• २६ वैशाख २०८२, शुक्रबार

एउटै प्रतिष्ठानको पटक पटक शिलान्यास

blog

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन शिलान्यास गर्नुहुँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत । तस्बिर : विनय कर्ण

कल्याणपुर समाचारदाता

कल्याणपुर (सप्तरी), वैशाख २६ गते  । मन्त्रीपरिषद्को बैठकले २०७५ साल पुस १६ गते सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय ग-यो । २०७८ जेठ २१ मा मन्त्रीपरिषद्कै बैठकबाट राजविराज नगरपालिकाले उपलब्ध गराएको वडा नम्बर १० स्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि भाडामा दिने निर्णय भयो ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते काठमाडौँबाटै भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गर्नुभएको थियो । 

प्रधानमन्त्रीबाटै शिलान्यास भएपछि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज राजविराजमा बन्नेमा स्थानीय ढुक्क भए ।  त्यतिबेला पनि प्रधानमन्त्री रहनुभएका ओलीले  प्रतिष्ठान निर्माणले जिल्लाको आर्थिक विकासमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दा सप्तरीवासीमा पनि केही आशा जागेको थियो तर प्रतिष्ठान बन्नु त कता हो कता सोही प्रतिष्ठानको बुधबार पुनः शिलान्यास गरिएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एक कार्यव्रmमकाबिच प्रतिष्ठानको बुधबार पुनः शिलान्यास गर्नुभएको हो । प्रतिष्ठानको शिलान्यासपछि सञ्चारकर्मीलाई प्रतिव्रिmया दिँदै डा. राउतले आफ्नै किसिमको तर्क प्रस्तुत गर्नुभयो । सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका उहाँले प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको भए पनि त्यसको म्याद गुज्रिसकेकाले पुरानोसँग कुनै सरोकार नरहेको बताउनुभयो ।

यसअघिको गठन आदेशको म्याद नै गुज्रिसकेको र यहाँका जनताले आन्दोलन गरेपछि नयाँ गठन आदेश जारी भएर पुनर्गठन भएको हुँदा पुनः शिलान्यास गरिएको उहाँको तर्क छ ।

डा. राउतले भन्नुभयो, “पहिलाको गठन आदेशको म्यादै गुज्रिसकेको थियो, नवीकरण नै गरेन । त्यो शिलान्यासको म्याद हामी निर्वाचन हुनुभन्दा अघि नै गुज्रिसकेको थियो ।” 

प्रतिष्ठानको नयाँ गठन आदेश जारी भएपछि मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकारले भवन निर्माणका लागि चार करोड रुपियाँ बजेटसमेत सुनिश्चित भएर शिलान्यास गरी निर्माण सुरु गरिएको जानकारी दिनुभयो ।