• २६ वैशाख २०८२, शुक्रबार

जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

blog

जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रम । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्यूठान, वैशाख २६ गते । सदरमुकाम खलङ्गामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मल्लरानी ब्याडमिन्टन क्लब खलङ्गाको आयोजना तथा मल्लरानी गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

मल्लरानी गाउँपालिका–४ खलङ्गास्थित कवर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा विभिन्न ठाउँबाट ३२ टिम सहभागी भएको क्लबका कोषाध्यक्ष निरन्जन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार दस हजार रुपियाँ राखिएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म प्रतियोगिता सञ्चालन हुने कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्लाका पुराना ब्याडमिन्टन खेलाडी नारायण नकर्मीलाई क्लबले सम्मान समेत गरेको थियो ।

जिल्लामा पछिल्लो समय ब्याडमिन्टन खेल्ने खेलाडी बढ्दै गएका छन् । विशेषगरी युवा पुस्ता यस खेलप्रति आर्कषित हुँदै गएका हुन् । जिल्लाको स्वर्गद्वारी नगरपालिका, प्युठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका र मल्लरानी गाउँपालिकामा कवर्ड हल समेत छन् । जसले ब्याडमिन्टन खेललाई अघि बढाउन सहयोग गरेको खेलाडीहरूको भनाइ छ ।