अमरराज नहर्की
तनहुँ, वैशाख ३ गते । बजेटको अभाव र सरकारी परिपत्रले गर्दा तनहुँ र नवलपुरका २३ वटा खानेपानी योजनाहरू अधुरै रहेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले हेर्दै आएका यी दुवै जिल्लाका महत्वपूर्ण योजनाहरू बजेट निकास हुन नसक्दा बीचैमा रोकिएका हुन् ।
कार्यालयका प्रमुख एवम् सिनियर डिभिजन इन्जिनियर शम्भुराज खनालका अनुसार तनहुँका १४ र नवलपुरका नौ गरी कुल २३ वटा खानेपानी योजनाहरू बजेटको सकसमा परेका हुन् । यी सबै ‘क्रमगत’ (बहुवर्षीय) योजनाहरू हुन् । ती योजनाहरूका लागि बजेट विनियोजन गरिए पनि पछिल्लो समय बजेट अभावका कारण कार्यान्वयन अघि बढ्न सकेको छैन ।
प्रमुख खनालले भन्नुभयो, “गत भदौमा भएको ‘जेनजी’ आन्दोलनपछि सरकारसँग बजेट अभाव हुँदा न्यून बजेट भएका योजनाहरू तत्काल कार्यान्वयन नगर्नु भन्ने परिपत्र आएको छ । जसले गर्दा काम अन्तिम चरणमा पुगेका र भुक्तानी दिनुपर्ने योजनाहरू प्रभावित भएका छन् ।”
उहाँका अनुसार ती योजनाहरूमध्ये प्रत्येकलाई १० देखि ३० लाख रुपियाँसम्म भुक्तानी दिनुपर्ने दायित्व छ । समग्रमा ती योजनाहरू सम्पन्न गर्न करिब पाँच करोड रुपियाँ बजेट अपुग रहेको कार्यालयले जनाएको छ । बजेटको अभावमा काम रोकिएपछि उपभोक्ताहरू स्वच्छ खानेपानीको सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
यसैबिच, कार्यालयले तनहुँ र नवलपुरका विभिन्न लिफ्ट खानेपानी आयोजनाहरूलाई ५८ लाख रुपियाँ विद्युत् महसुल अनुदान उपलब्ध गराएको छ । कार्यालयले चालू आर्थिक वर्षमा एक सय ११ वटा योजनालाई उक्त अनुदान वितरण गरेको हो । ‘लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड, २०७९’ अनुसार उपभोक्ता समितिहरूलाई खपतका आधारमा शतप्रतिशतदेखि १० प्रतिशतसम्म अनुदान प्रदान गरिएको प्रमुख खनालले जानकारी दिनुभयो ।