मेष
तपाईंका लागि यो वर्ष मध्यम फलदायी रहने छ । वर्षारम्भबाट साढसात शनिदशा प्रारम्भ हुने भएकाले सोचेका योजनामा ढिलासुस्ती गराउने छ । वर्षारम्भमा आँटेका काममा केही बाधाअड्चन आइपरे पनि साउनउप्रान्त बृहस्पतिको अनुकूलताले गर्दा सामाजिक एवं धार्मिक काममा गहिरो अभिरुचि बढेर जाने छ । सो समयभित्रमा कर्मचारी वर्गका लागि मानसम्मानका साथै पदप्रतिष्ठामा समेत वृद्धि गराउने छ । वर्षको उत्तरार्धमा युवकयुवतीका लागि प्रेम मनोरञ्जनका साथै नयाँ दाम्पत्य जीवनको लगनगाँठो जुर्ने योगसमेत रहेको छ । वर्षको मध्यभागमा वैदेशिक यात्रा एवं भ्रमणका अवसर मिल्ने छन् । दाम्पत्य सम्बन्धमा माधुर्यताको आभास हुने छ । पशुपालन एवं कृषिकर्म गर्नेका लागि वर्ष राम्रो देखिन्छ भने व्यापारिक वर्गका लागि समेत अनुकूल रहने छ । स्वास्थ्यस्थिति अनुकूल रहने छ भने पारिवारिक सुख सन्तोषप्रद हुने देखिन्छ ।
वृष
असार मसान्तसम्मका लागि समय अनुकूल रहनाले प्रेमसम्बन्ध गाँसिने, पठनपाठनमा अभिरुचि बढ्नुका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । पारिवारिक भेटघाटका साथै दाम्पत्य सुखसम्बन्ध अनुकूल रहने छ ।
साउनउप्रान्त स्वास्थ्यमा सामान्य झमेला देखा पर्ने योग रहेको छ । साउनउप्रान्त आँटेका काममा ढिलासुस्ती, काममा अपजश, पारिवारिक चिन्ता एवं समस्याले सताउनुका साथै पठनपाठनमा समेत अनावश्यक बाधाअड्चन आइपर्ने देखिन्छ । इष्टमित्र एवं आफन्तसँगको सरसहयोगको अपेक्षा नराख्दा नै राम्रो होला । नयाँ काम एवं आर्थिक लगानी गर्न पनि वर्षको पूर्वार्ध नै राम्रो देखिन्छ । तपाईंका लागि पुस महिनामा हानिनोक्सानी पुग्न सक्ने देखिएकाले सावधानी अपनाउनुपर्नेछ ।
मिथुन
तपाईंका लागि यो वर्षका ग्रहस्थिति मध्यम फलदायी रहेका छन् । असार मसान्तसम्म पठनपाठनमा भन्दा अन्य मनोरञ्जनका विषयमा अभिरुचि रहने छ । साउन २४ गतेसम्म अढैयाशनिका कारण अनावश्यक झमेला, चोटपटकको भय एवं आर्थिक हानिनोक्सानीको सम्भावना देखाउँछ भने वर्षको उत्तरार्धमा घरायसी समस्याबाट छुटकारा मिल्ने, स्वास्थ्य एवं कारोवारमा सुधार हुँदै जानुका साथै पठनपाठनमा समेत अभिरुचि बढेर जाने छ । आर्थिक पक्षका कामबाट सन्तोषप्रद लाभ गराउला । आफन्त एवं इष्टमित्रसँगको भेटघाट एवं रमाइलो यात्राको योगसमेत रहेको छ । सन्तान एवं पारिवारिक सुखसन्तोष अनुकूल रहने छ । युवकयुवतीमा नयाँ प्रेमसम्बन्ध गाँसिने देखिन्छ । ठुलो लगानी एवं लेनदेनसम्बन्धी कारोबारमा भने सतर्कता अपनाउनु पर्ला । तपाईंका लागि भदौ र मङ्सिर महिना शुभ रहेका छन् भने माघ र जेठ महिनामा केही झमेला आइपर्ने छन् ।
कर्कट
वर्षको पूर्वार्धमा यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । आर्थिक पक्ष अनुकूल रहनाले व्यापार व्यवसाय राम्रै रहला । साहस, धैर्य एवं पराक्रम बढेर जाने छ । वर्षको प्रारम्भमा भूमि एवं वाहनको लाभ हुने योग रहेको छ । कर्मचारी वर्गका लागि पदोन्नतिको सम्भावना छ । उत्तरार्धमा पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने, घरायसी समस्याले पिरोल्ने, सन्तानको चिन्ताले सताउनुका साथै आर्थिक हानिनोक्सानीको सम्भावना देखिन्छ । आर्थिक दृष्टिले वैशाख र जेठ महिना राम्रो छ भने फागुन र असार महिना केही प्रतिकूल हुने देखिन्छ ।
सिंह
वर्ष मध्यम फलदायी रहने छ । आँटेताकेका काममा सामान्य बाधाअड्चनका साथै ढिलासुस्ती गराउने देखिन्छ । साउनउप्रान्त आर्थिक पक्षका कामबाट राम्रै लाभ हुने देखिनुका साथै आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । असारउप्रान्त पठनपाठनमा अभिरुचि बढेर जाला । बोलीको प्रभावले महìवपूर्ण काम बन्ने छन् । इष्टमित्र एवं आफन्तको सहयोग राम्रै पाइएला । पारिवारिक सुखसन्तोष अनुकूल रहने छ । भदौउप्रान्त पठनपाठनका साथै धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने छ । तपाईंका लागि जेठ र असार महिना फलदायी देखिन्छन् भने मङ्सिर एवं चैत महिना केही असहज हुने छन् ।
कन्या
नयाँ वर्ष रामो रहेको छ । शारीरिक आरोग्यताका साथै मानसिक चिन्ता हटेर जाने छन् । रोकिएका काम क्रमशः बन्दै जाने छन् । आर्थिक कारोबारमा लाभ हुने छ । पठनपाठनका साथै धर्मकर्ममा समेत अभिरुचि बढेर जाने छ । सकिएको अढैया शनिदशा पुनः साउन २४ गतेबाट मङ्सिर २ गतेसम्म फर्केर आउने भएकाले सो समयमा नयाँ कारोबार एवं लगानी नगर्नु होला साथै सो समयमा आँटेताकेका काममा बाधाअड्चन एवं ढिलासुस्ती समेत गराउने छ । पुनः मङ्सिरउप्रान्त भने समयको अनुकूलताले गर्दा पारिवारिक सुखसन्तोष, आर्थिक लाभ, मनोरञ्जनका साथै आँटेका काममा सफलता मिल्ने छ । घरपरिवारमा धार्मिक कार्यका साथै विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्यको समेत सम्भावना रहेको छ । यात्रा एवं मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।
तुला
साउन २४ सम्मका लागि अढैया शनिदशा प्रारम्भ भएको हुनाले आँटेका काममा अनावश्यक बाधाअड्चनका साथै ढिलासुस्तीसमेत गराउला । नयाँ लगानी एवं ठुलो लेनदेनसम्बन्धी कारोबार गर्नका लागि त्यति राम्रो देखिन्न । अन्य कामको हिसाबले भने वर्ष मध्यम फलदायी रहेको छ । भदौदेखि मङ्सिर २ सम्मका लागि भने अढैयाशनिले छाड्नाले सो समयमा रोकिएका काम बन्ने, आर्थिक लाभ एवं सफलता मिल्ने छ । वर्षको आरम्भ र अन्त्यतिर काममा बाधाअड्चन, स्वास्थ्यमा उतारचढाव एव ढिलासुस्ती गराउने छ । शनिको जपपाठका साथै पिपलमा शनिबार जलार्पण गर्दा राम्रो होला । पठनपाठनमा मन्द प्रगति गराउला । कृषि क्षेत्रका व्यक्तिका लागि भने वर्ष फलदायी रहने छ । कर्मचारी वर्गका लागि खासै सन्तोष मिल्ने देखिन्न । वैदेशिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना बलियो रहेको छ ।
वृश्चिक
सकिएको साढेसात शनिदशा साउन २४ देखि मङ्सिर २ सम्म फर्केर आउनाले सो समयान्तरमा नयाँ कारोबारका साथै ठुलो लगानी नगर्दा बेस हुने छ । त्यसउप्रान्त भने वर्ष शुभाशुभ मिश्रित फलदायी देखिन्छ । दाजुभाइसँगको सम्बन्धमा चिसोपना आउने छ । पठनपाठनमा अभिरुचि बढेर जाने छ । रमाइलो भ्रमण एवं वैदेशिक यात्राको सम्भावना रहेको छ । आर्थिक पक्ष मध्यम हुने छ भने रोकिएका काम क्रमशः बन्दैजाने छन् । वर्षको पूर्वार्धमा धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने, सन्तान एवं पारिवारिक सुख राम्रो मिल्ने छ भने उत्तरार्ध रमाइलो भेटघाट, नयाँ प्रेम सम्बन्ध गाँसिनुका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।
धनु
वर्षभरि नै साढेसात शनिदशा चल्नाले स्वास्थ्यमा उतारचढावको स्थिति उत्पन्न हुने छ । काममा बाधाअड्चन एवं ढिलासुस्ती एवं अपजशसमेत गराउला । वर्षको पूर्वार्धमा पारिवारिक झमेलाले सताउनुका साथै घर जग्गाजमिनसम्बन्धी किचलो निस्कने, अनावश्यक वादविवादमा तान्ने, काममा अपजश आइपर्ने देखिन्छ भने उत्तरार्धमा आर्थिक कारोबारमा सफलता मिल्ने, पठनपाठनका साथै धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने, सन्तान एवं परिवारको सुखसन्तोष मिल्ने, रोकिएका काम बन्दै जानुका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । तपाईंका लागि साउन महिनामा नराम्रा घटना घट्न सक्ने सम्भावना देखिएकाले सावधानी अपनाउनुपर्ने छ ।
मकर
वर्षभरि नै तपाईंका लागि साढेसात शनिदशा रहनाले पारिवारिक झमेला, आर्थिक हानिनोक्सानी, अनावश्यक कलह जस्ता दोष आइपर्ने देखिन्छ । अध्ययन अध्यापनमा केही बाधाअड्चन आइपर्नाले सोचे अनुसारको सफलता नमिल्न पनि सक्छ । वर्षको मध्यभागमा धार्मिक यात्राको सम्भावना रहेको छ भने वर्षारम्भमा स्वास्थ्यमा उतारचढावको स्थिति उत्पन्न हुनुका साथै कामका बाधाअड्चन आइपर्ने, अनावश्यक खर्चको मात्रा बढेर जाने देखिन्छ । तपाईंका लागि असार, मङ्सिर र फागुन महिना विशेष फलदायी रहने छन् भने भदौ र पुस महिना केही प्रतिकूल रहने देखिन्छ ।
कुम्भ
तपाईंका लागि यस वर्षका ग्रहस्थिति मध्यम फलदायी रहेका छन् । वर्षको पूर्वार्धमा स्वास्थ्योपचारमा खर्च गराउने, अध्ययन अध्यापनमा अनावश्यक अवरोध उत्पन्न हुने, घरायसी समस्याले सताउनुका साथै व्यर्थको चिन्ताले समेत पिरोल्ने देखिन्छ । पठनपाठनमा मन्द प्रगतिको योग रहेको छ । वर्षको मध्यभागमा साथीभाइ एवं आफन्तको सहयोग पाइने, गर्न आँटेका काममा भाग्यले राम्रै साथ दिने, यात्रासम्बन्धी अवसर मिल्ने देखिन्छ । आर्थिक दृष्टिले वैशाख, साउन र मङ्सिर महिना फलदायी रहने छन् भने असोज र माघ महिना कठिन हुन सक्ने छन् ।
मीन
यस वर्षमा तपाईंकाे जोश, जाँगर र पराक्रम बढेर जानाले महत्वपूर्ण काममा सफलता मिल्ने छ । नयाँ कामको अवसर मिल्ने, साथीभाइ एवं आफन्तको सहयोगले महìवपूर्ण काम बन्ने, सन्तान एवं दाम्पत्य सुखसम्बन्ध राम्रो भएर जाने छ । धर्मकर्मका साथै पठनपाठनमा समेत अभिरुचि बढेर जाने छ । कर्मचारी वर्गका लागि मानप्रतिष्ठा बढ्नुका साथै पदोन्नतिको सम्भावना रहेको छ । वर्षको उत्तरार्धमा सामान्य आँखा र पेटसम्बन्धी समस्या आइपर्ने देखिएको छ । रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनका अवसर प्रशस्त रहेका छन् । आर्थिक हिसाबले, भदौ र माघ महिना विशेष फलदायी रहने छन् भने कात्तिक र फागुन महिना केही प्रतिकूल रहने छन् ।