काठमाडौँ, वैशाख ३ गते । काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको उद्धार र व्यवस्थापन कार्यलाई तीव्रता दिएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पशुपति क्षेत्रलगायत विभिन्न स्थानमा पुगेर सडकमा रहेका नागरिकहरूको उद्धार कार्यको नेतृत्व गरिरहनुभएको छ। महानगरले उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रममा नराखी पहिले ‘स्क्रिनिङ सेन्टर’मा लैजाने र उनीहरूको आवश्यकता अनुसार वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ।
पशुपति क्षेत्रमा सडक मानवको सङ्ख्या उल्लेख्य रहेकाले उनीहरूको सहज व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा सोही क्षेत्रमा ‘डेडिकेटेड स्क्रिनिङ सेन्टर’ स्थापना गर्ने सहमति भएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिनुभयो। उद्धार गरिएका व्यक्तिहरूमध्ये परिवार भएका व्यक्तिलाई पुनर्मिलन गराइने, शारीरिक रूपमा अशक्तलाई अस्पतालमा पठाइने र मानसिक स्वास्थ्य समस्या भएकालाई विशेष उपचार केन्द्रमा पठाइने महानगरको योजना छ। जसको कोही पनि छैन र साँच्चिकै सहारा आवश्यक छ, उनीहरूलाई मात्र मानव सेवा आश्रममा स्थानान्तरण गरिने छ। उद्धार गरिएका कतिपय व्यक्तिहरू पुनः सडकमा फर्किनुको मुख्य कारण व्यवहारगत समस्या रहेको डङ्गोलले औँल्याउनुभयो।
“पशुपति विकास कोषसँग फिल्ड भिजिट गरेर स्क्रिनिङ सेन्टरका लागि स्थान तय गरिसकेका छौँ। कोषले उक्त स्थानको सरसफाइ सुरु गरिसकेको छ। अब त्यहीँ उद्धार गरिएकालाई राखेर परिवार पुनर्मिलन, उपचार वा आश्रम पठाउने निर्णय लिन सहज हुनेछ। सडकमा बस्दा रक्सी र लागु औषध सजिलै उपलब्ध हुने तथा खुला आकाशमुनिको स्वतन्त्रतामा अभ्यस्त भएकाहरूलाई आश्रमको अनुशासनमा बस्न कठिन हुने गरेको पाइएको छ।,’’ उहाँले भन्नुभयो, ‘‘उनीहरूको व्यवहार परिवर्तनका लागि काउन्सिलिङ र कतिपयलाई पुनःस्थापनाको आवश्यकता देखिएको छ, जसमा हामी काम गरिरहेका छौँ। हाम्रो उद्देश्य भनेको कोही पनि सडकमा बेसहारा भएर कष्टपूर्ण जीवन यापन गर्न नपरोस् भन्ने हो। साँच्चिकै सहयोग चाहिनेहरूका लागि महानगरको ढोका सधैँ खुला छ।”
यो अभियान पशुपतिमा मात्र सीमित नभई कालिमाटी, स्वयम्भू लगायत काठमाडौँका सबै क्षेत्रमा क्रमशः विस्तार गरिने महानगरले जनाएको छ। कार्यवाहक प्रमुख डङ्गोलका अनुसार यो कार्य एक–दुई दिनको मात्र नभई काठमाडौँ महानगरलाई सहयोगापेक्षी मानवमुक्त बनाउने लक्ष्य प्राप्त नहुन्जेल निरन्तर सञ्चालन हुने छ।
पशुपतिनाथ मन्दिर परिसरमा रहेका बेसहारा, अशक्त तथा सडक आश्रित मानवहरूको उद्धार कार्यमा गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा पनि सहभागी हुनुभएको थियो। बुधबार राति महानगरको टोली पशुपतिनाथ मन्दिर परिसरमा पुगेको थियो। काठमाडौं महानगरपालिका र मानव सेवा आश्रमको संयुक्त पहलमा भइरहेको यस अभियानमा सहभागी हुँदै उहाँले सडकमा रहेका व्यक्तिहरूको पीडा सम्बोधन गर्ने दायित्व राज्यको भएको बताउनुभयो। उहाँले बेसहारा नागरिकको अभिभावक राज्य र स्थानीय सरकार हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “दीर्घकालीन योजना र मनोवैज्ञानिक परामर्श (काउन्सिलिङ) आवश्यक छ। शारीरिक घाउभन्दा मनको घाउ गहिरो हुन्छ, त्यसलाई सम्बोधन नगरेसम्म समस्या समाधान हुँदैन।”
उहाँका अनुसार घरपरिवारको नमीठो वातावरणका कारण उत्पन्न मानसिक पीडा, मदिरा तथा लागु औषध प्रयोग, र दीर्घकालीन लतका कारण धेरै व्यक्ति सडकमा पुगेका छन्। मनोवैज्ञानिक काउन्सिलिङ र सही पुनःस्थापना कार्यक्रम बिना समस्या पूर्णरूपमा समाधान नहुने उहाँले बताउनुभयो।
यस अभियानमा महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, मानव सेवा आश्रम, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका निकायको संयुक्त सहभागिता रहेको छ। उद्धार गरिएका व्यक्तिहरूलाई प्रारम्भमा स्क्रिनिङ सेन्टरमा राखी अवस्थाअनुसार परिवार पुनर्मिलन, आश्रम स्थानान्तरण वा उपचारको व्यवस्था गरिने जनाइएको छ।
काठमाडौं महानगरपालिकाका कर्मचारी वसन्त आचार्यका अनुसार यो अभियान निरन्तर रूपमा अघि बढ्नेछ। पशुपति क्षेत्रमा निकट भविष्यमा स्क्रिनिङ सेन्टर सञ्चालनमा आउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो।
स्थानीय र सरोकारवाला निकायको संयुक्त प्रयासले काठमाडौंलाई सहयोगापेक्षी सडक मानवमुक्त सहर बनाउने लक्ष्यमा योगदान पुग्ने विश्वास लिइएको छ।