नवीनराज कुइँकेल
लमजुङ, वैशाख २५ गते। कृषि एम्बुलेन्सको व्यवस्था भएपछि गाउँ–घरमा उत्पादन भएका तरकारी सदरमुकाम बेसीसहर झर्न थालेको छ।
बेसीसहर नगरपालिकाले किसानको उत्पादन बजारीकरण गर्न कृषि एम्बुलेन्सको व्यवस्था गरेपछि हरियो तरकारी तथा फलफूल बजार ल्याउन सजिलो भएको हो। तरकारी सङ्कलनका लागि नगरपालिकाले एकता कृषि सहकारी संस्थालाई कृषि एम्बुलेन्स सञ्चालनको जिम्मेवारी दिएको छ। सहकारीले गाउँ गाउँमा पुगेर तरकारी संकलन गरि बजारमा ल्याउने गरेको छ।
सहकारीले गाउँको तरकारी संकलनका लागि रुटिङ (समय तालिका) बनाएको छ। साताव्यापी तालिका तोकेर गाउँको तरकारी ‘किसान घरमा’ ल्याउन सुरु गरेको एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरले बताउनुभयो।
तालिका अनुसार आइतबार बेसीशहर–१ स्थित नयाँगाउँ, धिमिरे, वडा नम्बर–२ को हटिया र भकुण्डेको तरकारी संकलन हुनेछ। सोमबार बेसीशहर–२ को चिसापानी, वडा नम्बर–५ को पुरानोकोट, वडा नम्बर–४ को नाल्मा, वडा नम्बर–३ को गाउँ र रानीकुवाको तरकारी संकलन गरिने छ। त्यसैगरी मंगलबार बडा नम्बर–१० को सालडाँडा, वडा नम्बर ११ को बस्नेत गाउँ, स्याउता, तिलहार, रामचोकबेसी, वडा नम्बर १ को उदिपुरका किसानको तरकारी संकलन गरिने एकता कृषि सहकारी संस्थाले जनाएको छ।
कृषि एम्बुलेन्सले बुधबार वडा नम्बर ९ को बिम्दाबेसी, साम्दी, दिहीथोक, पाखाथोक र बिहीबार वडा नम्बर ७ को वनथोक, वडा नम्बर ६ को मकैडाँडा, सारिङ, भलमशेरा, बेलौती बिसौनाको तरकारी संकलन गरी बजारमा ल्याउने भएको छ। शुक्रबार वडा नम्बर १० को खासुरबेसी, बाँझाखेतबाट तरकारी संकलन हुनेछ भने शनिबार अत्यावश्यक स्थानमा पुग्ने कृषि सहकारी संस्थाका अध्यक्ष घिमिरेले बताउनुभयो।
कृषि एम्बुलेन्स सञ्चालन भएपछि किसानका उत्पादन बजारमा ल्याउन सहज भएको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो। उहाँले किसानले उत्पादन गरेका तरकारीको मुख्य समस्या नै बजारीकरण रहेकाले त्यसको निराकरणमा पालिका लागेको उहाँले बताउनुभयो। स्वामित्व नगरपालिकामै रहनेगरी आगामी असार मसान्तसम्म सञ्चालन तथा व्यवस्थानका लागि एकता कृषि सहकारी संस्थालाई कृषि एम्बुलेन्स प्रदान गरिएको बेसीशहर नगरपालिकाका नगर उपप्रमुख पद्मा गुरुङले जानकारी दिनुभयो।
कृषि एम्बुलेन्सबाट बजार ल्याइएको तरकारी विक्री गर्नका लागि सहकारीले बेसीसहर बजारमा ‘किसान घर’ सञ्चालन गर्दै आएको छ।