शंकर केसी
सल्यान, वैशाख ३ गते । सल्यान प्रहरीले एक महिनाको अवधिमा भएका अपराध नियन्त्रण, फैसला कार्यान्वयन र प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रण कार्यको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले बुधबार चैत महिनाको मासिक प्रगति विवरण पत्रकारमार्फत सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले एक महिनाको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै चैत महिनामा जिल्लामा कुल १५ वटा नयाँ मुद्दा दर्ता भएको बताउनुभयो ।
तीमध्ये कर्तव्य ज्यान एक, सवारी ज्यान एक, बैंकिङ कसूर तीन र लागूऔषधसम्बन्धी एक मुद्दा रहेका छन् । यस अवधिमा दर्ता भएका तथा पुराना गरी १९ वटा मुद्दा फर्छ्यौट गरिएको छ । विभिन्न अपराधमा संलग्न १५ जनालाई पक्राउ गरिएको छ भने फरार रहेका तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
फैसला कार्यान्वयनतर्फ अदालतबाट दोषी ठहर भई फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरी १५ वर्ष १५ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने चार लाख ८३ हजार १२० रुपियाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक भट्टराईका अनुसार ट्राफिक व्यवस्थापन तर्फ २८६ सवारी साधनलाई कारबाही गर्दा २ लाख ६१ हजार रुपियाँ राजस्व संकलन भएको छ । प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणमा पनि प्रहरीले कडाइ गरेको छ । कपुरकोट, कालिमाटी र श्रीनगर क्षेत्रबाट विभिन्न प्रजातिका २४७.२४ क्युफिट काठसहित तीन वटा सवारी साधन नियन्त्रणमा लिई डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ । यसबाट एक लाख ९७ हजार ५०० रुपियाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । यस्तै अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र ओसारपसारमा संलग्न २५ वटा ट्याक्टर नियन्त्रणमा लिई सम्बन्धित पालिकामा बुझाइएको र जसबाट ७३ हजार ९० रुपियाँ जरिवाना सङ्कलन गरिएको छ ।
विपद व्यवस्थापनतर्फ चैत महिनामा ८ वटा घटना दर्ता भएका छन् । ती घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् भने आगलागी र चट्याङका कारण करिब १२ लाख रुपियाँ बराबरको क्षति भएको छ । अवैध हातहतियार नियन्त्रण अभियानअन्तर्गत त्रिवेणी गाउँपालिकाको रानी सामुदायिक वन क्षेत्रबाट ६ थान वेवारिसे भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैबिच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्लाभर ७५ वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । आत्महत्या, बालविवाह, लागूऔषध र साइबर अपराधसम्बन्धी कार्यक्रममार्फत दुई हजार ८४६ जनालाई सचेत बनाइएको छ ।
जिल्लाको शान्ति सुरक्षालाई सुदृढ बनाउन महिनाभर ११ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको र तीन हजार चार सयभन्दा बढी गस्ती टोली खटाइएको प्रहरीले जनाएको छ ।