• ३ असार २०८१, सोमबार

स्कुल बस जलाएको आरोपमा अध्यक्ष पक्राउ

blog

चितवन, जेठ १४ गते । निजी विद्यालय स्मल हेभन स्कुलको बस आगजनी गरेर जलाएको आरोपमा सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ परेका छन । 

भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बसमा आगजनी गरेको आरोपमा प्रहरीले विश्वनाथ चौधरीलाई पक्राउ गरेको हो ।  वैशाख ३० गते बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने स्कुल बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी चौधरीले पेट्रोल बम प्रहार गरेको प्रहरीले आरोप लगाएको छ । 

भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका चौधरीलाई जेठ ११ गते शोसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ । 

कमरेड महेश र कमरेड महावीर उपनाम भएका विश्वनाथको समूहले २०८० माघ २८ गते भरतपुर–२६ ज्योतिनगरस्थित सूर्योदय वोमी लघुवित्त संस्थाका कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरी प्रवक्ता भेषराज रिजालले बताउनुभयो  । विश्वनाथ चौधरी राष्ट्रिय मावि शोसीको अध्यक्ष हुनुहुन्छ । 

चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर घटनाको थप अनुसन्धान गर्ने काम भइरहेको उहाले बताउनुभयो । अपराधिक क्रियाकलापमा विश्वनाथसँगै अन्य पाँच देखि छ जना व्यक्ति संलग्न रहेको प्रहरीको अनुमान छ ।

राष्ट्रिय मावि शोसीले विश्वनाथ चौधरी पक्राउ परेको दिन विज्ञप्ति निकालेर विद्यालय हाताभित्र प्रवेश गरी हतियारधारी प्रहरीले चौधरीलाई पक्राउ गर्दा विद्यार्थीमा त्रास सिर्जना भएको बताएको थियो ।

आगजनीमा संलग्न अन्यको खोजी कार्य भइराखेको प्रहरीले जनाएको छ ।

Author
शालिग्राम नेपाल

उहाँ गोरखापत्रका लागि चितवनबाट रिपोर्टिङ गर्नुहुन्छ ।