चितवन, असार १ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड रुपियाँको बजेट ल्याएको छ । आइतबार साँझ अबेर ९ बजे बागमती प्रदेश सभामा बजेट प्रस्तुत गरेको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँको बजेट ल्याउनु भएको हो ।
प्रदेश सरकारले गत चालु आर्थिक वर्षको भन्दा ३ अर्ब वृद्धि गरेर २०८२–८३ का लागि ६७ अर्वको बजेट ल्याएको हो । चालू आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड बजेट सरकारले ल्याएको थियो ।
आगामी वर्षको लागि चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार विनियोजन गरिएको छ । पुजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ । चालुतर्फ ३८.०६ प्रतिशत र पुँजीगततर्फ ६१.०४ प्रतिशत छुट्याइएको छ । खर्च व्यवहोर्न कर राजस्व २८ अर्ब ८७ करोड ८२ लाख उठाउने लक्ष्य लिएको छ । अन्यबाट ६ अर्ब ७९ करोड उठाउने लक्ष्य लिएको छ ।
बजेट प्रस्तुत गर्दै मन्त्री काफ्लेले पर्यटकीय क्षेत्रको रुपमा चितवनलाई पर्यटकीय हवको रुपमा विकास गर्ने जानकारी गराउनुभयो । दोलखाको डाङडुगे डाँडामा फिल्म सिटी स्थापना गरिने व्यवस्था छ ।
उहाँले कृषि क्षेत्रको उत्पादनलाई प्राथमिकता दिएको बताउनुभयो । बजेटमा एक वडा एक कृषि कार्यक्रम ल्याइएको छ । कृषिउपजको बजार व्यवस्थापन, कृषि एम्वुलेन्सको व्यवस्था गरिने उल्लेख छ । दुग्धजन्य उत्पादनलाई वृद्धि गरेर बजार व्यवस्थित पार्ने, धुलो दुध कारखानालाई व्यवस्थित पार्ने व्यवस्था गरिएको छ ।
आधारभूत अस्पातालमा आकस्मिक सेवाको रुपमा विकास गर्न बजेट व्यवस्थापन गरिने बताइएको छ । महिलामा हुने पाठेघर मुखको क्यान्सर तथा पुरुषमा प्रोष्टेट क्यान्सरको परीक्षणलाई निःशुल्क गरिने बजेटमा व्यवस्था छ ।
दुर्गम स्थानबाट हवाइ सेवामार्फत उपचार सेवा गर्न १० करोड बजेट विनियोजन गरिएको छ । प्रादेशिक अस्पतालमा ट्रमा सेन्टरको रुपमा विकास गरिने उल्लेख छ । विपन्न नागरिकलाई निःशुल्क बिमाको व्यवस्था गर्ने बजेटमा व्यवस्था छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ३५ करोड विनियोजन गरिएको छ ।
नर्सिङ अध्यापनको व्यवस्था गरिने उल्लेख छ । हेमोपिलिया विरामीलाई प्रादेशिक अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिने छ । प्रादेशिक अस्पतालमा आमावुवा विहीन बालबालिकालाई अभिभावको भूमिका निर्वाह गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
खेलकुदलाई ललितपुरको गोदावरीमा रंगशाला निर्माणमा ९ करोड रुपियाँ, मकवानपुर, दोलखामा रंगशाला, भरतपुरको गौतम वुद्ध क्रिकेट रंगशाला निर्माणमा ९ करोड रुपियाँ विनियोजन गरिएको छ । एक निर्वाचन क्षेत्र एक वहुउद्देशीय खेल मैदान निर्माण गरिने बताइएको छ । खेलकुद मन्त्रालयको लागि एक अर्व १६ करोड विनियोजन गरिएको छ ।
जनता आवास कार्यक्रम, खरको छाना विस्थापित कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयको लागि २४ अर्व ८० करोड १९ लाख बजेट विनियोजन गरिएको छ ।
लिफ्ट सिँचाइ आयोजनालाई प्राथमिकता दिनेछ । पहाडका गरा सधै हराभरा कार्यक्रम ल्याइने उल्लेख छ । जलस्रोत तथा सिँचाइ व्यवस्थापनका लागि स्यालो ट्युवेलको व्यवस्थापन गरिनेछ । नारायणी खगेरी सिँचाइलाई थप व्यवस्थित गरिने उल्लेख छ । खानेपानी तथा सिचाइ मन्त्रालयको लागि सात अर्व २८ करोड ७१ लाख रकम विनियोजन गरिएको छ ।
विपत व्यवस्थापनलाई प्राथमिकता दिइने छ । मुख्यन्ययधिवक्तालाई व्यवस्थित पारिनेछ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको लागि ६२ करोड ११ लाख बजेट विनियोजन गरिएको छ ।
जिल्ला समन्वय समितिको जिम्मेवारीलाई व्यवस्थित पारी कार्यालयको लागि बजेट विनियोजन गरिएको छ । प्रदेश अन्तर्गतका अनावश्यक संरचना खारेज गरिने उल्लेख छ । लगानी सम्मेलन गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आकर्षित पारिने व्यवस्था गरिएको छ । महङ्गी भत्ता पाँच हजार बागमती प्रदेशका कर्मचारीलाई प्रदान गरिने उल्लेख छ ।