चितवन, चैत ८ गते । समकालीन राजनीतिमा उच्च शैक्षिक योग्यता भएका बिरलै व्यक्तिमध्येका एक हुनुहुन्छ डा. कृष्णहरि बुढाथोकी । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापबाट बुढाथोकीले संसदीय यात्रा तय गर्नुभएको हो ।
रामेछापको मन्थली नगरपालिका–१२, गेलुमा २०३८ भदौ १० जन्मिनुभएका उहाँले अर्थशास्त्रमा विद्यावारिधि र अङ्ग्रेजी विषयमा एमफिल गर्नुभएको छ भने अर्थशास्त्र, अङ्ग्रेजी, व्यवस्थापन, समाजशास्त्र, राजनीतिशास्त्र र जनप्रशासन गरी छ वटा विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ ।
डा. बुढाथोकीले भन्नुभयो, “गत भदौमा भएको नवपुस्ताको आन्दोलनपछि सामाजिकक्षेत्रमा आफैँ नेतृत्वमा आएर केही गरौँ भन्ने लागेर बैङ्कको जागिर छाडेर सामाजिक कार्यमा लागेँ ।” बैङ्क तथा वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढीको कार्य अनुभव छ । नेपाल बैङ्क लिमिटेडमा मात्रै लगातार १० वर्षसम्म काम गरेको छु”, उहाँले भन्नुभयो, “म्यानेजर तहमा पुगेको थिएँ । नेपाल बैङ्कमा रोजगार सुरक्षित भए पनि मनमा भने सामाजिक कामको हुटहुटीले गर्दा सरकारी जागिर छाडेर राजनीतिमा आए हुँ ।”
उहाँ भन्नुहुन्छ, “मेरो अध्ययन, त्यसबाट प्राप्त भएको ज्ञान सीमित घेरामा मात्र राख्न सकिनँ । बाँधिएको जागिर छाडेर फराकिलो क्षेत्र भएको राजनीति र सामाजिक कार्य गरौँ भनेर आए ।” वित्तीय प्रणालीका समस्या र समाधानका विषयमा अनुसन्धानमूलक गरेको बताउँदै उहाँले आर्थिक नीतिका विषयमा गरेको अध्ययनलाई देश निर्माणमा लगाउने उहाँ बताउनुभयो । नेपालमा केही हुँदैन, काम गर्न सक्ने मानिस छैन भन्ने सोचलाई चिरेर यहाँ क्षमतावान व्यक्ति पनि रहेको सन्देश दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
पछिल्लो एक दशकदेखि ‘रामेछाप विकास बहस’ कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । समृद्ध रामेछाप निर्माणका लागि उद्यमशीलता विकास, उत्पादन तथा उत्पादकत्व वृद्धि, बजारीकरण तथा शिक्षालाई सिपसँग जोड्ने विषयमा जागरण र प्रशिक्षण कार्यक्रम सञ्चालन पनि उहाँले गर्नुभएको छ ।
सद्भाव फाउन्डेसन नेपालमार्फत सद्भाव, सहकार्य र मानवताको सन्देश फैलाउने अभियानमा पनि उहाँ लाग्नुभएको छ । उहाँले नेपालको विकास, रामेछापको विकासको मोडल र अन्य आर्थिक समृद्धिका विषयमा आधा दर्जन पुस्तक प्रकाशित गरिसक्नुभएको छ । उहाँका प्रकाशित कृतिमध्ये ‘समृद्ध नेपालको घोषणापत्र’ र ‘समृद्ध रामेछापको मार्गचित्र’ उल्लेखनीय मानिन्छन् । जसमा दिगो विकास, स्थानीय स्रोतको उपयोग र समृद्ध समाज निर्माणका अवधारणा प्रस्तुत गरिएको छ ।
डा. बुढाथोकीले रामेछापको समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समृद्ध नेपाल, उद्यमशीलता प्रवर्धन, उत्पादनमुखी अर्थतन्त्र निर्माण तथा युवामुखी अवसर सिर्जनालाई आफ्नो प्राथमिकता रहेको बताउनुहुन्छ । अपार सम्भावनाले भरिएको जिल्ला भएर पनि पछाडि परेको रामेछापलाई कृषि, पर्यटन, जलस्रोतले समृद्ध बनाउन सक्ने आधार तय गरेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वाधार र पहुँच अभिवृद्धि गर्न विशेष भूमिका हुने छ । सडक, विद्युत्, सिँचाइ, डिजिटल सेवा, स्वास्थ्य र शिक्षामा गुणस्तरीय पहुँच विस्तारमा मेरो पहल हुने छ ।” वैदेशिक रोजगारीमा युवा शक्ति पलायन हुने अवस्था रोक्न ‘विदेश जान बाध्य होइन, गाउँमै अवसर’ सिर्जना गर्ने नीति निर्माण गरेर लागु गर्ने उहाँले बताउनुभयो ।
अर्को महत्वपूर्ण विषय सुशासन र जनसेवा हो । यसमा सुधार गरेर ढिलासुस्ती, भ्रष्टाचार र पहुँचको राजनीतिविरुद्ध स्पष्ट नीति, पारदर्शी र उत्तरदायी सेवा प्रवाहमा हुनेछ । जनताको प्रतिनिधिको अनुभूति दिलाउने उहाँको भनाइ छ । ‘समृद्ध रामेछापको मार्गचित्र’ पुस्तकमा उल्लेख गरिएका रूपान्तरणकारी काम व्यवहारमा लागु गरेर दिगो विकासका कार्यक्रम ल्याउनेमा आफ्नो भूमिका हुने उहाँले बताउनुभयो । बुढाथोकी २४ हजार ८०८ मतसहित निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का माधवप्रसाद ढुङ्गेलले १७ हजार ६०९ मतमा चित्त बुझाउनु परेको थियो । डा. बुढाथोकीले ढुङ्गेललाई सात हजार १९९ मत अन्तरले पराजित गर्नुभएको थियो ।