जेनेभा, वैशाख २५ गते । संयुक्त राष्ट्रसङ्घसँगका विज्ञहरूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको ‘विनाश’ रोक्ने कार्य गर्न विश्वभरका सदस्य देशहरूलाई आह्वान गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्का विज्ञहरूले नरसंहार अन्त्य गरी प्यालेस्टिनी र इजरायली स्वतन्त्रताको सुनिश्चित गर्न कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
उनीहरूले कठोर निर्णयबाट पछि हटी निर्दोषको हत्या नगरी न्यायपूर्ण समाधानको तयारीमा लाग्न आवाह्न गर्दै विवेक र नैतिकतालाई आत्मसाथ गरे अन्ततः न्याय प्राप्त हुने बताएका छन् ।
प्यालेस्टिनी क्षेत्रहरूमा मानव अधिकारको अवस्थाका बारेमा विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानिजलगायतका विज्ञहरूले चिन्ता व्यक्त गर्दै यो भयाभह दृश्य ‘विश्वले हेरिरहेको’ र सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गरी मानवता विरुद्धको अपराध रोक्न सहयोग गर्ने अपेक्षा गर्नुभएको छ ।
निरन्तरको नरसंहारले इजरायलले गाजामा अनेकौ आक्रमणमा बाँचेका मानिसहरुलाई विस्थापन र दण्डहीनताको साथ नरसंहार गरी जीवनको विनाश जारी राखेको विज्ञहरूले उल्लेख गरेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि बिहिबारसम्म गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५२ हजार ६५३ पुग्नुका साथै एक लाख १८ हजार ८९७ घाइते भएको जनाएको छ । रासस/क्युएनए