• ३ वैशाख २०८३, बिहिबार

इनरुवामा तीन दिने अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता तयारी पूरा

blog

कुस्ती प्रतियोगितामा सहभागी खेलाडी । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख ३ गते ।
सुनसरीको इनरुवामा तेस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी पूरा भएको छ। डा. बसन्त स्मृति योग समिति, इनरुवा–२, सुनसरीको आयोजनामा वैशाख ५ देखि ७ गतेसम्म तीनदिने अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगिताको उद्घाटन शनिबार दिउँसो गर्ने तयारी गरिएको छ।

आयोजक समितिका संरक्षक चिनेश्वर मेहताका अनुसार कुस्ती खेलमार्फत इनरुवा तथा सुनसरीलाई देश–विदेशमा परिचित गराउने, खेलाडीबिच आपसी सद्भाव बढाउने तथा शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

उहाँले कुस्तीले मनोरञ्जनसमेत दिने र पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको यो खेललाई नयाँ पुस्तासम्म पुर्‍याउन प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनुभयो।

उद्घाटन शनिबार हुने प्रतियोगिता वैशाख ७ गते सोमबारसम्म सञ्चालन हुने भएकाले दर्शकहरूलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र श्रीलङ्काका गरी ४४ भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। भारतबाट जावेद गनी (कश्मीर), हरिओम बाबा (वाराणसी), लाडी बाबा (हरिद्वार), बाहुबली पञ्जाब टिमसहितका खेलाडी तथा नेपालबाट पारस थापा, वसन्त थापा, सदीप राना, मेवा थापालगायत चर्चित खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

यसअघि पहिलो संस्करण जेल मैदानमा र दोस्रो संस्करण सुनसरी बहुमुखी क्याम्पस, इनरुवा–४ को खेलमैदानमा सम्पन्न भएको थियो।