गजेन्द्र गुरुङ
खजुरा, वैशाख २६ गते । बाँकेको कोहलपुर नगरपालिकाले गन्धर्व समुदायको संस्कृति बचाउन र प्रवर्धन गर्नका लागि केही दिनअघि कोहलपुर नगरपालिका ११ गन्धर्व टोलका गन्धर्व समुदायका महिलाहरूलाई ६ दिने सारङ्गी बजाउने तालिम प्रदान गर्याे । तालिममा २५ जना गन्धर्व समुदायका महिलाहरूले भाग लिए ।
उक्त तालिम लिएका गन्धर्व महिलाहरू अहिले उत्साहित बनेका छन् । तालिमबाट धेरै कुराहरू सिक्न पाएको भन्दै अझै यस प्रकारका अन्य तालिमहरू पनि सञ्चालन हुनुपर्ने उनीहरूको माग छ । “कोहलपुर नगरपालिकाले हाम्रो समुदायका महिलाहरूलाई लक्षित गरी ६ दिने सारङ्गी बजाउने तालिम दियो, हामी अति खुसी छौँ, तालिमबाट केही न केही सिक्न पायौँ, यो सिकाइले हामीलाई अझैं उत्साहित बनाएको छ ।” रामकुमारी गन्धर्वले भन्नुभयो, “यो तालिम छोटो भयो, अझैं लामो समयको तालिम भएको भए अझै धेरै सिक्न पाइन्थ्यो, अब हामीलाई सारङ्गी बजाउने मात्रै नभएर बनाउने पनि तालिम चाहियो ।”
पछिल्लो समयमा यो संस्कार र संस्कृति हराउँदै गएको र बनाउने सीप त झनै लोप भइसकेको भन्दै उहाँले सारङ्गीसँग आफ्नो इतिहास जोडिएको, पुर्ख्याैली पेसा भएको, जीवनयापन गर्ने माध्यम बन्दै आएको र अब नयाँ पुस्तासम्म यो संस्कृति जोगाइ राख्नका लागि लामो समयसम्मको बजाउने तालिमका साथसाथै बनाउने समेत तालिमको आवश्यकता रहेको बताउनुभयो ।
भीमसरा गायनले अन्य समुदायका महिलाहरूलाई पनि नगरपालिकाले विभिन्न तालिम दिएर सीपयुक्त बनाएको देख्दा आफूमा पनि सारङ्गी बजाउने सीप पूर्णरूपमा सिक्ने अनि समूह बनाएर विभिन्न कार्यक्रमहरूमा गएर आयआर्जन गर्नका लागि उत्साह थपिएको बताउनुभयो ।
“नगरपालिका लगायतका सङ्घसंस्थाहरूले अन्य समुदायका दिदीबहिनीहरूलाई पनि विभिन्न तालिम दिएको छ, कोहलपुरकै विभिन्न वडाहरूमा पञ्चैबाजा बजाउने तालिम दिएको थियो, अहिले त्यो तालिम लिएका दिदीबहिनीहरूले सीप सिकेर समूह बनाउनुभएको छ, विभिन्न कार्यक्रमहरूमा उहाँहरुलाई निमन्त्रणा आउँछ, उहाँहरू बाजा बजाउन जानुहुन्छ र आर्थिक आम्दानीसमेत गरिरहनुभएको छ।” गायनले भन्नुभयो, “हामीलाई पनि त्यस्तै रहर जागेको छ, तर त्यसका लागि अलि लामो तालिम चाहियो, अनिमात्र हामी पनि पूर्णरुपमा सीप सिकेर समूह बनाएर विभिन्न कार्यक्रममा गएर आम्दानी गर्न सक्थ्यौँ।”
तालिम लिनुभएकी अर्की गन्धर्व महिला भवगती गन्धर्वले पुर्ख्याैली पेसालाई निरन्तरता दिनका लागि पनि आफू तालिम लिन गएको बताउनुभयो । “हाम्रो पेसा अहिले सङ्कटमा छ, पछिल्लो पुस्ताले यसबारेमा जानकारी लिनै चाहन्न, सिक्नै चाहन्न, गाउँगाउँ चाहर्नभन्दा बरु कमाइ गर्न कालापहाडतिर जाने गरेका छन्, लोप हुने अवस्थामा पुगेको यो पेसालाई जोगाइराख्न पर्छ भनेर तालिम लिन गएकी हुँ, तालिमले धेरै कुरा सिकायो, बाउबाजेदेखिको पुर्ख्याैली पेसालाई जोगाउन र प्रवर्धन गर्न हामीले पनि केही गर्नुपर्छ, हामी पनि विभिन्न कार्यक्रममा सारङ्गी बजाएर आयआर्जन गर्न सकिन्छ कि भन्ने आशा पलाएको छ,” गायनले भन्नुभयो ।
वडा नम्बर ११ लगायत वडा नम्बर २, ३, ५, १२, १३ लगायतका वडाहरूमा दैलेख, सुर्खेत, दाङ, सल्यान लगायतका पहाडि जिल्लाबाट बसाइँसराइ गरेर आएका गन्धर्व समुदायको बस्ती रहेको छ । वडा नम्बर ११ गन्धर्व टोलमा २२ घरपरिवार गन्धर्व समुदायको बसोबास रहेको छ ।
बस्ने घर कोहलपुर नगरपालिका र विभिन्न सङ्घसंस्थाले बनाइदिएपनि अन्न उब्जाउने जग्गाजमिन नहुँदा उमेर पुगेका उक्त समुदायका युवाहरू कमाइ गर्न कालापहाड (भारत) तिर जाने गरेका छन् । गन्धर्व समुदायले आफ्ना बालबालिकालाई विदेश जानबाट रोकेर एकघर एक रोजगारको व्यवस्था गरिदिन समेत आग्रह गरेका छन् ।