गजेन्द्र गुरुङ
खजुरा, चैत २ गते । गत फागुन २८ गतेदेखि कोहलपुरमा सञ्चालन भएको ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
सोमबार भएको फाइनल खेलमा न्यू होराइजन स्पोर्ट्स क्लबलाई सुपरओभरमा हराउँदै युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसि)ले प्रतियोगिताको उपाधि उचालेको हो ।
न्यू होराइजन स्पोर्ट्स क्लबले टस जितेर पहिला बलिङ रोजेको थियो । पहिला ब्याटिङको निम्तो पाएको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३६ रन बनाएको थियो ।
टिमका लागि दिपेन्द्रसिंह ऐरीले ४२ बलमा सर्वाधिक ६९ रन बनाउनुभएको थियो । यस्तै विपिन शाहीले २४ बलमा १८ रन र अर्जुन साउदले १५ बलमा १६ रन बनाउनुभएको थियो । अन्य ब्याटहरुले भने दोहोरो अंक जोड्न सक्नुभएन ।
बलिङतर्फ न्यू होराइजनका लागि प्रेम गुप्ताले ४ ओभरमा ११ रन मात्रै खर्चेर सर्वाधिक ५ विकेट लिनुभयो । यस्तै निस्चल ज्ञवालीले २ विकेट लिनुभयो भने प्रिन्स पाल, मोहम्मद हुसेन र अमर मिश्रले १/१ विकेट लिनुभएको थियो ।
न्यू होराइजनले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले १९.३ ओभरमा १ सय ३६ रन बनाउँदै अलआउट हुँदा खेल सुपरओभरमा पुग्यो । टिमका लागि मोहम्मद हुसेनले १२ बलमा २९ रन र अमर मिश्रले २६ बलमा सर्वाधिक २९ रन बनाउनुभएको थियो ।
सुपरओभरमा पहिला ब्याटिङ गरेको न्यू होराइजन स्पोर्ट्स क्लबले निर्धारित १ ओभरमा दुई विकेट गुमाउँदै ६ रन बनाएको थियो । टिमका लागि अमर मिश्रले ३ रन बनाउनुभयो भने सन्दिप मौर्याले एक रन बनाएर आउट हुनुभयो ।
न्यू होराइजनले दिएको ७ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले ०.४ ओभरमा ७ रन बनाउँदै सहज १० विकेटको जित हासिल गरेको हो ।
टिमका लागि दिपेन्द्रसिंह ऐरीले ३ रन र आदिल आलमले अविजित २ रन बनाएर उपाधि आफ्नो पक्षमा पार्नुभयो । योसँगै उपाधि विजेता युभिसिसिले नगद ४ लाख र उपविजेता न्यू होराइजनले नगद २ लाख पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा न्यू होराइजन स्पोर्ट्स क्लबका अमर मिश्र १ सय ६५ रन र ६ विकट लिँदै उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले बिबि साइकल स्टोरको तर्फबाट साइकल र नगद १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।
यस्तै न्यू होराइजनका आरिफ खान भने १ सय ७१ रन बनाउँदै उत्कृष्ट ब्याटर बन्नुभयो भने युभिसिसिका सन्तोष यादवले ८ विकट लिँदै उत्कृष्ट बलरका रुपमा घोषित हुनुभयो । उहाँहरु दुवै जनाले नगर १०/१० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित कोहलपुर क्रिकेट रङ्गशालामा फागुन २८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको संरक्षक कोहलपुर नगरपालिका रहेको थियो ।
बाँके जिल्ला क्रिकेट सङ्घको समन्वय र कोहलपुर क्रिकेट स्पोर्ट्स एकेडेमी कोहलपुरको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । विभिन्न ६ वटा टिम समावेश रहेको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।