• ३ वैशाख २०८३, बिहिबार

खत्याडमा इलाका प्रशासन कार्यालय स्थापना

blog

इलाका प्रशासन, नापी र मालपोत कार्यालय उद्घाटन समारोहमा सहभागी स्थानीयवासी। तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, वैशाख ३ गते ।
मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका–७ गम्थामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। जिल्लाको दुर्गम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकाका स्थानीयलाई नागरिकता, जग्गालगायतका विभिन्न सरकारी कामकाज गर्न सहज हुने उद्देश्यले उक्त वडाको गम्थामा कार्यालय स्थापना गरिएको हो।

गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, गाउँपालिका अध्यक्ष अजबहादुर शाही, सुरक्षा निकायका प्रमुख तथा समाजसेवी अनिल बानियाँलगायतको टोलीले कार्यालयको उद्घाटन गरेको खत्याड गाउँपालिकाले जानकारी दिएको छ।

खत्याड गाउँपालिका–३ का स्थानीय रामहरि बुढाका अनुसार नागरिकता तथा जग्गासम्बन्धी कामका लागि यसअघि यहाँका बासिन्दा एक दिन पैदल यात्रा गरी जिल्लाको सदरमुकाम गमगढी जानुपर्ने बाध्यता थियो। उहाँका अनुसार नागरिकता बनाउन जाँदा–आउँदा तथा होटेल खर्चसमेत गरी १० देखि १५ हजार रुपियाँसम्म खर्च हुने गरेको थियो। अब उक्त बाध्यताबाट स्थानीयलाई सहज हुने उहाँले बताउनुभयो।

खत्याड गाउँपालिकाका नागरिकहरूलाई नागरिकतासहितका कामका लागि सदरमुकाम गमगढी जानुपर्ने बाध्यता रहँदै आएको थियो। अब पालिकामै प्रशासनिक कार्यालय स्थापना भएपछि सेवा प्रवाहमा सहज हुने गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताउनुभयो।

तत्कालीन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको पहलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खत्याडमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सरकारले दुर्गम तथा सेवाबाट टाढा रहेका क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले खत्याडमा इलाका प्रशासन कार्यालयसँगै नापी र मालपोत कार्यालयसमेत स्थापना गरेको हो।