• २६ वैशाख २०८२, शुक्रबार

एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु

blog

दशरथचन्द क्रिकेट रङ्गशाला बैतडीको सुन्दरखालीमा स्थित क्रिकेट ग्राउन्ड ।

केशवराज भट्ट

बैतडी, वैशाख २६ गते । एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट २०२५ को बैतडी छनौटको खेल तालिका सार्वजनिक भएको छ । 

शुक्रवारदेखि सुरु हुने प्रतियोगितामा जिल्लाका सात टिमको सहभागिता रहने बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो । टि–२० फरम्याटमा सञ्चालन हुने यो प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा महारुद्र क्रिकेट क्लब, बैतडी क्रिकेट एकेडेमी, दशरथचन्द क्रिकेट एकेडेमी र बैतडी युनाइटेड एकेडेमी छन् ।

समूह बी मा पाटन भ्याली क्रिकेट क्लब, निङ्गलाशैनी क्रिकेट क्लब र पाटन क्रिकेट क्लबलाई राखिएको छ । दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा वैशाख २६ गते शुक्रबार आज हुने उद्धघाटन खेलमा महारुद्र क्रिकेट क्लब र बैतडी क्रिकेट एकेडेमी भिड्ने छन् । वैशाख २७ गते हुने पहिलो खेलमा बैतडी क्रिकेट एकेडेमी र बैतडी युनाइटेड एकेडेमी तथा दोस्रोमा महारुद्र क्रिकेट क्लब र दशरथचन्द क्रिकेट एकेडेमी खेल्नेछन् ।

वैशाख २८ गते महारुद्र क्रिकेट क्लब र बैतडी युनाइटेड एकेडेमी तथा दोस्रोमा पाटन भ्याली र निङ्गलाशैनी आमनेसामने हुनेछन् । वैशाख २९ गते पहिलोमा दशरथचन्द एकेडेमी र बैतडी युनाइटेड तथा दोस्रोमा निङ्गलाशैनी र पाटन क्रिकेट प्रतिस्पर्धा गर्नेछन् ।

वैशाख ३० गते पहिलो खेलमा पाटन क्रिकेट र पाटन भ्याली तथा दोस्रोमा बैतडी क्रिकेट र दशरथचन्द एकेडेमीबिच भिडन्त हुनेछ । प्रतियोगिता अन्तर्गत वैशाख ३१ गते सेमिफाइनलका खेलहरू सञ्चालन हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेता तथा दोस्रोमा समूह बी को विजेता र समूह ए को उपविजेता टोली भिड्नेछन् । फाइनल भिडन्त जेठ १ गते हुनेछ ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।