कावासोती क्षेत्रमा सडक मार्किङ गरिँदै । तस्बिरः ज्ञानु पङ्गेनी

ज्ञानु पङ्गेनी

मध्यविन्दु, वैशाख २ गते । नारायणगढ–बुटवल सडक खण्डमा अहिले तीव्र गतिमा सडक मार्किङ (सङ्केत चिन्ह)को काम भइरहेको छ ।

अन्तिम चरणको कालोपत्रे सम्पन्न भएको स्थानहरूमा अहिले सडकमा सेतो तथा पहेँलो रेखा कोर्ने, लेन छुट्याउने लगायतका काम धमाधम अगाडि बढाइएको छ । नारायणगढदेखि चोरमारासम्मको खण्डमा अन्तिम चरणको कालोपत्रे सम्पन्न भइसकेकाले सो क्षेत्रमा मार्किङको काम अघि बढाइएको सडक निर्माण योजनाका पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

सूचना अधिकारी खनालका अनुसार चोरमारादेखि दाउन्नेसम्मको खण्डमा अझै अन्तिम चरणको कालोपत्रे हुन बाँकी रहेकाले त्यस क्षेत्रमा मार्किङको काम पछि गरिने बताइएको छ ।

हाल चोरमारादेखि नारायणगढसम्मको अधिकांश स्थानमा मार्किङको काम सम्पन्न भइसकेको छ । केही बाँकी खण्डहरूमा पनि काम जारी छ । सडक विस्तार तथा स्तरोन्नति सम्पन्न भएसँगै अब मार्किङले सडकलाई व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

सडकमा सङ्केत चिन्ह नहुँदा दुर्घटनाको जोखिम निम्तिएको थियो । मार्किङको काम सम्पन्न भएपछि दुर्घटनामा पनि कमि आउने अपेक्षा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाले बताउनुभयो । 

सडक मार्किङको मुख्य उद्देश्य सवारी साधनलाई सही लेनमा सञ्चालन गराउनु, दुर्घटना न्यूनीकरण गर्नु तथा चालकलाई स्पष्ट निर्देशन दिने भएकाले दुर्घटनाको जोखिम कम हुने बर्तौलाको भनाइ छ । विशेषगरी रातको समयमा वा खराब मौसममा सडक चिन्हहरूले चालकलाई मार्गदर्शन गर्ने भएकाले यसको महत्त्व रहेको उहाँ बताउनुहुन्छ । 

लेन विभाजन, ओभरटेक गर्ने स्थान, रोकिने स्थान तथा पैदलयात्री पार गर्ने क्षेत्र स्पष्ट देखिने हुँदा सवारी आवागमन सहज र सुरक्षित हुने उहाँ बताउनुहुन्छ । सडकमा मार्किङको काम सम्पन्न भएपछि सडकको सौन्दर्य पनि बढेको यहाँका स्थानीयले बताएका छन् । मार्किङ भएको सडक देख्दा आधुनिक सडकको अनुभूति हुने गरेको कावासोतीका गणेश रिजालले बताउनुभयो ।