• ३ वैशाख २०८३, बिहिबार

तनहुँबाट एसइईको नतिजाका लागि प्राप्ताङ्क भक्तपुर पठाइयो

blog

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँको कार्यालय भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख २ गते ।
तनहुँमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनको बाटो खुलेको छ । जिल्लाका २२ वटै परीक्षा केन्द्रमा तोकिएको समयसीमाभित्रै उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजाका लागि आवश्यक प्राप्ताङ्कहरू परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुर पठाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार, सरकारले लिएको ‘छिटो नतिजा प्रकाशन’ गर्ने कार्ययोजनालाई आत्मसाथ गर्दै इकाइले परीक्षणको कामलाई तीव्रता दिएको हो । प्रमुख श्रेष्ठले भन्नुभयो, “परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने सरकारी नीतिलाई हामीले कडाइका साथ कार्यान्वयन गरेका छौँ । तोकिएको समयमै काम सम्पन्न गरी विद्यार्थीको नतिजा छिटो प्रकाशन गर्ने लक्ष्यका साथ सबै प्राप्तांकहरू हामीले केन्द्रमा पठाइसकेका छौँ । यतिबेला उत्तरपुस्तिका सुरक्षित तवरले पठाउने थप तयारी अन्तिम चरणमा पुगेको छ ।”

परीक्षालाई मर्यादित, विश्वसनीय र पारदर्शी बनाउन यस वर्ष विषयगत शिक्षक र सम्परीक्षकहरूलाई परिचालन गरी ‘रि–चेकिङ’ (पुनः परीक्षण) प्रक्रियालाई विशेष प्राथमिकता दिइएको थियो । इकाइका सूचना अधिकारी भरत बरालले विद्यार्थीले वर्षभरि गरेको मेहनतको सही मूल्याङ्कन होस् भन्ने उद्देश्यले शान्त र अनुशासित वातावरणमा परीक्षण कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, परीक्षण प्रक्रियामा अपनाइएको उच्च सावधानीले एसइईको नतिजा अझै विश्वसनीय हुने अपेक्षा गरिएको छ ।

यस वर्ष तनहुँका २२ वटा परीक्षा केन्द्रमा ६ हजार १५५ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए । जसमा नियमिततर्फ चार हजार ९४० र ग्रेडवृद्धितर्फ एक हजार २१५ जना परीक्षार्थी रहेका थिए । जिल्लाका १७४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका परीक्षार्थीका लागि यो परीक्षा सञ्चालन गरिएको थियो । समयबद्ध कार्यसम्पादनका कारण यस वर्ष नतिजा प्रकाशनमा सहजता आउने विश्वास इकाइले लिएको छ ।